डिल्लीराम काफ्लेनेता महिमा
निर्धालाइ संधै हेप्ने ठालूको व्यवहार छ । धनी गरीबमा भेद गर्ने यो सरकार छ । ढाल्नुपर्दछ यो भन्थ्यौ साँच्चै ढालिदियौँ तर । सुन्छु ठालु बन्यौ आफैं उभन्दा अझ पर्तिर ।
बिर्स्याैकी साथ लागेर खोला जंगल तर्दथ्यौँ
कसैले नसुनोस् भन्दै कानमा मन्त्र भर्दथ्यौँ
धेरैभो भेटनै छैन देख्तिन म कता गयौ ?
चस्मा फेर्यौ र पो हो की, साथी नै बिर्सने भयौ ।
बिना जुत्ता लुरे खुट्टा, टेकी चप्पल हिँड्दथ्यौ
आँङमा पातलो यौटा फाटेको सट भिर्दथ्यौ
सुन्छु मखमली दौरा, जुत्ता ट्ल्काउछौ अरे
अझै माथी पुग्यौ क्यारे, भेट्नै पो सकिदैन रे !
खाली पेट दुइ दिनको ढींडो खायेर भर्दथ्यौ
जन्ता हौँ हामीले यस्तै खानुपर्दछ भन्दथ्यौ
मांसपिण्ड बिना ऐले गाँसले सास छेक्छ रे !
सुरापान नभै आँखा राती जाग्रम बस्छ रे !
भन्थ्यौ नैतिकता ठूलो सम्पत्ती नडगाउनू
अर्काको संपतीमाथि आँखा कैल्यै नलाउनू
राज्यको संपती सुन्छु आफ्नामा सार्दछौ अरे
सुरा सुन्दरीको लागि पर्खालै नाग्दछौ अरे !
निर्धालाइ संधै हेप्ने ठालूको व्यवहार छ
धनी गरीबमा भेद गर्ने यो सरकार छ
ढाल्नुपर्दछ यो भन्थ्यौ साँच्चै ढालिदियौँ तर
सुन्छु ठालु बन्यौ आफैं उभन्दा अझ पर्तिर ।
भोको हुन्न कुनै भन्थ्यौ त्यो सर्कार ढल्यो भने
सिंगापुर यहीँ बन्छ बाटो पूल बन्यो भने
देशले काँचुली फेर्छ हामी माथी गयेपछी
ब्रम्हलुट गर्यौ भन्छन आफैं ठालू भयेपछी ।
चड्छौ रे गतिला गाडी टल्किने धेर दामको
बनायौ रे सुनेँ आफ्नै बङ्गला आलिशानको
घुम्छौ विदेश रे सुन्छु लावा लस्कर साथमा
मस्ती मात्र छ रे ! तिम्रो देश छैन दिमागमा
सुन्छू जागिरमा आफ्नै मान्छे भर्ती गराउँछौ
कमिसन थाप्नको लागी आफ्नै झोली बढाउँछौ
साला सम्धी भतिजाले महलै पो खडा गरे
हिजो खान नपुग्ने ती गाडीमा गुड्दछन् अरे ।
फिरङ्गी किन्न खोज्दैछ भन्ने सुन्छु म देश यो
मोल तोल हुँदै होला युरेनियम र तेलको
अब फेरि उठे हात तिम्रो तालू फुटाउन
जन्ता जागै हुँदा कस्ले दिन्छ देश लुटाउन ?
०००
गौरादह- १, झापा
Subscribe
Login
0 Comments
Oldest






































