म, कोट र हात्ती !
हात्ती किन्ने मेलामा बढ्दै थियो मुटुको धड्कन म साधा मान्छे कसरी कोटमा देखिने भनेर आँट गरेँ परेपछि हात्ती पनि राम्रैसँग पाल्न थालेँ अरुभन्दा जोगाएर ॥
प्रभा पोखरेल :
कोटको बजारमा
पहिलो पटक छिरेँ
कोट किन्न
आत्तिएँ देखेर
कोटका स्वरूप
बाफ्रे !
कत्रा
अनि कस्ता
ह्याङ्गरमा सजाइएका कोट
छुन त के हेर्न पनि डराएँ
तैपनि हेरेँ
यसो छामेँ
हात कमाउँदै
किन किन
घच्घच्याइरह्यो
मनले भित्रबाट
पश्न गर्छ मनले मलाई
कोट किन्छस्?
किन?
तँ लगाउनयोग्य भइस् ?
कोट कस्तो मान्छेले लाउँछन् ?
तँलाई थाहा छ ?
सोच्दै मौन जवाफ दिँदै
अनविज्ञ
म कोट किन्न
बाध्य छु
किनकि भर्खरै
साँढे जुधाइमा
छानिएको म बबुरो !
के बुझ्नु कोटको महत्व ?
ककस्ले
कति बेला
कोट लाउनै पर्ने भनेर ?
तर यदाकदा सुनेको थिएँ
सायद विपनामा हुनु पर्छ
हात्ती पाल्नेले
कोट लाउनै पर्छ रे
धेरै खल्ती भएको
निर्जीव हात्तीमा
आँखा लाग्लान् भनेर
सपक्क चेपेर हिँड्न
सजिलो हुन्छ रे !
अनि सोचेँ
ए हो त नि
म पनि त
भर्खर कुर्सीमा बसेर
सुर्की तान्ने
मेलो लागेको मान्छे
म के कम ?
हात्ती पाल्ने
लाममा नै त छु नि
रहरले
कुत्कुत्याको बेला
चट्ट परेको कोट छानेँ
खल्ती
खल्ती भएको
हात्तीको बथान चेप्न
ठिकठिकै मूल्यको
र घम्लङ्ग लगाएँ
अनुहार रातो पार्दै होमिएँ
हात्ती किन्ने मेलामा
बढ्दै थियो
मुटुको धड्कन
म साधा मान्छे
कसरी कोटमा देखिने भनेर
आँट गरेँ
परेपछि
हात्ती पनि
राम्रैसँग पाल्न थालेँ
अरुभन्दा जोगाएर ॥
०००
नर्थ क्यारोलाइना, अमेरिका