नेताको गति
जागे राहु र केतुझै कहरिला, सौभाग्य सिध्याउन लागे पक्ष-विपक्षमा रहरिला सौन्दर्य हत्याउन हाम्रो देश, प्रदेश पो हुन गयो कल्ले पुर्यायो पर ? गोठाला हकदार भै मुलुक यो पार्ने भए जर्जर ।
डा. बमबहादुर जिताली :
सातै क्षेत्र भए निकास-मतमा झर्दै गयो निर्झर
पाँचै क्षेत्र थिए विकास-पथमा मानौँ थियो उर्वर
जाँतो देश बन्यो विखण्ड मतिमा हातो विदेशी भयो
अर्काको मतिमा पिसेर सतुवा खाने स्वदेशी भयो ।
बाजेको वनमा पसेर घिचुवा साँढे अघाए कति ?
खानैका मतिमा मिलेर चितुवा गर्ने भए उन्नति ।
माल्दाम्लो छ विदेशका पहुँचमा नेता घुमे फन्फनी
दुम्सीका चलखेलका रहरमा सक्ने भए उब्जनी ।
बारेको वनबारको लहरमा छाडा भए बाँदर
पुर्खाको घरबार झन् उधिनियो खाँदै गए फापर
नेपाली जन पारिए विपतमा कोही विदेशै पसे
यौटा सुन्दर शान्तिको गजुरमा आई विदेशी बसे ।
जागे राहु र केतुझै कहरिला, सौभाग्य सिध्याउन
लागे पक्ष-विपक्षमा रहरिला सौन्दर्य हत्याउन
हाम्रो देश, प्रदेश पो हुन गयो कल्ले पुर्यायो पर ?
गोठाला हकदार भै मुलुक यो पार्ने भए जर्जर ।
काण्डै-काण्ड, प्रकाण्डका परिधिमा सत्ता चलाए पनि
क्रिस्तानी परिपञ्चका चलनमा केके पिए तन्तनी ।
सत्तापक्ष-विपक्ष छन् शिविरमा उद्देश्य यौटै हुने
नेताको गति देखियो मुलुक नै खाएर सिध्याउने ।
०००
नागार्जुन न.पा.-१, रानीवन, काठमाडौँ
९८४१४९१०८१
Subscribe
Login
0 Comments
Oldest