केशव दुवाडीखाँचै खाँचो
मैले त सुनेको कुरा भन्या हो बेलाबेलामा देखिने सत्तापक्ष र विपक्षको एम्पाएर सर्कस पनि खाँचोकै करामत हो रे । आफूले गरेको सबै राम्रो, अर्काले गरेको सबै नराम्रो । यो त राजनीतिको मूलमन्त्र नै भै हाल्यो ।

खाँचो शब्दको आविश्कार कसले गर्यो त्यो त मलाई थाहा छैन । तर खाँचो पीडितहरुमध्ये म पनि एक छु । त्यसोत नब्बे प्रतिशत नेपालीको पर्यायवाची नाम पनि खाँचो नै हो । बाँकी दश प्रतिशतलाई पनि खाँचो नभएको त होइन तर अर्कै किसिमको । संकल्प पढ्दा पुरेतबाजेले ‘जले विष्णु स्थले विष्णु’ भन्थे तर वास्तवमा “जले खाँचो, स्थले खाँचो, खाँचो सर्वत्र भूतले,” भन्दा उपयुक्त हुन्छ होला ।
भन्नोस् त कहाँ छैन यो खाँचो ? दरवारदेखि घरबारसम्म, राजनीतिदेखि कूटनीतिसम्म, पत्रकारदेखि चित्रकारसम्म, साहित्यदेखि इतिहाससम्म, खाँचोकै अद्भूत अवतार देख्न पाइन्छ । कसैलाई नामको खाँचो छ त कसैलाई दामको, कसैलाई कामको खाँचो छ त कसैलाई मामको । नेतालाई भाषण को खाँचो नभए पनि जनतालाई रासनको खाँचो छ । शासकलाई आश्वासनको खाँचो नभए पनि शासितलाई आसनको खाँचो छ । मैले ढाँटेको होइन पाठकवृन्द ! नपत्याए भुक्तभोगीहरुलाई सोधे हुन्छ । दिनभर डष्टर र चक हल्लाएर, घोक्रो सुकाएर क ख ग पढाउने माष्टरका छोराछरीलाई कपडाको खाँचो भन्दा उनीहरुका पत्नीश्रीलाई चेष्टरको खाँचो हुन्छ । अरुले भन्दा ग्राह्यता पनि उनीहरुकै खाँचोले पाउनु पर्छ नत्रभने फेरि आन्दोलन शुरु भैहाल्छ । चक्काजाम भए त पैदल हिडेर पनि जान सकिएला तर भान्छा जाम भयो भने परेन फसाद ! कसैलाई सत्ताको खाचोँ त कसैलाई भत्ताको, कुन्नी कता परेको छ विकास साँचो ? विकासको मूल त अस्तिनै फुटेको कुरा महसञ्चारले बताइसकेको छ । दुई तल्लेबाट छ तल्लेमा विकास भएको छ, दुईपाँग्रेबाट चारपाँग्रेमा विकास भएको छ, ठर्राबाट रेडलेबलमा विकास भएको छ , कन्ननी फिल्टर (बिँडी) बाट पाँचसय पचपन्नमा विकास भएको छ,अनि जर्दापानबाट पानपरागमा विकास भएको छ । हो कि होइन ल भन्नोस त ? महानगर भित्र पानीको हाहाकार भएर के भयो त प्रति दिन लाखौ लिटर मिनरलवाटर, मदिरा र अन्य पेय दार्थको खपत भएकै छ ।
मैले त सुनेको कुरा भन्या हो बेलाबेलामा देखिने सत्तापक्ष र विपक्षको एम्पाएर सर्कस पनि खाँचोकै करामत हो रे । आफूले गरेको सबै राम्रो, अर्काले गरेको सबै नराम्रो । यो त राजनीतिको मूलमन्त्र नै भै हाल्यो । सत्ताको लागि खिचातानी भए पनि भत्ताको लागि सर्वसम्मती भै हाल्छ । ‘तँ रोए झैँ गर, म पिटेझैँ गर्छु’ भनेर आफ्नै खाँचो टार्ने धूनमा मौकामा चौका हान्न थालेका पो हुन् कि रहस्यकै पोको भित्र छ ।
यही खाँचोको माकुरीजाल भित्र अल्झिएको छ अरे नेपालीहरुको भाग्य । अर्काको खाँचोको कसैलाई वास्ता छैन । सबै आफ्नै खाँचो टार्न तल्लीन छन् । कसैलाई पनि पछाडि हेर्ने फुर्सद छैन । सबै अगाडि बढने होडमा छन् । पोल्टाको खसे खसोस् कसैलाई वास्ता छैन सबै जमिनको टिप्न तँछाड मछाड गर्दैछन् । आँखा चिम्ले पछि लाज लाग्दैन, नाक थुने पछि गन्ध आउँदैन कसो ?
गाँस बास र कपासको भाउ आकासिएर जनता खाँचोको भुमरी भित्र परे पनि आश्वासनको भाउ घटाएर राहतको पोको बिसाएकै छन् शासकहरुले । खोला तरे पछि लौरो काटेर दाउरा नै बाले पनि भैहाल्दो रहेछ नि ! गरिबीको रेखामुनि बसेर पनि आफ्नो स्तर बढाइरहेको छ नेपालीले । कोदोको ‘ब्रेड’ र गुन्द्रुकको ‘सस’ खाएर हाई भन्न रुचाउँछ ऊ । आजको अन्तर्राष्ट्रिय युगमा राष्ट्रभाषाले भन्दा अन्तर्राष्ट्रिय भाषाले प्राथमिकता पाउन पर्छ भन्नेकुरा उसलाई पूरा थाहा छ । ‘अर्थ न वर्थ गोविन्द गाई, टाउको दुखेको औषधि नाइटोमा लाई’ भए पनि जाने अँग्रेजी नजाने नेपाँग्रेजी भने पनि बोल्न मन पराउँछ ऊ । भित्र जुम्राको मिटिङ भए पनि बाहिर टाईफिटिङ गरेर हिँडन मन पराउँछ ऊ । कुरा मनासिब पनि छ । दुब्लो भएर बस्नु भन्दा सुन्निएर मोटाउनु राम्रो हुन्छ भन्ने सूत्र प्रयोग गरेर महानगरको घोषणा भएको हो अरे । फोहर त मान्छेको पेटभित्र पनि त हुन्छ नि ! पटुका फुस्केर के भयो त छेउ लुकेकै छ । प्रजातन्त्रमा, खाने मौका सबैले नपाए पनि बोल्न त सबैलै पाइ हाल्छन नि । ताउलोमा चामल नछडकिए पनि मुखमा कुरा छडकेकै छ ।
आदरणीय पाठकवृन्द, यो खाँचो जति टारे पनि नटर्ने, सिस्नेरी खेतको जुका टाँसिएझैँ टाँसिने कुरा हो । त्यसैले आफू रोएर पनि अर्कालाई हँसाउने हाम्रा व्यङ्ग्य पुराणका ठूल्दाइ भैरब आर्यालको ‘येन केन प्रकारेण उदरम् परि पुरयेत्’ भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै हामी पनि आफ्नै खाँचो पूर्ति गर्न तिर लागौँ कसो ?
धादिङ
Subscribe
Login
0 Comments
Oldest






































