
भानु अर्चना
गाउँदै सृष्टिको गीत म खगौतो बनाउँछु, बजाई कर्मका बाजा म अघौतो कमाउँछु, फुकेर युगको शङ्ख तिम्रो कीर्ति बढाउँछु, झिकेर दिलको अम्बु तिमीलाई चढाउँछु ।

डा. बमबहादुर जिताली
म भाषाभक्त बिर्सिन्न गर्छु श्रद्धा निरन्तर
भक्तका मनमा खेल्छ श्रद्धाभाव सधैंभर
दिलैदेखि तिमीलाई गुरु-देव म मान्दछु
गुरुको भक्तिमा डुब्नु आफ्नो कर्तव्य ठान्दछु ।
२
भक्तिधारा बगाएर गर्छ, जो काव्य- सिर्जन
को भुल्ने भानुको नाउँ ? को सक्ने राम बिर्सन ?
असार मासमा तिम्रो जयन्ती म मनाउँछु
साहित्य- फाँटमा तिम्रै रामलीला सजाउँछु ।
४
गर्नै छ आज रोपाइँ रोपार, बाउसे भई
असारे गीतको भाका घन्केका फाँटमा गई
भानुको भावना रोपी फैलाऔं काव्यका जरा
पिरोल्ने भार मासेर पारौं बाली हराभरा ।
६
जताततै झुलाएर काव्य- बाला लरी-बरी
बढ़ाऊँ भानुको कीर्ति नित्य कर्म गरी-गरी
हातमा कुशको टुक्रा, छातीभित्र छ सिर्जना
बटारी छन्दमा पिण्ड तिमीमा गर्छु अर्चना ।
८
गाउँदै सृष्टिको गीत म खगौतो बनाउँछु
बजाई कर्मका बाजा म अघौतो कमाउँछु
फुकेर युगको शङ्ख तिम्रो कीर्ति बढाउँछु
झिकेर दिलको अम्बु तिमीलाई चढाउँछु ।
१०
०००
रानीबन, काठमाडौ