डिल्लीप्रसाद मूलतिहुनबाह्रभाइ बा (३)
साथ-मा-कुरा पाल्न जान्नुभो जेसुकै बुझो हाल्न जान्नुभो तारतम्यमा लाग्न जान्नुभो फाइदा लिंदै भाग्न जान्नुभो । इति बाह्रभाइ पुराण तेस्रो अध्याय समाप्त ॐ हरय नमः

भ्रष्ट भेटिँदा हाँस्न थाल्नुभो
क्या खुसी हुँदै नाच्न थाल्नुभो
दौडिदै गला गाँस्न जानुभो
गोप्य योजना साथ लानुभो ।१५।
पत्रपत्रमा कार लाउँदै
सत्यतथ्यमा बार लाउँदै
जुक्ति जान्नुभो भ्रष्ट चोखिने
शुद्ध पार्न नै दक्षिणा लिने ।१६।
दक्षिणा दिए ढोग्न धाउने
नत्र अङ्कुसे मात्र लाउने
दे खुरुक्क दे फल्न थाल्नुभो
दिन्न भन्छ जो जाल हाल्नुभो ।१७।
बाह्रभाइको तन्त्रमन्त्र यो
मान्न सक्छ जो शुद्ध हुन्छ त्यो
झट्ट चोखिने मन्त्र जान्दछौँ
दाम राख्नुहोस् फुक्न थाल्दछौँ ।१८।
बाह्रभाइका मन्त्र चोटिला
पार्छ मन्त्रले पेट पोटिला
पाप गर्नुहोस् चोकचोकमा
खर्च चाहियो ढाकछोपमा ।१९।
क्या स्वतन्त्रता क्या छ शुद्धता
धेर छन् कला बाह्र भाइका
चेपचापमा सुँध्न जान्नुभो
ट्वाक्क ठाउँमा ठुङ्न जान्नुभो ।२०।
साथ-मा-कुरा पाल्न जान्नुभो
जेसुकै बुझो हाल्न जान्नुभो
तारतम्यमा लाग्न जान्नुभो
फाइदा लिंदै भाग्न जान्नुभो ।२१।
इति बाह्रभाइ पुराण तेस्रो अध्याय समाप्त ॐ हरय नमः
०००
प्राप्चा, ओखलढुङ्गा
Subscribe
Login
0 Comments
Oldest








































