शिवप्रसाद जैशीकसको देश ?
शासन चलाउन सकेजती काम गर्न पो चुनेको हो देश द्रोह गर्न त भोट दिएको थिएन नि ? भोट पाएर चुनिएँ भन्दैमा देश बेच्न कहाँ पाइन्छ र ? महासय !

देश के हो ? कसको हो ?
भूगोल हो कि मानिस ?
मन हो कि मस्तिष्क ?
कसको हो देश ?
गुँड बनाएर चारो ल्याउन
चर्को मरूभूमिको तापमा जल्ने
ठुलाठुला महलमा रंग दल्ने
आफ्नै दक्षिणतिर भाँडा मल्ने
युद्धहरूमा अर्कैको लागि बन्दुकसँग खेल्ने
मरूभूमितिर रस निकाल्न बालुवा पेल्ने
बोकेर डण्डा कुर्लिदै ठोक्ने
अर्कैको लागि चोरी डकैती रोक्ने
जल्दै, दल्दै, मल्दै, खेल्दै, पेल्दै, ठोक्दै
आफ्नै ज्यान हत्केलामा जोख्दै
द्रव्य लाभरूपी बिप्रेषण छिराउनेको होइन देश ?
कसको हो देश ?
रगत र पसिनासंग साँटेर पठाएको विप्रेषण माथि
रजाइँ गर्ने संघ, प्रदेश र स्थानीय सरकारमा सामेल
प्रतिनिधी, सांसद, मन्त्री र कार्यकारीको मात्र हो देश ?
हाकिम बडा हाकिम र अधिकारीको मात्र हो देश ?
धुपौरे, हुक्के र सुसारेहरूको हो देश ?
ठेकापट्टामा निर्माण धकेल्ने
कमिसनमा पोस्ने
काममा आगो झोस्ने
जनतालाई सास्ती
ठुलालाई चास्नी
काममा ढिलाई
नियम कानून मिलाई
झ्वाम पार्ने
दस्तखतीलाई ओसार्ने को हो देश ?
अघिपछि लाग्ने
लाग्न लगाउने
माला उन्ने
माला पहिरने
माला पहिराउने
खादा बोकेर
नारा घोकेर
जौ तिल धूप बोकेर
अन्तर्राष्ट्रिय उत्पादन
रातो, कालो, निलोको पोको पारेर
खोपिमा टक्र्याउने को हो ?
हवाई जहाजमा सवारलाई गेटमै कुरेर
जयजयगान गाउने
बुके चढाउने को मात्र हो ?
गुँडमा सास र सास जोगाउने आस
देश जोगाउने
देशको ढुकुटी बढाउने
ज्यानसँग साटेर
मानव तस्करलाई बाँडेर
बिचौलीयालाई पोसेर
श्रीमती, छोराछोरी, बाआमालाई ढाँटेर
आफ्नो पेटमा पटुकी बाँधेर
अलिकति जोगाएर फर्कनेहरूको पनि हक होइन र देश ?
मल बीऊ नपाई
खन जोत गराई
मनुवाहरूको पेट भर्न
आधी पेट खाएर
पानी विना रोपाएर
मानो पाथी फलाउने
प्राणीलाई मुसुक्क हसाउने
ती हलीहरूको थोरै अंश होइन र देश ?
कसको हो देश ?
देशलाई बन्धक बनाउदा
त्यो हली, त्यो किसान
ति विदेशिएका जून र जूनेली
ती मजदुर र मिस्त्री
अनि माटोको टिकालाउने
मट्टी पूजकहरूको हक छैन र देशमा ?
शासन चलाउन
सकेजती काम गर्न पो चुनेको हो
देश द्रोह गर्न त भोट दिएको थिएन नि ?
भोट पाएर चुनिएँ भन्दैमा
देश बेच्न कहाँ पाइन्छ र ? महासय !
०००
कैलाली, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































