जयराम शर्मासल्लाहकार !!
उरन्ठेउला, कटमिरा, ठेट्ना फसल बिनाका रिता भेट्ना देशी विदेशी बहुरूपी सल्लाहकार बिनालगानीको सस्तो व्यापार !

अनुसन्धानका लागि केरकार
सिर्जनाका लागि केरकार
सुरक्षाका लागि बेरबार
पाहुनाका लागि शिष्टाचार
देशका विकासका लागि सल्लाहकार
यी सूत्र नजान्नेलाई धिक्कार !
पहिले,
कानफुकुवाहरू ठानिन्थे बेकार
अहिले,
यी नै हुन पुगे सल्लाहकार !
सुवेदार हवल्दार जमिन्दार कथाकार
ठेकेदार कुचीकार चित्रकार सूचीकार
सबैका छन् आ-आफ्नै सल्लाहकार
साउने पेशा यो कस्तो
सधैं हुन्छ तँछाडमछाड
सल्लाहकारले थेग्दा थेग्दै
देश भयो लछार-पछार !
सत्तामा पुग्न चाहिन्छ सल्लाहकार
सत्ता टिकाउनै पनि चाहिए सल्लाहकार
ऋण काट्न नभई हुँदैन सल्लाहकार
ऋण पचाउन अनिवार्य छ सल्लाहकार
राजस्व छल्न खोजिन्छ सल्लाहकार
सुन्न-भन्न चाहिन्छ नै सल्लाहकार
सल्लाह लिन-दिन चाहिन्छ सल्लाहकार !
आमाको गर्भमा बन्दै छ आकार-प्रकार
स्वास्थ्यकर्मीका सल्लाहमा हुर्कने संस्कार
बरा ! वीर नेपालीले अँगालेको व्यवहार
सल्लाहकारको कसले गर्छ प्रतिकार ?
न केही जवाफदेही छ, न गल्तीमा लाचार
वाह ! सल्लाहकारी काम क्या मजेदार !
उरन्ठेउला, कटमिरा, ठेट्ना
फसल बिनाका रिता भेट्ना
देशी विदेशी बहुरूपी सल्लाहकार
बिनालगानीको सस्तो व्यापार !
आयोग (गयो आ…) नाम त जे राखे नि भयो
गाँठी कुरो सल्लाह र सल्लाहकारमै रह्यो
(?) कारबिनाको नेपालमा के थिएन र अब के भयो ?
यी नभए वीर नेपालीले
सास फेर्नै समेत नसक्ने भए
घुसले मनग्य बजार पाएको बेलामा
यो खुवाउन र खान पनि त
सल्लाहकार आवश्यकै भए ।
२०५६/९/२६
ढुङ्गाअड्डा, काठमाडौ
‘रचना’ वर्ष ३९ पूर्णाङ्क ६८, पुस-माघ २०५६
Subscribe
Login
0 Comments
Oldest







































