लक्ष्मीप्रसाद पाैडेलस्व-नियन्त्रित
उसले ट्याबलेट खोल्यो । लेख्न शुरू गर्यो । तर सामाजिक पानामा पोस्ट गरेन । कागजमा छाप्यो । उसलाई थाह छ, 'कागज पढिन्छ । र पढ्ने व्यक्ति असामाजिक हुँदैन ।'

लक्ष्मीप्रसाद पौडेल :
आज उसले आफ्नो मोबाइल, ट्याबलेट केही खोलेन । केही लेखेन । सधैंजसो बिहान चिया चिसिँदासम्म स्क्रोल गर्ने बानी थियो । आज चिया चिसिन त दियो तर आँखा कतै दौडाएन । हिजो राति उसको यथार्थ प्रस्तुतिमाथि कसैले लेखेको थियो । “तँलाई पनि बौद्धिकता देखाउने रोग लागेको छ । कुन दिन फेला पर्छस् ।” त्यसको तल हाँसो र क्रोधका इमोजीहरू थिए । धेरै, तुरुन्तै, एकसाथ, मानौँ एक हुल सत्यको अन्त्येष्टि गर्न तयार छन् ।
उसले केही लेख्न खोजेको थियो । समाजबारे, जिम्मेवारीबारे, शब्दको मर्यादाबारे। तर प्रतिक्रियाहरू शब्दभन्दा छिटो आए । र अर्थभन्दा गहिरो चोट दिए ।
उसले पहिलोपटक महसुस गर्यो । यो समयमा तर्कले जितिँदैन । यहाँ आवाजले जितिरहेछ । र आवाज पनि त्यो, जसले पढ्दैन । सोच्दैन । केवल चिच्याउँछ ।
उसले चिसिन लागेको चिया तनक्क पियो । र सोच्यो, ‘म किन चुप लागिरहेछु । के यो चुप्पी अदृश्य डरको हो ? या लेखकीय पराजयको ?’
उसले आफैंलाई प्रश्न सोध्यो, “म के बचाइरहेछु ?”
उसको भित्रको सानो आवाजले भन्यो, “आफ्नो संवेदना जोगाऊ, यो नै अन्तिम किल्ला होइन ।”
उसले ट्याबलेट खोल्यो । लेख्न शुरू गर्यो । तर सामाजिक पानामा पोस्ट गरेन । कागजमा छाप्यो । उसलाई थाह छ, ‘कागज पढिन्छ । र पढ्ने व्यक्ति असामाजिक हुँदैन ।’
०००
Subscribe
Login
0 Comments
Oldest







































