प्रेम ओली ढकलपुरेभन्नुस् कति बोरा नागरिकता चाहिन्छ ?
यस्तो मौको तिम्रो देशमा कहाँ पाइन्छ ? बरु भन्नुस् है कति किलो नागरिकता चाहिन्छ ? कि एक बोरै चाहिन्छ ? लाने भए त्यो पनि पाइन्छ ।

ल आउनुहोस् है नागरिकता किन्न
अस्ती भन्दा हिजो
हिजोभन्दा आज यसको भाउ खस्दो छ
धार्नीमा लिने कि बिशौलीमा ?
आउनुस् आलु र मुला भन्दा सस्तो छ ।
तपाईं जहाँबाट आको भए पनि
ल आउनुस् यहाँ नागरिकता पाइन्छ
बरु भन्नुस् एउटा चाहिन्छ कि दुईवटा चाहिन्छ ?
तपाईं चाइनिज जस्तो सेतो भए पनि ठीक छ
हब्सी जस्तो कालो भए ठीक छ
हामी रङ्गिन नागरिकता दिलाई दिन्छौं
बाबु आमाले लिएपछि
बच्चालाई त सित्तैमा मिलाई दिन्छौं ।
नक्कली हैन सक्कली नै दिलाई दिन्छु
हाम्रो पार्टीलाई भोट दिनुहोला
तपाईंलाई सांसद पदै मिलाई दिन्छौं
राष्ट्रपति बन्ने कि प्रधान मन्त्री बन्ने
भबिष्यमा त्यो पनि बनाइ दिन्छौं ।
ल लेइ हाल्नुस् है
फेरि भन्ने बित्तिकी पाउँदैन
यस्तो मौका पछि पछि आउँदैन
ठुलै फोर्स आयो र मात्र यो खोल्या हो
धार्नीमा लाने कि किलोमा
हाम्रो पार्टीकै अध्यक्ष बोल्या हो ।
तपाईंलाई नागरिकता चाहिन्छ
हामीलाई भोट चाहिन्छ
ल भन्नुस् बुहारीलाई चाहियो कि ज्वाँईलाई
फुफालाई चाहियो कि तपाईंलाई ?
हेर्नुस् नागरिकता बनेपछि
पासपोर्ट बनाउन पाइन्छ
पासपोर्ट बने डिभी भर्न पाइन्छ
डिबी परे सिधै अम्रिका जाइन्छ
यस्तो मौको तिम्रो देशमा कहाँ पाइन्छ ?
बरु भन्नुस् है
कति किलो नागरिकता चाहिन्छ ?
कि एक बोरै चाहिन्छ ?
लाने भए त्यो पनि पाइन्छ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest


































