कृष्ण प्रधानसल्लाहकार
सबैलाई सदस्यता दिनैपर्छ तर हाम्रो मूल कमिटीमा चाहिँ कतिजनालाई ठ्याम्मै ढिम्किनु दिनु हुँदैन है साथी हो...दिनु हँदैन ।

हिजोआज सङ्घ-संस्था, समारोह समारोह समिति, जन्मशतवार्षिकी आयोजन समिति मात्र होइन साहित्यिक पत्र-पत्रिका वा कुनै संस्थाका मुखपत्रतिर ‘सल्लाहकार’ राख्ने प्रचलन देखिन थालेका देखिन्छ । कति कतिले ता ‘सल्लाहकार समिति’ नै राखेर साहित्य तथा समाजमा प्रतिष्ठित, ठूला-बड़ा व्यक्तिहरूका लम्बेतान नाम प्रकाशित गरेको पनि देखिँदोछ । हुनु पनि कुनै संस्थाका सल्लाहकार हुनु भनेको र आफ्नू नाम सल्लाहकार सूचीमा पर्नु भनेको मामुली, खेलाँची र लरतरो कुरो होइन । ऐरे-गैरे-नत्थुखेरै व्यक्तिहरूका नाम सल्लाहकार सूचीमा पर्दैन । समाजका इज्जतदार व्यक्ति, गणमान्य व्यक्ति, विषय विशेषज्ञ महानुभावहरूलाई सम्मान जनाउनुका साथै उनीहरूबाट बहुमूल्य सुझाव र सल्लाह ग्रहण गर्न हेतुले कुनै पनि सङ्घ-संस्था वा पत्र-पत्रिकामा सल्लाहकार राखिन्छ । कुनै पनि संस्थामा एकजना अध्यक्ष (हिजोआज कार्यकारी अध्यक्षको पद पनि सृष्टि गरेको देखिन्छ कहीँ-कहीँ), दुइजनासम्म उपाध्यक्ष, एकजना सचिव, एकजना सह-सचिव, एकजना कोषाध्यक्ष गरी बाह्र-तेह्रजनासम्मको कार्यकारिणी सदस्य बनाइन्छ ।
मलाई ता कस्तो लाग्छ भने, यसरी कुनै पनि सङ्घ-संस्थामा सल्लाहकार पद नराखेर प्रतिष्ठित व्यक्तिहरूलाई सल्लाहकारको सट्टा कार्यकारिणी सदस्यकै निम्ति प्रस्ताव गरिएको हुँदो हो ता कुनै टुटा पर्ने थिएन कि ! तर त्यसो हुँदैन ठ्याम्मै । बाह्र-तेह्रजना कार्यकारिणी सदस्यहरू सबै बुद्धिजीवी, मेधावी, पद मर्यादित, विषय विशेषज्ञकै श्रेणीभित्र पर्दछन् । प्रत्येक कार्यकारिणी सदस्यहरूबाट बेला-बखत सम्बन्धित विषयमा सल्लाह वा सुझाव माग्न सकिन्छ । सल्लाहकारले मात्र राम्रो सल्लाह दिन सक्छन् अनि कार्यकारिणी सदस्यहरूले कुनै पनि सल्लाह दिन सक्दैनन् भन्न् मिल्दैन ।
म आफू ठहरेँ स्पष्टवक्ता । कालोलाई कालो अनि सेतोलाई सेतै भन्ने मान्छे । चित्त नपरेका कुरा प्याच्प्याच्ती भन्न पटक्कै नडराउने मान्छे । यसैले होला हिजोआज मलाई कुनै पनि सङ्घ-संस्थाको सभामा निम्त्याइन्छ । पत्र-पत्रिका वा स्मारिका प्रकाशित गर्ने युवा भाइ-बहिनीहरूले आयोजन गरेका सभामा आदरपूर्वक निम्त्याउँने गर्दछन् । तर सङ्घ-संस्थाका कार्यकारिणी सदस्यको सूचीमा मेरो नाम कहिल्यै परेन न कि पत्र-पत्रिकाका सम्पादकमण्डलीमै मेरो नाउँले ठाउँ पाएको छ । सभा ता गरिटोपल्छन् नि मोराहरू । तर सभापति, सह-सभापति, कार्यकारिणी सभापति, महासचिव, सह वा संयुक्त सचिव, कोषाध्यक्ष लगायत अन्य कार्यकारिणी सदस्यहरूका नामको प्यानेल पहिल्यैबाट तयार पारी ल्याई सभामा सुनाएपछि सभामा उपस्थित भएका सोझा-सिधा सदस्यहरू हिस्रिक्कै पर्नु बाहेक अरु उपाय केही देखिँदैन । घरैबाट वा पहिल्यै लबी गरी तयार पारेर चिरिच्याँट्टै बनाएर ल्याएको प्यानल सभामा पढ़ेर सुनाएपछि सभामा उपस्थित सदस्यहरूमध्ये उनीहरूकै खेमामा पर्नेहरूले थपड़ी मारेर सभाकक्ष नै थर्काए पछि सभाका सभाध्यक्ष महोदयले टोपल्नलाई मात्र ‘यो प्यानेलबारे कसैको आपत्ति छ ?’ भनेर सोधि ता टोपल्छन् नि ! कसैले विरोध गर्नुभन्दा पहिल्यै एकजना लबीले हिजै साँझ लट्टिएका सदस्य जुरुक्कै उठी ’आपत्ति छैन..पास’ !? भनेपछि उपस्थित अन्य लवीवादी सदस्यहरूले समवेत स्वरमा ‘पास…पास..’ भनेपछि प्यानेलमा पढ़िएका नामहरू अनुमोदन नहुने प्रश्नै आएन…आउँदैन ।
वार्षिक सभा आयोजन हुनु केही दिन अगावै सबै ठामठिम पारी आएका सभाका सभाध्यक्ष महोदयले प्यानल सर्वसम्मतिद्वारा अनुमोदन भएको घोषणा गरि पनि हाल्छन् हत्त न पत्त । सभामा उपस्थित हुनेहरूमध्ये उब्रेका-पाफ्रेकाहरूलाई सल्लाहकार सदस्यरुपमा छनौट गरिएको घोषणा गरी कछुवा चालमा आफ्नो रणनीति सफल पार्छन् । बस, साँप पनि ठहरै, लट्ठी पनि दुरुस्तै । ’फलानु ता कार्यकारी सदस्यका निमित्त योग्य छन्, उनको नाम चाहिँ किन सल्लाहकार सदस्यमा राखियो ?’ भनी कथङ्कल उपस्थित कुनै सभासदले प्रश्न गरिहालेका खण्डमा जर्दा पान खाएर बिगारिसकेको दाँत ङिच्याउँदै सचिव महोदय कार्यकारिणी सदस्यमा नाम नपरेका व्यक्तिलाई इङ्गित गर्दै स्पष्टिकरण दिन्छन् – ‘होइन…होइन…। उहाँजस्ता महान् व्यक्तिको मान-सम्मानकको ख्याल राख्दै उहाँको सम्मानार्थ उहाँलाई सल्लाहकार पदमा आसिन गराएका हौं । उहाँजस्ता हाम्रा अग्रज, विद्वतजनलाई कार्यकारिणी सदस्यमा राखेर हामी उहाँको मान, सम्मान र प्रतिष्ठाको अपमान गर्न चाहँदैनौं ।’ तर ’उहाँजस्ता अब्बल, अनुभवी, बलबुताका अधिकारी, विद्वान् महोदयलाई कार्यकारिणी सदस्यमा सामेल गराए हाम्रो बिल्लीबाठ हुनेछ । उनको प्रतिष्ठा अघि हाम्रो केही सीप चुल्दैन । हाम्रो सही सही विसही विसही चल्दैन । उहाँको काम गराईसित हामी टिक्न सक्दैनौं’ भनी नवनिवार्चित अध्यक्ष महोदयले ता के सचिव महोदयले समेतले कदाचित स्वीकार गर्न सक्तैनन् ।
हिजोआज विभिन्न सङ्घ-संस्थाको सभातिर उपस्थित भइदिनलाई मलाई पनि निम्तो पठाउन थालिएको छ । निम्तो पाएपछि सभामा भइदिनु जानैपऱ्यो । गइएन भने फुटानी भयो वा हेनतेन भनेर बदख्वाइँ गर्लान् भनी सभामा उपस्थित भइदिनलाई कतिपय सभामा उपस्थित भइदिएको छु । त्यस सभामा उप-समिति गठन गरिन्छ । तर उप-समितिको निम्ति पहिल्यैबाटै सदस्यहरू छनौट भइसकेका कुरा गर्दै सचिव महोदयले भटाभट चयनित सदस्यहरूको नाम फट्कार्छन् । ती नामहरूको सिरानमा सल्लाहकारको ठाउँमा मेरो नाम परेको सुनाइऩ्छ । खासमा, सल्लाहकारको पदमा आसिनु हुनु भनेको साँच्चै सम्मानको कुरो हो । तर मलाई जति पनि सङ्घ-संस्था वा पत्र-पत्रिकाले सल्लाहकारमा आसिन गराएका छन् आजसम्म मबाट कसैले कुनै पनि सल्लाह वा सुझाव मागेका भने लु ठ्याम्मै छैन । त्यसो भए सल्लाहकार के को लागि ? कुनै पनि सङ्घ-संस्था वा पत्र-पत्रिकाका सल्लाहकार भए भएपछि सम्बन्धित निकायलाई आफ्नो सठिक, बहुमूल्य सुझाव वा सल्लाह दिने काम हो एकजना सल्लाहकारको । अरुलाई कुनै तर मजस्ता टपर्टुइँय्येलाई कुनै सल्लाह नमागी वा मलाई कुनै कुरो नजनाई नै उनीहरू आफ्नो काम फत्ते पार्छन् । पारिरहेका छन् । त्यसो हो भने, यस्ता सल्लाहकारको सूचीमा आफ्नो नाम राखेको नै के फायदा…के नाफा ? यसरी सङ्घ-संस्थाका अन्य सल्लाहकारहरूको गति पनि मजस्तै होला भन्ने मलाई लागेको छ ।
राष्ट्रिय तहको एउटा नामुद्दार संस्थाका मूल मुखियाहरू गाइँगुइँ गरेका एकदिन सुनै मैले । उक्त संस्थाका हर्ताकर्ता (जसले अन्य पुच्छरे सदस्यहरूसित साँठगाँठ गरी आफ्नो रणनीति, ट्याक्टिक्सले उक्त संस्थालाई आफ्नो मुट्ठीमा अँठ्याएर राखेका थिए)-ले आफ्ना पुच्छरे सदस्यवर्गलाई भन्दै थिए- “बुझ्नुभो साथी हो ! हाम्रो संस्था भनेको राष्ट्रिय तहको संस्था पऱ्यो । देशभरिका सम्पूणर् साहित्यकार, सङ्गीतकारहरूलाई एकजुट गराउऩे कुरो हामीले घोषणा गराउने कुरो हामीले घोषणा गरिसकेका छौंं । तर हामीले एउटा कुरा चाहिँ के याद राख्नुपर्छ भने, सबैलाई सदस्यता दिनैपर्छ तर हाम्रो मूल कमिटीमा चाहिँ कतिजनालाई ठ्याम्मै ढिम्किनु दिनु हुँदैन है साथी हो…दिनु हँदैन ।”
चारैतिर पालाक-पुलुक हेरी एकजना चतुर हर्ताकर्ता बोले- “तपाई त्यसो भन्नुहुन्छ सर ! जस्तै उदाहरणको निम्ति फलानु (नाउँ उच्चारण गर्दै) यति प्रतिष्ठित व्यक्ति, जसले समाजको निम्ति तपाई-हामीभन्दा कता कता हो धेर राम्रा-राम्रा काम गरिसकेका छन्… गरिरहेछन् । समाजप्रति उनको समर्पित भावना देखेर उनलाई सपोर्ट गर्नेहरू कति छन् कति ? तपाईँ-हामीजस्ता झिङ्गे कहाँ हुन् र परै ! मूल समितिको नाम प्रस्ताव गरिँदा सेभेण्टी फाइभ पर्सेण्टले उनकै नाम प्रस्ताव गरेर मूल समितिमा छनौट गरे तपाईँ-हामीलाई ता उनको प्रतिभाले दूधबाट झिङ्गा निकालेर फ्याँकैजस्तो फ्याँकिदिए नि…साथी हो ?”
घुटुक्क थुक निल्दै मूल हर्ताकर्ता बोले- “सरको कुरो रुपियाँमा सोह्रै आना सत्य र सठिक छ । हामीलाई पछार्ने, उनीहरूको प्रतिभा वा काम गराइसित प्रतिस्पर्धा गर्नै नसक्नेहरूलाई फ्याँक्नु ता सकिँदैन । तर यस्ता ट्यालेण्टेड व्यक्तिहरूलाई समितिकै डस्टबीनमा हाल्ने सजिलो उपाय छ । त्यो के भने, समितिका कार्यकारिणी सदस्यहरूको नाम छनौट गरिनुभन्दा अगावै तपाईँ-हामीले पहिल्यै उनीहरूको नाम सल्लाहकार सदस्यको निम्ति भटाभट् भट्याइहाल्नुपर्छ । साँप पनि मर्ने लट्ठी पनि नभाँचिने । आरम्भमै उनीहरूको नाम आएपछि समितिका अध्यक्ष, कार्यकारी अध्यक्ष, सचिव, उप-सचिव, कोषाध्यक्ष अनि कार्यकारिणी सदस्यमा उनीहरूको नाम आउने कुरै आउँदैन । तपाईहरूले एउटा कुरा याद राख्नोस्, यो मेरो अनुभवको कुरो हो, समाजका निमित्त समर्पित हुने यस्ता व्यक्तिले कुनै पनि अवस्थामा विरोध गर्दैनन् नि । उनीहरूलाई ता जसरी हुन्छ समितिमा आएर समाजको निम्ति काम गर्नुसित मात्रै सरोकार हुन्छ । अरुलाई पछार्ने, लङ्की लाउने वा बिनासित्थी पद हत्याएर संस्थामा ढलिमलि गर्ने वा रड़ाको मच्याउने कुनै चासै हुँदैन अनि एउटा कुरो तपाईहरूले कान खोलेर सुनिराख्नोस् म जतिञ्जेल यस समितिमा पद हत्याएर बस्छु वा म हुँदाहुँदै कसैलाई दिनेछैन ।
तपाईहरूले याद गर्नुभएको छ कि छैन कोनि साथी हो ! सुनको थालभरि चौरासी व्यञ्जन राखिएको छ । थालको अलि परतिर वरपरि वृत्ताकार रुपमा चिनी राखिएको छ । चौरासी व्यञ्जन खाने लोभमा कमिलाहरूका ताँती आउँछन् तर बाटामै चिनी भेटेर ताँतीका ताँती कमिलाहरू चिनीमै भुलिन्छन् । गुलियो चिनीमा भुलिएपछि चौरासी व्यञ्जनसित के मतलब ? साथी हो ! मेरो भन्नु अर्थ, सल्लाहकार पद चाहिँ कमिलालाई थालको वरिपरि वृत्ताकाररुपमा चिनी राखिदिएकै जस्तो हो । उनीहरू सभमा आउँछन्, बोल्नु मन गरे बोल्छन् तर कार्यकारी समितिभित्र पस्न भने ठ्याम्मै दिइँदैन । हाम्रो खेमामा एडजष्ट नहुनेलाई पहिल्यै लबी गरी त्यस्ता बाठेहरूलाई सल्लाहकार सदस्य पदमा राखेर थाहै नपाउऩे गरी चित् पार्नुपर्छ । यसकारण साथी हो ! यो सल्लाहकार पद चाहिँ जण्डाभन्दा जण्डा, उस्तादका पनि उस्तादहरूलाई कार्यकारिणी समितिबाट टकटकाउने सजिलो उपाय हो ।”
उनको तर्कलाई सही थाप्दै अर्का एकजना झिङे कार्यकारिणी सदस्य बोले- “हो ता…पक्कै हो नि । कसैले विरोध गरिहालेको खण्डमा पनि हामी सोझै निर्धक्कै भन्न सक्छौं, फलानुलाई ता सम्मान र आदरका साथ हामीले सल्लाहकारको आसनमा विराजमान गराएका छौं । आजसम्म यस्तो सम्मान उहाँजस्ता प्रतिष्ठित व्यक्तिलाई कुन संस्थाले दिएको छ ?”
यसकारण, कुनै संस्थाका कार्यकारिणी सदस्यहरूले एकमतो गरी तपाईलाई पनि सर्काउनुसम्म सर्काएर, फुक्र्याउनुसम्म फुक्र्याएर सल्लाहकार पदमा विराजमान गराएका होलान् । तपाईले आफ्नो छातीमा हात राखेर भन्नोस्, ती संस्थाका कार्यकारिणी सदस्यहरूमध्ये कतिजनाले तपाईलाई तपाईको बहुमूल्य सुझाव वा सल्लाह मागेका छन् अहिलेसम्म ? उनीहरूको गोप्य सभामा तपाईलाई कतिपल्ट निम्त्याएका छन् ? साँच्चै नै सल्लाहकार पदमा आसिन गराएर उनीहरूबाट उचित सल्लाह-सुझाव माग्ने संस्थाका सदस्यहरू होलान् कतै एक-दुइजना । तर रुपियाँमा बाह्रै आना संस्थाले प्यारालाइज बनाउन वा संस्थाको डस्टबीनमा हाल्न तपाईलाई सल्लाहकार पदमा राखेको हुन्छ ।
हेनतेन नभनी लाजै पचाएर भन्नु हो भने, म पनि झण्डै एक दर्जन जति सङ्घ-संस्थाका सल्लाहकार पदमा आसिन छु । तर कुनै पनि सङ्घ-संस्थाले सङ्घ-संस्थाको उन्नति र प्रगतिबारे कुनै सल्लाह मागेको आजसम्म लु मलाई थाहा छैन । कार्यकारिणी समितिको सभामा निम्त्याउने ता प्रश्नै आएन । यो सल्लाहकारको पद चाहिँ ‘बाँदरको पुच्छर लौरो न हतियार’ भनेजस्तै हो । सल्लाहकारले कार्यकारिणी समितिको सभामा न ता बोल्न नै पाउँछन् न ता आफूले बोलेको कुरो कार्यरुपमा परिणत नै हुन्छ । सबभन्दा ठूलो कुरो सल्लाहकारको कुनै मतदान अधिकार हुँदैन ।
कुनै पनि संस्थाका कार्यकारिणी समितिका सदस्य हुन पाए छाती फुकाएर तर्क गर्न सकिन्छ । आफूले चित्त नपरेका, मन नपरेका, नरुचेका विषयमाथि विरोध गर्न सकिन्छ । आपत्ति गर्न सकिन्छ । तर सल्लाहकार पदमा बस्नेहरूले न ता कुनै आपत्ति नै गर्नसक्छन्, न ता विरोध नै । कथङ्कल आपत्ति वा विरोध गरिहाले पनि त्यसको कुनै महत्त्व हुँदैन ।
यसैकारण मलाई ता लाग्छ कुनै पनि संस्थाका सल्लाहकार हुनु भनेको बिख नभएको साँपजस्तै हुनु हो । जति नै डँसे पनि बिखै नलाग्ने । नङ्ग्रा नभएको बाघजस्तै हुनु हो । जसलाई जति नै कोपरे पनि केही लछारपाटो लाउन सकिने होइन क्यारे ! सल्लाहकार हुनु भनेको बोधो खुकुरीजस्तै हुनु हो । बोधो खुकुरीको के मह्त्व र ! न काट्नु न न रेटिनु ।
जुन-जुन संस्थाले सल्लाहकार पदमा राखेर मलाई सम्मान दिएको हुँ भनेर जत्ति नै धाक लाए पनि, जत्ति नै फ्वाँक देखाए पनि खासममा मलाई उनीहरूले उनीहरूको खेमादेखि टकटकाएका हुन् अनि मेरो प्रतिष्ठा र प्रतिभाको सामु उनीहरू छोपिन्छन् भनी मलाई उक्त संस्थाको डस्टबीनमा हाल्ने षड़यन्त्र मात्रै गरेका हुन् भन्ने कुरो मैले छतछती बुझिसकेको छु । किनभने ओँठ निचार्दा मेरो ओँठबाट आमाको दूध निस्किने उमेरदेखि अनि़ जुङ्गाको रेखी बस्न थालेदेखि अद्यावधि सङ्घ-संस्थासित सम्बन्धित हुँदा-हुँदा पनि ‘आँ गर्दा अलङ्कार’ बुझ्न सक्ने भइसकेको छु ।
यसैकारण, बाँदरको पुच्छर लौरो न हतियारजस्तो पुङ् न पुच्छरको सल्लाहकार पदबाट आफू नै टकटकिन, त्यस्ता थोत्रेहरूको खेमादेखि पन्छिनलाई जम्मै संस्थाका सभापति र सचिव महोदयको व्यक्तिगत नाउँमा सल्लाहकार पदबाट राजीनामा दिएको राजीनामा पत्र आजै ईमेल मार्फत् पोष्ट गर्दैछु ।
सिलिगुड़ी (भारत)
Subscribe
Login
0 Comments
Oldest







































