साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आदिकवि भानुभक्त बाजेलाई बाङ्गाे चिठी

साह्रै अभागी रछौ बुडा ! तिमी त्यतिखेर जन्मिएर आदिकवि मात्रै भयौ, अहिले जन्मिएका भए सिङ्गै कवि हुन्थ्यौ । कवि हुन्थ्यौ, गजलकार हुन्थ्यौ, आख्यानकार हुन्थ्यौ, कथाकार हुन्थ्यौ, गीतकार हुन्थ्यौ, सङ्गीतकार हुन्थ्यौ, पत्रकार हुन्थ्यौ, हुनुपर्ने जे जे हो सप्पै हुन्थ्यौ ।

Nepal Telecom ad

विनोद खनाल

परम आदरणीये आदिकवि भानुभक्त बा !
तपाईंलाई जैनेपाल, लालसलाम, प्रणाम, नमस्ते, राधेराधे, श्रीहरी, लासो, सेवारो, गुडमर्निङ, गुडइभिनिनिङ, गुड नाइट, सबै अभिवादनबाट आदिकवि टाइट !!!

तपाईंलाई सबै नेपालीहरूले औधी माया गरेर तपाईंको जन्मेदिनमा कार्जेकरम गर्ने गरेको हुनाले मैले तपाईंलाई सप्पै अभिवादन एकैचोटि गरेको हुँ किनकी तपाईंको पालामा नेपालमा कुनै पाटी थिएनन् । अहिले हो भने रामायण लेखेको हुनाले भानुभक्त हाम्रा हुन् भनेर काङ्ग्रेसले भन्थ्यो होला, शोषकलाई लामखुट्टे र उडुसको उपमा दिएकोले एमालेले भानुभक्त हाम्रा हुन् भन्थ्यो होला, कर्मचारीको बिरोध गरेको हुनाले भानुभक्त हाम्रै हुनुपर्छ भनेर माओवादीले दावी गथ्र्यो होला, अमरावती जस्तो राष्ट्रवादी कविता लेख्ने भानुभक्त हाम्रो हुनुपर्छ भनेर राप्रपा चिच्याउँथ्यो होला । धन्न भाग्यमानी रछौ बा ! मासु काटेर भेजो लाए जस्तो तिमीले टुक्राटुक्रा त हुनु परेन ।

अहिले त नेपालमा स्वतन्त्र भएर बाँच्नै गाह्रो छ । नेपालका चार शहिदलाई त प्रमुख चार दलले कमिसन, नियुक्ति र मन्त्रालय बाँडे जस्तै एक एक ओटा बाँडौं भन्दै छन् रे । यस्तै छ नेपालको खबर, त्यहाँ मोतीराम, लेखनाथ, लक्ष्मीप्रसाद, भूपी, भिक्षु, पारिजात सबैलाई यो खबर सुनाइ दिनू ! गोपालप्रसादलाई नसुनाउनू होला, फेरि बौलाएर चौपट होला ।

अँ, कवि बा मैले तिमीकन किन यति सम्बोधन गरेको भने, बिहेको पाटी भोजमा चलेको बफे सिस्टममा जस्तो मन परेको एउटा अभिवादन झिकेर लिन्छौ भनेर नि । तिम्रा पालामा पाटी थिएन भन्ने कुरा त तिमीले “मेरा इनार न त सत्तल पाटी क्यै छन्” भनेर लेखेबाटै थाहा हुन्छ, अहिले त त्यस्ता पाटी पौवा कसले बनाउने र ! बरु भका पाटी पौवा, गुठी संस्थाको जग्गा आफ्नो नाममा गराउने काममा नेता, ठुलाबडाहरूओ नै लागेका छन् । बरु दुईचार जना भेला भएर पाटी खोल्छन, यस्तै कुरामा चैं नेपालमा विकास भएको छ । नयाँ नेपाल भनेको यही त होला नि !

हुन त यो मोबिलको दुनियाँमा चिठी लेख्दा मलाई लेख्न र पठाउन झन्झट, तपाईंलाई पनि पढ्न झन्झट, अहिलेका शिक्षकलाई पढाउन र विद्यार्थीलाई पढ्न झन्झट भए जस्तै होला ! तर नेपालमा मोबिल र कम्पुटरको जति नै बिकास भए पनि तरुनीले आँखा झिम्क्याए जसरी आउने र जाने बिजुुलीको र टावरको के भरोसा हुन्छ र ! नेपालका सबै ठाउँतिर बिजुलीका तार त टाँगिएकै छन् तर सिरसिर हावा चल्दा बिजुली गैहाल्छ, अनि तपाईंको पालाको गनगने चिठी नलेखेर के गर्नु र ! तपाईं पो आदिकवि हुनुहुन्थ्यौ र चिठी पनि कवितामै लेख्थ्यौ, म त अन्त्य कवि पनि होइन, मभन्दा पछाडि बर्खामा झोडी पलाएभन्दा बडी कवि र कवयित्रीहरू बड्दै छन् नेपालमा । नेपालको ढाँटढुँटे तथ्याङ्क विभागको तथ्याङ्क अनुसार नेपालको वार्षिक जन्मदर २.५ प्रतिशतले बढे पनि कवि तथा साहित्यकारको संख्या भने वार्षिक २५ प्रतिशतले बढेको कुरा प्रज्ञा प्रतिष्ठानको केन्द्रीय तथ्याङ्क विभागले बताएको छ । आफूलाई त पद्यमा चिठी लेख्न आउँदैन, गद्यमै लेखेको छु, कविता बनाएर पढ्नू ल बा ! अहिलेका कविहरूले निबन्धलाई कविता बनाए जस्तै गरेर !

कवि बा ! तपाईं त छन्दमा कति राम्रा राम्रा कविता रच्थ्यौ ह कि ! अहिले त कवितालाई छन्द चाहिँदैन, जे लेखे पनि कवितै हुन्छ, मलाई त कति दुख लाग्छ भने नि कवि बा, तपाईंले त्यत्रो रामायण अनुवाद गर्‍यौ, कस्ता चोट्टे फुटकर कविताहरू लेख्यौ, तर कहीं कहिले मान सम्मान पाउनु भएन, बरु भुक्तमान नै पाउनु भयो । अहिलेको जस्तो समय भको भए तपाईंको घर प्रमाणपत्रको चाङ लाएर बनाउँदा पनि बन्ने थियो होला ! तर कोनि हौ बा, तपाईं पनि देखेको कुरा प्वाक्क बोल्ने छुच्चा कवि हौ, पुरस्कार दिन्थे कि दिँदैनथे ।

आजकल त नेपालामा पुरस्कार पाउन त चाप्लुसी पो गर्नुपर्छ त ! सरकारी पुरस्कारदेखि तरकारी पुरस्कारसम्म पाउन भुटुन नहाली हुँदैन भन्छन् । सम्मानभित्र रकमको पनि व्यवस्था छ भने त छनोट समितिले पनि फिप्टी फिप्टी पर्सेन्ट कमिसनमा काम गर्छन् अरे भन्ने सुनिन्छ, यस्तो संस्कृतिमा तिमी हामी जस्ता सोझा बाबैहरूले काँबाट पाउनु र पुरस्कार ! अहिले त मागेर सम्मान थाप्ने र चोरेर कविता, साहित्य छपाउने मान्छेहरूको हालीमुहाली छ । तर पनि हरेक वर्ष असार २९ गते तिम्रो मूर्तिले माला पाउँछ, अरु ३६४ दिन चै चराहरूले पनि तिमीलाई नै बिस्ट्याई दिन्छन् । केटाकेटीहरूले पनि तिम्रो शिरमा भएको बिर्के टोपीको गेडालाई निसाना बनाएर तारो हान्छन् । तपाईंका पालामा त कर्मचारी मात्र फटाहा थिए, अहिले त नेता कार्यकर्ता, शिक्षक, सेना, प्रहरी, सामाजिक अभियन्ता सबै फटाहा छन् ।

धन्न उहिले नै जन्मिएछौ बाजे, अहिलेको जमानामा जन्मिएर “बधूशिक्षा” जस्ता कविता लेख्दा, गजाधरकी स्वास्नीलाई “अलच्छिनी” लेख्दा तिमीलाई महिलाहरूले सिधै जेलमा जाक्थे होला । उहिले त महिला संघ संगठन पनि थिएनन् । अहिले त महिला संघ, संगठन भन्यो, जतिवटा पाटी छन् त्यति नै महिला संगठन छ्न् तर महिलाको हित चैं कुनैले गर्ने होइनन्, खाली राजनीति गर्ने मात्र हुन् । महिला संघलाई मात्र किन भन्नू र ! किसान संघ, उद्योग वाणिज्य संघ, शिक्षक महासंघ, मजदुर संगठन सबैले आफ्नू बर्ग र समुहको हित भन्दा आफ्नू पाटीको नेताको धोती समाएर कुद्ने मात्र गर्छन् । खाली राजनीति मात्र गर्छन् । यस्तै यस्तै छ है बाजे यहाँको खबर !

अहिलेको समयमा भा कति बेंङ्गे लेख्थौ होला नि बाजे ! तिम्रा पालामा भन्दा सात खण्ड बडी भ्रष्टाचारी छन् अहिलेका कर्मचारी । नेताको त कुरै छोडौं, तिनीहरूलाई त देशमा संकट आउँदा, बिपद पर्दा दशैं आउँछ । बाढी पैरो जाँदा, भूकम्प आउँदा नेताहरू रमाउँछन् नेपालमा ! अरु देशका नेताहरू जनतालाई बिपत पर्दा आँसु झार्छन्, तर नेपालका नेताहरू त जनतालाई बिपत पर्दा मासु खान्छन्, राहतका नाममा विदेशबाट आएको अनुदान, जनताबाट उठाएको चन्दा, संस्थाहरूले दिएको जिन्सी नगद सब आफ्नै घरतिर लान्छन् । केही नपाए एउटा चम्चीसम्म भए पनि नलगे यिनीहरूलाई चित्त बुझ्दैन ।

अनि नि हौ कवि बा ! तिमीले देखेको अमरावती कान्तिपुरी नगरी पनि विकसित भएर कहाँ पुग्यो कहाँ, सडक र खेतको गरो एउटै भएका छन् । हुन त अब धान रोप्ने भनेको पनि सडकमै त हो, धान फल्ने खेत त प्लटिङ्ले सकिहाल्यो । यहाँ त प्लटिङ्ले पनि कति मान्छेलाई पल्टिङ नै बनायो । कति जमिनदारलाई सुकुम्बासीमा पल्टिङ गर्‍यो भने कति सुकुम्बासीलाई बिल्डिङ्मा पल्टिङ गर्‍यो । कति बेंकलाई पल्टिङ पार्‍यो भने कति सहकारीलाई सल्टिङ बनायो । हुन त लिङ्ग फेरेर लोग्नेमान्छे त आइमाईमा पल्टिङ हुने यो जमानामा जो जो जता जता पल्टिङ, सल्टिङ र जोल्टिङ भए पनि कसलाई के मतलब !

साँची हौ कविजी ! तिमीले लेखेको अमरावती कान्तिपुरी नगरीका गुनकेसरीका फूल शिरमा राखेर हिँड्ने चपला अवलाहरू अहिले त केश ठुटै पारेर टाइट पेन्ट र भेस्ट लाएर पो हिँड्छन् त ! त्यतिमात्र हो र ! दुई इन्चको स्कट र एक इन्चको ब्रेसियर लाएर डुल्दा पनि लाज सरम छैन । यस्तो देख्न पाएको भए तिमीलाई कति कविता आउँथे होला नि ! बालाजुमा सुन्दरी नचाउन पाउँ भन्ने कविजी ! त्यही भएर त अहिले नेपालमा कवि, गजलकार बडेका त ! युवतीहरुले छोटा भेस्ट र हापिन लाएर डुलेपछि कुन युवकलाई नआउला र शृङ्गारिक गजल र कविता ! बुढाहरू त थोते मुखले तोते बोली पार्दै शृङ्गारिक गजल सुनाउँछन् भने केटाहरूको त कुरै छोडौ न ! साह्रै अभागी रछौ बुडा ! तिमी त्यतिखेर जन्मिएर आदिकवि मात्रै भयौ, अहिले जन्मिएका भए सिङ्गै कवि हुन्थ्यौ । कवि हुन्थ्यौ, गजलकार हुन्थ्यौ, आख्यानकार हुन्थ्यौ, कथाकार हुन्थ्यौ, गीतकार हुन्थ्यौ, सङ्गीतकार हुन्थ्यौ, पत्रकार हुन्थ्यौ, हुनुपर्ने जे जे हो सप्पै हुन्थ्यौ ।

अहिले त नि कवि बा दुईचार वटा गजल, कविता लेखेर दुईचार गोष्ठीमा घुम्दै मज्जले चिच्याएपछि त वरिष्ठ कवि भै पो हालिन्छ त ! पाँच सात वटा काव्य महाकाव्य, उपन्यास, नाटक प्रकाशित गराइसकेका साहित्यकारहरूभन्दा यिनीहरू नै बडी चर्चामा हुन्छन् । तिमीलाई हरेकवर्ष नेपालीहरूले बोलाउँदा चैं नबिर्सीकन आउनू !! नेताहरूले गाउँलाई बिर्से जसरी चैं नबिर्सिनू !!

लौ त चिठी पनि मुद्दाको फिराद पत्र जत्तिकै लामो भयो । भाषा पनि नेपाली मूल विषय नेपाली लिएर स्नातक गर्नेहरूको भन्दा त मिलाएरै लेखेको छु, मिलेनछ भने मिलाएर पढ्नू है बा !!

अभागी बुढा ! तिमीलाई हार्दिक श्रद्धाञ्जली !! यस्तै भो यसपाली !! नगर्नू है गाली !! सबैले बजाउँ ताली !!

उहीँ तिम्रो
ससुराली पट्टीको खनाति !!!

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

विनाेद खनाल
बिर्सने बानी

बिर्सने बानी

विनाेद खनाल
हाउडी पुराण : एक संक्षिप्त चर्चा

हाउडी पुराण : एक...

विनाेद खनाल
जय बुढी

जय बुढी

विनाेद खनाल
गाईजात्रे सरकार !

गाईजात्रे सरकार !

विनाेद खनाल
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x