साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पीडा, पिँडालु र पेडा

पीडा नभएको भए शायद सृष्टि, आविष्कार र सिर्जना पनि हुने थिएनन् कि । पीडाले क्रान्ति निम्त्याउने देखि पीडालाई व्यवस्थापन गर्न शान्तिसम्म बहाली हुने रहेछ, चाहे व्यक्तिगत सवालमा होस् वा सामूहिक ।

Nepal Telecom ad

दिलीप अर्याल :

सारा संसारका मान्छेहरूको साझा एवम् खानदानी सम्पत्तिको रूपमा रहेको कुरा हो( पीडा । सृष्टिको विकास सँगसँगै जुनबेलादेखि मान्छेले आफ्ना संवेदनाहरू महसूस गर्न र त्यसबाट प्रतिक्रिया जनाउन थाल्यो, त्यसबेलादेखि नै उसलाई पीडाले पिछा छाडेको छैन भन्ने कुरामा सायद कसैको विमति नरहला । समयसापेक्ष हिसावले यो पीडा भन्नेले रूप चाहिँ फेरेको पक्कै हुन् तर यिनले दिने पीडा भने उस्तै हुन् । अब यी पीडाको वंशावलीका कुरा गर्दा यिनका मातापिता तथा कुल-खानदान बारे जान्नु जरुरी देखिन्छ । मेरो हालसम्मको चियोचर्चो भनौँ वा निन्दोचर्चोले के भन्छ भने मानव विकासको चरणलाई फर्केर हेर्दा पीडाको माताजीको नाम आवश्यकता र पिताजीको नाम असन्तोष रहेछ । त्यसपछिको चरणमा पीडाको इतिहासलाई खोतल्दा यिनको मातापिताको प्रमोशन हुँदै गएर क्रमशः समाजमाया र शोषणनाथ हुन् पुगेका कुरामा म सहमत छु ।

मान्छेले समाज निर्माण गर्दे अघि बढ्ने क्रममा पीडाका अनुभूति र यसप्रतिका सहानुभूतिका इतिहास हेर्ने हो भने, बडाबडा चाङ् नै फेला पर्दछन् । तर यस अनुभूति र सहानुभूतिको दुनियाँमा संस्कृत कविराज भवभूतिको पनि पीडाको काव्यात्मक प्रस्तुतिमा धेरथोर योगदान रहेको छ । उनले लेखेको उत्तररामचरितम् काव्यमा सीताजीको परित्याग पछिको सीतामाताको आर्तनाक कथावस्तुले समग्र नारीका पीडाको वास्तविकता चरितार्थ गर्दछ ।

यो पीडा समयको क्रमसँगसँगै हुर्किँदै आउँदा एकपटक दरबारबाट बाहिर घुम्न निस्केका सिद्धार्थ गौतमले पनि देखेछन् र उनलाई त्यस क्षणमा पीडालाई देख्दा दुःख लागेछ । पीडाको त्यस घटनाले उनलाई बुद्ध बनाएछ । त्यस पछिका दिनमा पीडाको अगाडि दुःख जोडिएर दुःखपीडा बनेछ ।

सृष्टिको चरणदेखि २१ औं शताब्दी सम्म आइपुग्दा पीडाले पार गरेका पीडालाई धेरथोर नै भएपनि स्मरण गर्दा तिनलाई यसप्रकार उल्लेख गर्न सकिएला कि भन्ने मलाई लाग्दछ:-
भोकको पीडा । भोक मेटाउन हिँड्दा शिकार नपाएको पीडा । जाडो, घाम, हावाहुरीले सताएको पीडा । यौनको पीडा । सन्ताउन पाउने पीडा । प्रसववेदनाको पीडा । हिंस्रक जनावरले आक्रमण गर्ने डरको पीडा । आक्रमण पछि घाइते हुँदाकोे पीडा ।

खेती गर्दाको पीडा । शिक्षा आर्जन गर्ने र गर्दाको पीडा । जागिर नपाएको पीडा । जागिरमा हाकिमले दिएको पीडा । व्यबसाय चौपट भएको पीडा । गर्लफ्रेन्ड,ब्वाइफ्रेन्ड नपाएको पीडा । जोडी पाएपछि ब्रेकअप भएको पीडा । डिभोर्स भएपछिको पीडा । पैसा नपाएको पीडा । रोग लागेको पीडा । अरूले हेपेको पीडा ।

बुढेसकालमा फेसबुक काण्डबाट हनीट्रयापमा परेको पीडा । बा आमाले गाली गरेको पीडा । सामाजिक सञ्जालले निम्त्याएको पीडा । सत्ता नपाएको पीडा । सत्ता पाएपछिको पीडा । देशले पाएको पीडा । चुनाव हारेको पीडा । बेरोजगार बस्दाको पीडा । पैसो कुम्ल्याएको कसूरमा जेल बस्दाको पीडा । विदेश जान नपाउँदाको पीडा । विदेश गएपछिको पीडा । काममा आत्तिएको पीडा । परिणाममा मात्तिएको पीडा । कहिलेकाहीँ पात्तिएपछिको पीडा । लुगा च्यात्तिएको पीडा देखि बिहेमा जुत्ता लुकाएको पीडा । आफूले सम्पत्ति जोड्न नसक्नुको पीडा । अर्काले सम्पत्ति जोडेको पीडा । भनेको चिज खान नपाउँदाको पीडा । धेरै खाएर स्वास्थ्य खराव भएको पीडा । पुरस्कार नपाएको पीडा । सहकारीले ठगेको पीडा । सरसामान नबिकेको पीडा । आवश्यक चिन्ताले दिने पीडा । अनावश्यक चिन्ताले दिने पीडा ।

के के हुन् के के, भनी साध्य छैन । ठुला मान्छेका पीडा बेग्लै, मध्यम स्तरकाको अलग अनि साना तथा भूई मान्छेको छुट्टै पीडा । स्तर अनुसार पीडाका रुप पनि फरक फरक छन् । डिग्री फरक भएपनि पीडा भनेको पीडा नै हो । पीडालाई सहनु, थाम्नु, खाम्नु, डाम्नु, स्याहार्नु, सुसार्नु, मुसार्नु इत्यादि हुँदैहुँदै पीडाबाट गुज्रनु नै जिन्दगी रहेछ भन्ने कुरा सुनेको, जानेको र भोगेको कुराको बेलिबिस्तार लाइरहनु नपर्ला ?

एक हप्ता अघि यसो टेलिभिजन हेर्दै गर्दा एउटा मान्छेले कवितात्मक शैलीमा पीडा बारे यस्तो भन्यो । अनि मैले मन नलागी नलागी सुनेँ….
पीडा र छटपटी नजिकै आयो,
अनि मभित्र पस्यो ।
मलाई र्‍याखर्‍याखती पार्‍यो, चिथोर्‍यो, कोपर्‍यो ।
मुटुमा, फोक्सोमा, टाउकोमा हान्यो
अनि उल्का, अत्याचार गर्‍यो ।
मैले सहनसम्म सहेँ,
उसले गिज्याई रह्यो
अनि विस्तारै म थचारिए, पछारिए ।
अन्त्यमा, लखतरान र हायलकायल भएपछि मैले भनें
अब त यी पीडा म संगै बस्छन्
जीवनभर नछुट्टिने साथी जस्तै भएर ।
अब म यी सँगै खेल्छु, यी सँगै रमाउँछु ।
हजूरलाई के थाहा,
पीडा आफू सँगसँगै हुनुको मज्जा नै बेग्लै !

यो सुनेपछि एकछिन घोत्लिए । यिनीहरूले मेरो पीडा थाहा पाएर रमाइलो मानेर, खिसी गरेर कविता भन्या हो कि भन्ने पनि लाग्यो मलाई । फेरि पछि सोचेँ, जे होस् यो प्रसङ्गले मेरो मन बहलाउने काम चाहिँ गरेकै हो ।
म पाल्पा पिँडालुटार बस्ने प्यारप्यारे पौडेललाई यो पीडाले हुनसम्मकै छट्पटी गरायो । त्यो छट्पटीको पीडा मेट्न के गरौँ, कसो गरौँ भन्ने हुट्हुटी भएको कति कति ? हैट, यो पीडाको शल्यक्रिया गर्ने क्रममा कति पीडा भएको होला मलाई भन्ने कुरा तपाईहरूले बुझ्नुभएको छ भने त्यसमा मैले पीडाबाेध भने कदापि गर्ने छैन ।

वास्तवमा भन्नुपर्दा, पीडा, पिडक र पीडितको बिचमा अनोन्याश्रित सम्बन्ध रहेको हुन्छ । पिडकको मुख्य काम, कर्तव्य र जिम्मेवारी अरुलाई सकेसम्म पीडा दिने, थोपर्ने हो । अनि पीडितको काम भने पिडकका पीडालाई सहने हो । जति अधिकार र स्वतन्त्रताका हावा चले पनि पिडक, पीडा र पीडित नयाँ नयाँ आयाममा आइरहन्छन् । यो यिनीहरुको साझा विशेषता हो । थसलाई हामी सबैले शिरोधार्य र आत्मसात गर्नु पर्दछ भन्ने कुरा भनौँ।

फेरि, एकछिन घोत्लिएँ र अब पिँडालुको कुरो गरौँ जस्तो लाग्यो । एउटा भद्र भलादमी जस्तो लाग्ने मान्छेले समेत भन्यो ( म आजकल धेरै पीडा भयो भने त्यसलाई बिर्सन कोक्याउने पिँडालु खान्छु । यस्तो के भन्या होला भनेर म एक्लै हाँसे ।

शब्द निर्माणको हिसाबले भन्दा पीडामा अनुस्वार सहित आलु मिसाउदा पिँडालु बन्छ भन्ने कुरामा सबै सहमत हुनुहुन्छ होला । कसैले त पेडा र आलु नै मिलेर पिँडालु बनेको भन्ने हो पनि भनेका कुरा सुन्नमा आयो । तर त्यो त अलि विश्वास गर्न मुश्किल पर्ने पनि देखियो । किनभने त्यस्तो कोक्याउने जावो पिँडालु मीठो पेडासँग किन टाँस्सियो होला र !

पिँडालुको स्वभाव किन कोक्क्याउने भएकोे होला ? भनी मैले बिचार्दा यसले आलुलाई ज्यादा पीडा दिएर पिँडालु नामले जानिएको हो कि ! पिँडालु पनि आलु जस्तै जमिनमुनि फल्ने भएकोले यिनका बीचमा कतै मामाचेला, फुपूचेला, नाताको सम्बन्ध पक्कै हुनुपर्छ भन्ने पनि लाग्छ । आलु जस्तै फूर्तिलो र जो सँग पनि मिल्ने भने पिँडालु पटक्कै हैन । पिँडालुलाई उसिनेर खाने, दालमा हाल्ने, मस्यौरा बनाउँदा मिसाउने बाहेक यसले अरू अग्रगामी छलाङ हान्न सकेको देखिँदैन । फेरि यो मोरो पिँडालु त्यत्ति नै मान्छेका स्वाद र परिकारसँग घुलमिल हुन सकेको देखिन्न । अनि लाग्यो कि आलु बिचरा जता पनि जाने । जो सँग पनि मिल्ने । ल ल, हस हस भन्ने । अनि सबैको प्यारो हुन खोज्ने ।

अलि बढी, विचार नगरी, फ्याउ फ्याउ बोल्ने मान्छे काँचो पिँडालु नै हो भन्छन् । त्यसैले होला पिँडालु र पिँडालु प्रवृत्तिले अलि बढी पीडा पाएकै हो कि ? कोही मान्छे अलि रुखो वा छिट्टै ओठे जवाफ फर्काइ हाल्ने रहेछ भने एउटा थेगो छ नि – कस्तो पिँडालु जस्तो कोक्याउने हँ, त्यो मान्छे त ! थोरै सँग मिल्ने र कोक्याउने गुणले होला प्रायः पिँडालु मान्छेको रोजाइमा त्यत्ति पर्दैन । मान्छेको जातै बढी पीडा बोक्ने प्राणी भएर हो कि कम पीडा बोक्ने पिँडालु बन्न नखोजेका होलान ? मलाई पछि लाग्यो बरू रुखो, घाँटी बाँध्ने, कोक्क्याउने पिँडालु जस्तै भएर अलि कम पीडा बोकेर हिँड्ने हो कि ?

कुरोमा कुरो गर्दै जाँदा अब पालो पेडाको गफको । झट्ट सुन्दा पेडा भनेको दुधलाई खुवा बनाई त्यसमा चिनी, अलैँची आदि मसला मिसाएर बनाउने गोलो वा चेप्टो वा डल्लो आकारको मिठाई हो भन्ने कुरामा सबै सहमत हुनुहुन्छ भन्ने मलाई लाग्छ । मलाई आफू सानो हुँदा देखि नै पेडा साह्रै मिठो लाग्ने भएर होला घरमा आज भक्तपुरका भानु भान्दाइ आउनुहुन्छ भनेको सुन्दा भान्दाइको भन्दा पेडाको मतलव हुन्थ्यो बढी ।

यसो देशदेशावरका पेडा कहाँकहाँका मिठो हुन्छन् भनी वर्गीकरण र प्रसिद्धिको चर्चा गर्दा केही उदाहरण यस्ता भेटें मैले- बरमुझियाको पेडा, पवनको पेडा, असनको पेडा, वाजेको पेडा, आशालाल हल्वाइको पेडा, गुप्ताजीको पेडा, आँगनको पेडा, रामेश्वरको पेडा, रामभण्डारको पेडा, बनारसको पेडा, कति हुन् कति नाम लिएर साध्य छैन । यस किसिमले देशभरका पेडाका नाम लिने हो भने पेडाका लिष्टको एउटा पुस्तक नै तयार हुने देखियो ।

योे मिठाईको नाम किन पेडा राखेको होला भनी यस पंक्तिकारले चियोचर्चो गरी टोपल्दा के कुरा निस्क्यो भने – पेडा बन्ने क्रममा ज्यादै पीडा भएकोले पीडा, पीडा भन्दाभन्दै पेडा नाम भएको हो कि ? भन्ने लाग्यो । पेडा मुख्यतः दुधबाट बन्ने भएकोले पहिले त दुध बन्न कति कति पीडा खेप्दै आउनुपर्छ । गाई, भैँसी पाल्नु पर्‍यो । तिनलाई पाल्दा हुने किसानका पीडा अनेकौं छन् । वस्तुभाउका लागि चाहिने खाद्यान्न र बसोवास लगायतका कुराहरूका लागि लेकबेँसी, हिमाल, पहाड, तराईका आ-आफ्नै पीडा । गाई, भैँसी किन्न अर्थ (पैसा) को पीडा । बैंक, सहकारी, लघुवित्त बाट ऋण लिँदा होस् वा समयमा किस्ता तिर्न नसक्नुका पीडा । गोठालो लाग्ने, घाँस काट्ने, गोवर सोर्नेको आ(आफ्नै पीडा । समयमा दुध नबिकेर मिल्क होलिडे हुने गरेको पीडा । कोक र पेप्सी खान दुध बेच्नु पर्ने पीडा । कति हुन् कति पीडा भनी साध्य छैन, बुझी साध्य छैन । यी पीडा सुन्दा लाग्छ कि यी सारा पीडा पीडा सहँदै दुध उत्पादन हुने हुनाले अन्त्यमा पीडाहरू एकैठाउँमा बसेर पेडा बनेका हुन् ।

फेरि यो पेडा मूलतः दुधबाटै बन्ने भएतापनि स्वादे जिब्रोलाई मानमनितो गर्न भनी यसमा चिनी, अलैँची आदि मिसाउनुपर्ने हुनाले ती वस्तु उत्पादन गर्ने मान्छेका पीडा पनि सुनिसक्नु छैनन् । चिनी उत्पादनका लागि उखु खेती गर्ने किसानहरूलाई मिटरब्याजीहरूले दिएका पीडा र टर्चरका कुरा तपाईं हाम्ले देख्या सुन्या छँदैछन् । अर्कोतर्फ बैङ्क, सहकारी, फाइनान्स र लघुवित्तहरूले किसानलाई साँवा ब्याज तिर्न दिएका दबावदेखि जेथो बन्धकी लिलाम गरी उठिबास भएका पीडाका उदाहरणहरू पनि कम छैनन् । त्यस्तै अलैंची उत्पादन गर्ने किसानका पनि बेलाबेलामा अलैँची नबिकेर कन्तबिजोग भएका पीडा पनि कम छैनन् । त्यसैले यस्तो पीडामा जन्मेका, हुर्केका यी चिजहरू हालेर जिब्रो फट्कारी- फट्कारी, चपाई-चपाई, स्वाद लिई-लिई खाने यी पेडा वास्तवमा पीडैपीडाको मीठो भण्डार हो भन्ने लाग्छ ।

अब तपाईंलाई कसैले पीडा, पिँडालु र पेडा मध्ये कुन रोज्नु हुन्छ भन्यो भने तपाईं के गर्नु हुन्छ ? त्यो कुराको निणर्य गर्ने अधिकार तपाईंमा नै निहित रह्यो । यो बेला मलाई चाहिँ लाग्छ कि यी तीन मध्ये रोज्नु पर्दा म चाहिँ पीडालाई नै रोज्छु । यो मान्छे त कस्तो मूर्ख रहेछ भनेर तपाईंहरूले भन्नु होला तर म भन्छु – मान्छेको जीवन नै एउटा पीडा हो । पीडा नभएको भए शायद सृष्टि, आविष्कार र सिर्जना पनि हुने थिएनन् कि । पीडाले क्रान्ति निम्त्याउने देखि पीडालाई व्यवस्थापन गर्न शान्तिसम्म बहाली हुने रहेछ, चाहे व्यक्तिगत सवालमा होस् वा सामूहिक । म ढुक्कसँग भन्छु ( पीडाले मान्छेलाई बोल्न सिकायो, लेख्न सिकायो, आवाज बुलन्द गर्न सिकायो । हेर्नस् त यसरी तपाईं र म संवाद गर्ने वातावरण पीडाले नै जन्मायो । पीडाबाट भाग्ने नभई पीडालाई नै साथ लिएर हिँड्ने हामी मान्छेको जीवन रहेछ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Shivahari Pokharel
Shivahari Pokharel
1 year ago

गज्जब लाग्यो पीडा महात्म्य । रोचक अनि हल्का घोचक ब्यंग्य मिसिएको रमाइलो लाग्यो । भैरब अर्यालकै दाजुभाइ भएकोले होला कि राम्रो हास्यब्यंग्य बिधामा कलम सरसरसर बगेको । ल बधाइ छ दिलिपजीलाई । आगामी दिनहरुमा पनि पढ्न पाइयोस । शुभकामना छ ।

Gunaram
Gunaram
1 year ago

राम्रो छ ।

Nepal Telecom ad
ट्याटु महिमा

ट्याटु महिमा

दिलीप अर्याल
हल्ला

हल्ला

दिलीप अर्याल
बसिबियाँलो

बसिबियाँलो

दिलीप अर्याल
रोगहरूको बैठक

रोगहरूको बैठक

दिलीप अर्याल
साँढे पुराण

साँढे पुराण

दिलीप अर्याल
जय कविता !

जय कविता !

दिलीप अर्याल
2
0
Would love your thoughts, please comment.x
()
x