लक्ष्मण गाम्नागेजदौ श्याम गोतामे !
श्याम गोतामेलाई आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेर माणिकजी र नरनाथजी आइपुगेपछि हामी नौजना भयौॅ । हामीले उठेर श्रद्धापूर्वक एक मिनेट मौनधारण गर्यौॅ र प्रण गर्यौॅ- हामी उहॉले देखाएर जानुभएको बाटोलाई अझ फराकिलो, अझ परिष्कृत र अझ चम्किलो बनाउनेछौॅ ।

२०५५ साल बैशाख १९ गतेको बिहान एकजना वरिष्ठ हास्यव्यङ्ग्कारलाई सदाका लागि गुमाएको अप्रत्यासित खबरले साहित्यिक संसारमा एकाएक स्तब्धता छायो । वि.सं. १९९६ साल भदौ २६ गतेदेखि अन्ठाउन्न वर्ष सात महिना र तेइस दिनहरूलाई अत्यन्तै उपलब्धिमूलक र सार्थक बनाएर त्यसदिन अचानक उनी अस्ताए । उनी अर्थात् श्याम गोतामे ।
श्याम गोतामेकोे देहावसानको समाचार अपत्यारिलो थियो, किनभने उनका निफुल्किएका कुरा दुई दिनअघि मात्र ‘कान्तिपुर’ पत्रिकामा पढिएको थियो । उत्तमकृष्ण मजगैयाको पुस्तक विमोचन कार्यक्रममा उनी पूणर्स्वस्थ उपस्थित थिए केही दिनअघि मात्र । सायद सार्वजनिक कार्यक्रममा उनको त्यो अन्तिम उपस्थिति थियो कि †
गोतामेको निधनको खबर टेलिफोनमा सुनेर वासुदेव सर धेरैबेरसम्म भक्कानिएको र बोेल्नै नसकेको कुरा अर्जुनजीले भन्नुहुँदा हामीलाई नमीठो लाग्यो । वासुदेव लुइँटेलले हास्यव्यङ्ग्यका नौ ग्रह मान्नुभएका ती ग्रहहरूमध्ये कति ग्रहहरूले उहॉको त्यो मान्यतामाथि न्याय गरे, गरेनन् त्यो अध्ययनको विषय हुनसक्छ तर श्याम गोतामेले भने उनको मन पटक्कै दुखाएनन् मृत्यु हुनुपूर्वसम्मै ।
श्याम गोतामेलाई आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेर माणिकजी र नरनाथजी आइपुगेपछि हामी नौजना भयौॅ । हामीले उठेर श्रद्धापूर्वक एक मिनेट मौनधारण गर्यौॅ र प्रण गर्यौॅ- हास्यव्यङ्ग्यका चम्किला ग्रह श्याम गोतामेको देहावसानको आजको दिनदेखि नै हामी उहॉले देखाएर जानुभएको बाटोलाई अझ फराकिलो, अझ परिष्कृत र अझ चम्किलो बनाउनेछौॅ । उहॉको जस्तै खरो प्रहार, यथार्थपरक लेखनी र निर्भिकपनालाई आत्मसात गर्दै अघि बढ्नेछौॅ । त्यसपछि स्वर्गीय गोतामेबाट सिक्नुपर्ने कुराहरू केके हुनसक्छन् भन्ने विषयमा छलफल गर्यौॅ ।
कति लेखकहरू एउटा कुरा लेख्छन् र अर्कै व्यवहार गर्छन् । सिद्धान्त र व्यवहार बीचको यस अन्तरले मानिसलाई सही रूपमा चिन्न कठिन पर्छ तर गोतामे तीमध्येका थिएनन् । उनी हास्यव्यङ्ग्यमा जस्तो तीखो व्यङ्ग्य प्रस्तुत गर्थे व्यवहारमा पनि त्यस्तै निर्भीक र यथार्थवादी थिए । चाकरीका घोरविरोधी गोतामेका नजिकका मित्रहरूभन्दा उनको छेउ पर्न नचाहनेहरूको सङ्ख्या बढी थियो भन्ने अनुमान सहजै गर्न सकिन्छ । स्वार्थरहित मान्छेको एउटा गुण यो पनि हो । यस अर्थमा श्याम गोतामे एउटा निःस्वार्थी व्यक्तित्व थियो । साहित्यिक कार्यक्रमहरूमा हत्तपत्त मञ्चमा नजाने र श्रोताहरूको लाममा पनि सबभन्दा पछाडितिर बसिरहेको देख्न पाइन्थ्यो उनलाई । चित्त नबुझेको कुरा पिएर उनी पचाउन सक्तैनथे । जसरी लेख्थे त्यसैगरी अभिव्यक्त गर्थे । उनी अगाडि पछाडि हेरेर बिस्तारै बोल्नेखालका मानिस थिएनन्, अर्थात उनी इमान्दार थिए ।
गोतामेले एकपटक एकजना कविले प्रुफ हेरिमाग्न ल्याएको कविताको पाण्डुलिपिमा यो कविता होइन तसर्थ म प्रुफ हेर्दिन भन्ने आशयको कुरा लेखेर फर्काइदिएको प्रसङ्ग पनि अर्जुनजीले ल्याउनुभयो । यसबाट पनि थाहा हुन्छ उनी कतिसम्म खरो र स्पष्ट स्वभावका थिए । यथार्थलाई त्यसरी स्पष्ट रूपमा अगाडि राख्न सक्ने र आफ्नो मान्यतालाई व्यवहारमा उतार्न सक्ने हामीहरू कति छौॅ, खोज्नुपर्छ कि ?
गोतामेजी ! राजधानीमा हास्यव्यङ्ग्य लेख्ने तथाकथित लेखकहरू प्रशस्त छन् तर तपाइँ भने यस क्षेत्रमा चर्चित व्यक्ति भइसक्नुभएको छ भनेर एकजना मर्मज्ञ पाठकले भनेको कुरालाई गोतामेले आफूलाई जिउॅदै श्रद्धाञ्जली दिएको ठानेर चाकरी प्रथाको खिल्ली उडाएका छन् ।
उनले म अमर हुन चाहन्न भनेका थिए तर उनी अमर भएका छन् आफ्ना कृतिहरूमा । ‘मपाइँ’, ‘जदौ’, ‘कायेनवाचा’ र ‘श्याम गोतामेका प्रतिनिधि हास्यव्यङ्ग्य’ लगायत पुस्तकाकारमा नआइसकेका उनका रचनाहरूले उनलाई नेपाली साहित्यको आकाशमा सदाका लागि अमर बनाएका छन् ।
उनको देहावसानकै दिन उनका केही अनुयायीहरूले उनको योगदानको स्मरण गर्दै हास्यव्यङ्ग्य क्षेत्रमा नयॉ आयाम ल्याउने प्रण गरेका छन्, सिस्नुपानी नेपाल नामको एक संस्थाको स्थापनाको घोषणा पनि गरिएको छ- यो स्वागतयोग्य विषय हुनसक्छ ।
एक लेखमा गोतामेले सहिद दिवसको प्रसङ्गमा लेखेका छन्- शास्त्रीजीले (सहिद शुक्रराज शास्त्री) चश्माको धुलो पुछ्तै गम्भीरताकासाथ भन्नुभयो, जनता हाम्रो सपनालाई साकार तुल्याउनमा व्यस्त रहेको हुॅदा हामीले पुनः साकार हुने पालो त आजको ठीक एक वर्षपछि मात्र पाऔॅला ।
त्यस्तै, हामीले पनि श्याम गोतामेको सपना साकार पार्ने नाममा वार्षिक श्राद्ध मात्र गर्नुभन्दा उनकोजस्तै लेखनमा यथार्थ, सहजता र व्यवहारमा निःस्वार्थता र निर्भीकताजस्ता गुणहरूलाई अनुशरण गर्दै कलमलाई चाकरीविरुद्ध उभ्याउने हो कि ?
जदौ श्याम गोतामे !!
‘फित्कौली’ अङ्क ७, २०६३ बैशाख
Subscribe
Login
0 Comments
Oldest


































