साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जीवन दाहालको लघुकथा ‘धन्दा’मा व्यङ्ग्य चेत

परोक्ष रुपमा एउटी बालिका सानी छोरी पात्रलाई माध्यम बनाएर कथाकारले पाठकलाई सार्वजनिक रूपमा सचेत गराएका छन् । सम्बद्ध व्यक्तिहरूलाई व्यङ्ग्य कसेका छन् ।

Nepal Telecom ad

प्रारम्भ :
माता दयावती र पिता टीकाप्रसाद दहालबाट वि.सं २०२२ साल भोजपुर जिल्लामा जन्म भै गौरादह झापाबाट देशका विभिन्न स्थान हुँदै अहिलेको काठमाडौ कर्मथलो बनाएका लघुकथाकार जीवन दाहाललाई आजको बसाईमा लिएको छु ।

दाहाल लघुकथामा निरन्तर साधनारत व्यक्तित्व हुन् । लघुकथामा आफ्नो सशक्त स्थान बनाइसकेका जीवन दहालको लघुकथामाथि विचार राख्न, टिप्पणी लेख्न तम्सिनु मेरो बौद्धिक, साहित्यिक हैसियतले नआँट्नु पर्ने धृष्टता हो । फेरि पनि जीवन दहाललाई पढ्न शुरूदेखि नै केही न केही लेख्ने हुटहुटी चलेकै थियो । यो समीक्षा होइन । झन् समालोचना त हुँदै होइन । मेरो पाठकीय हैसियत प्रदर्शनको दुस्साहस मात्र हो ।

लघुकथामा जीवन दहाललाई लिइरहँदा उनले लघुकथाका विभिन्न पेजमा प्रविष्ट गरेका ‘धन्दा’ शीर्षकको लघुकथालाई लिएको छु । यो कथाको माध्यमबाट उनको लघुकथा लेखनको उद्देश्य, ‘तीक्ष्ण व्यङ्ग्य प्रहारबाट यथार्थको रहस्यो्घाटन गर्नु’ माथि थोरै चियोचर्चा गर्नेछु ।

कथाको पाठ्य रुपमाथिको विवेचना :
लघुकथा ‘धन्दा’ एउटा पारिवारिक पृष्ठभूमिमा शुरू हुन्छ । कथाको उठानमा कुनै तामझाम छैन । अक्सर लघुकथाकारले उभ्याउने गरेका पात्र परिचय, लामो भूमिका केही छैन । कार्यालयबाट आएको लोग्ने घरमा पुग्नासाथ थोरै औपचारिक भएर स्वास्नीले बिना प्रसंग अमेरिकी सहायता कोष, बहुचर्चित प्रसंग, अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को बाउन्न-पचपन्न अरब रुपियाँ नेपालले पाउने भन्ने बारे कोट्याउँछे । लोग्ने अचानक स्वास्नीको यो सोधाइले “किन र ?” भन्ने जिज्ञासा राख्छ । स्वास्नीले दिनभरी के के सोचेकी थिइ कुन्नि ।

साहु, बैंक वित्तीय संस्थाहरूले कर्जा दिन छोडेका छन् । बजारमा वस्तुको भाउ चर्किएर छोई नसक्नु भएको छ । जताततै आर्थिक मन्दी छायो, देश टाट पल्टिने अवस्थामा पुगेको छ, छिमेकी मुलुक एमसीसी पास नगरेकै कारण सिद्धियो रे भन्ने हल्ला छ । कमसेकम हाम्राले पास त गरेका छन् । त्यसो नहोला । तर त्यो पैसा चाहिँ आउने कहिले रहेछ ? यस्तै यस्तै सोधाइ र बुझाई थियो होला स्वास्नीको । तर जीवन दहालका कथा यसरी सरल, सोझो रेखामा हिँड्दैनन्, उनी कथ्यलाई वक्ररेखामा लैजान पोख्त छन् भन्ने प्रमाणित गरेका छन् यहाँ पनि । यो उनको लेखनको विशेषता हो भन्दा हुन्छ ।

नेपाललाई दिने भनेपछि हामी पनि नेपाली हौँ, हामी पनि यही बस्छौं, हाम्रो पनि पक्कै भाग लाग्ला, हाम्रो भागमा कति पर्छ भन्ने अवोध प्रश्नोत्तर आउँछ आमा बोल्नु अगावै छेउमै बसेकी सानी छोरीको । यो मोडमा कथाकारले पात्रको संगति/संवाद परिवर्तन गरेका छन् । बाबु र सानी छोरीको कथ्य परिवेश निर्माण गर्दै पाठकलाई वालमनोविज्ञानको प्रयोगमा अल्झायाउन पुगेका छन् । यहाँ अल्झाउन यस मानेमा भनियो कि, कथ्यको उद्देश्यले बाल मनोविज्ञानसँग कुनै सरोकार राख्दैन । बालमनोविज्ञानलाई त माध्यम मात्र बनाएका छन् लेखकले ।

यसको शीर्षक ‘धन्दा’ राखिनुले पनि यो कुराको पुष्टि हुन्छ । शुरूको लोग्ने पात्र यहाँ आइपुग्दा बा भएको छ, ऊ सोध्छ, “पैसा किन चाहियो छोरी तिमीलाई ?” “हाम्रो पनि घर बनाउन नि”- छोरीले तुरुन्तै जवाफ फर्काउँछे । आफ्नो घर हुँदा के हुन्छ र नहुँदा चैं के हुन्छ भन्ने कथामा बालिकाको बुझाईले हाम्रो सामाजिक प्रवृतिलाई, यो समाजबाट आगामी पुस्ताले सिकिरहेको, अंगालिरहेको मानसिक चेतनालाई प्रस्फुटन गरेको छ ।

माथि नै भनिसकें, कथ्यको बहावमा बक्ररेखीयता छ । जब समापनको विद्युतीय झट्काले पर उछिट्याउँछ, पाठक तिलमिलाउँछ । यहाँ पनि यस्तै हुन्छ । कथामा वालसुलभ छोरी पात्रको माध्यमबाट हिजोदेखि आजको समयमा भाडामा बस्ने भाडावाल र घरबेटीको सम्बन्ध कुन रूपमा विकसित भएको छ भन्ने कटु सत्य उजागर गरेको छ । र यो कटुताले बालचेतनामा नराम्ररी डेरा जमाएको छ भन्ने देखाएको छ । घर बनेपछि घरबेटी भएपछि आफूले बेहोरेको तिरस्कारबाट मुक्त हुने होइन, आफू जस्तै पीडितलाई मुक्ति दिलाउने पनि होइन, हिजोको भुक्तान गर्ने हो, भन्ने तिब्र प्रतिशोधको भावना विजारोपण गरेको छ । र, यत्तिकैमा कथा सकिन्छ ।

यसरी कथाकारले चातुर्यता देखाउँदै लघुकथाको बन्द समापन गरेर पनि खुल्ला समापनको झल्को दिएका छन् । पाठकको दिमागमा अनेक विकृति विसङ्गतिहरूको स्मरण/अवलोकन गराएर माथापच्चि खेलाएका छन् । सामयिक विषयवस्तु छनौट, प्रतिकात्मक पात्र चयन र प्रस्तुतिमा उच्च शिल्प, शब्दमा लघुत्व, कथ्य परिवेशको सूक्ष्मता, सरल भाषा शैली र समापनमा चातुर्यले पारिवारिक परिवेश भित्रको संवाद शैली प्रयोग भए पनि ‘धन्दा’ लघुकथालाई समयसापेक्ष र कालजयी, आम चासोको विषय उठान गरेको अब्बल दर्जाको लघुकथा भन्न हिचकिचाउनु पर्ने म देख्दिन ।

‘धन्दा’ लघुकथामा व्यक्त व्यङ्ग्यभाव चेतना :
अहिले आएर लघुकथामा व्यङ्ग्य विधानले बढी प्रश्रय पाएको र अधिक लघुकथाकारले कुनै न कुनै रूपमा कथ्यमा व्यङ्ग्यको सहारा लिएको पाइन्छ । साठीको दशक पूर्वका अग्रज लघुकथाकार, लघुकथामा विशिष्टता हासिल गरेका व्यक्तित्वहरू बाहेक लघुकथा लेख्नु भनेको थोरै या धेरै मात्रामा घटेका वैयक्तिक, पारिवारिक, सामाजिक, आर्थिक, राजनीतिक घटनाक्रम, चरित्रलाई लिएर ती व्यक्ति विसंगतिमाथि शब्द बाण प्रहार गर्नु नै लघुकथाको व्यङ्ग्य हो भन्ने बुझिन बुझाउन थालिएको छ । तर धन्दा लघुकथा वा उनले लेखेका अन्य लघुकथाको स्वरूप हेर्दा जीवन दाहाल यस अर्थमा पृथक छन् भन्न सकिन्छ ।

यस लघुकथाको समापनमा व्यक्त व्यङ्ग्यभावलाई दुई थरी दृष्टिकोणबाट हेरौं । एउटा बन्द समापनको पक्ष र अर्को खुल्ला समापन पक्ष । कथालाई पाठकले ‘घरबेटीको छोराले हेप्यो, आफ्नो घर भएपछि आफू पनि घरबेटी भइन्छ र भाडावाललाई हेप्न पाइन्छ भन्ने बालचेतना र सामाजिक परिवेशले बालबालिकामा पारेको नकारात्मक मनोवैज्ञानिक असरमा टुंग्याउनु बन्द समापन हो । यसपछि धेरै सोचिरहनु पर्दैन ।

उता सामाजिक, आर्थिक, प्रशासनिक, राजनीतिक विविध क्षेत्रमा तमाम विसङ्गतिहरूले जरा गाडेको छ । पुरानो भनिएको पुस्ता भष्ट्राचार र अनियमितताको दलदलमा फसेको छ । समाज र मुलुकले नयाँ युवापुस्ताबाट केही परिवर्तन र सुधारको, सुद्धीको अपेक्षा गरेको छ । तर हिजो आफू सेवाग्राही हुँदा यस्ता विसंगतिहरूको खरो विरोध गर्ने युवापंक्ति जब कार्यान्वयनको स्थानमा पुग्दा, सकारात्मक पहलको हिस्सा बन्नुको सट्टा कथाले लक्षित गरे झैं तिनै विकृति विसङ्गति, भ्रष्टाचार अनियमितालाई टेको लगाइरहेको छ । स्वयं त्यसैमा लिप्त छ । हिजो उसले कमायो, आज मैले किन नकमाउने भन्ने प्रतिष्पर्धी बनेको छ । चाहे युवा राजनीतिकर्मी होस् या नवप्रवेशी प्रशासनिक कर्मचारी वा सामाजिक क्षेत्रमा कार्य गर्न कस्सिएको व्यक्ति । यो त एउटा पेशा/धन्दा भएको छ ।

यसरी लघुकथालाई धन्दा शीर्षक दिएर परोक्ष रुपमा एउटी बालिका सानी छोरी पात्रलाई माध्यम बनाएर कथाकारले पाठकलाई सार्वजनिक रूपमा सचेत गराएका छन् । सम्बद्ध व्यक्तिहरूलाई व्यङ्ग्य कसेका छन् । यी विविध विषयमा विवेचना गर्न पाठक स्वतन्त्र छ, यसरी यसलाई खुल्ला समापनको रुपमा लिन सकिन्छ ।

र अन्त्यमा लघुकथामा व्यङ्ग्य पस्किदा कुनै व्यक्ति, जाती, धर्म राजनीतिक दल विशेषलाई लक्षित नगरी समग्र समूहलाई र तिनबाट उत्पन्न प्रवृतिलाई प्रहार गर्नुपर्दछ जसबाट सबैले सकारात्मक सन्देश ग्रहण गर्न सकुन् । ‘धन्दा’ लघुकथाले पनि यही उद्देश्य लिएको छ भन्दा अत्युक्ति नहोला ।

जीवनका पानाहरू, लघुकथा डबली, आधुनिक नेपाली लघुकथा लगायत धेरै समुह पेज, पत्रपत्रिकामा जीवन दाहालका कथाहरू पढ्न पाइन्छ । म आत्मीय दाजु जीवन दाहाललाई आगामी दिनमा लघुकथा क्षेत्रले अझ सशक्त लघुकथाकारको रुपमा पाउनेछ भन्दै उहाँको उच्च साहित्यिक यात्राको मंगल कामना गर्दछु । इति ।

धनगढी, कैलाली
२०७९/०४/०७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
स्व-नियन्त्रित

स्व-नियन्त्रित

लक्ष्मीप्रसाद पाैडेल
0
Would love your thoughts, please comment.x
()
x