नेपाली गैँडा भोलिपल्ट हाँस्छ
यसरी नाङ्गिन पाउनुमा पनि उनीहरू गर्वित छन् मक्ख भएर हाँस्छन् भनाइको तात्पर्य के भने नेपालीहरू धेरै पछाडि केही सिक्छन्, सिकेर पनि हत्तपती जान्दैनन्, अनि जानेर पनि तुरुन्तै बुझ्दैन - ढीलो भएर, भोलि गएर बुझ्छन् । अनि आफूले बुझै भन्ने कुरा बुझेर अनि मात्र हाँस्छन् ।
रमेश विकल :
उपर्युक्त शीर्षक वाक्य मेरो आफ्नो होइन । त्यो मैले पहिलोपल्ट एक जना दश-एघार वर्षको केटाको मुखबाट सुनेको हुँ । सुन्दा मलाई यो वाक्य नेपाली उखान जस्तो लाग्यो । तर आफ्नो बालककालको धेरै समय अमेरिकाकै समाज र त्यहीँको धर्ती, त्यहीँको सभ्यतामा बिताएको केटाको मुखबाट नेपाली उखान ?… मलाई झनै आश्चर्य लाग्यो ।
यो धेरै पहिलेको कुरा पनि होइन, त्यस्तै तीन-चार महिनाअघिको मात्र हो । त्यतिखेर म एक जना लहडी साथीको नयाँ घर उद्घाटन समारोहको भोजमा गएको थिएँ । त्यो लहडी साथीको रमाइलो लहड के थियो भने उनले आफ्नो प्रौढावस्थाको विवाहमा आफ्नो परिवारका सीमित सदस्य र आफ्ना ज्यादै नजिकका इष्टमित्र, दाजुभाइलाई मात्र बोलाएर अरू कसैलाई पनि बोलाएनन् । छोरो जन्मेर पाँच-छ वर्षको भइसक्ता पनि उनले कुनै साथीभाइलाई बोलाउने जमर्को गरेनन् । कति जनाले त उससँग हाँसो ठट्टा गरे जसरी मार्मिक रूपमै मुख पनि फोरे – भाइ तँ त साँच्चैको अनौठा मानिस होस् वा यत्रो बुढेसकालमा आएर बिहा गर्यो, तर एक जना साथीभाइलाई पनि बोलाएर यसो रमाइलो गरौँ, ख्वाउन-प्याउन र श्रीमतीसँग परिचय गराउँ भनेनौ । कस्ता लम्फू मान्छे तँ त !
तर उसले साथीहरूको मर्म छेड्ने घोचपेचलाई पनि दाह्रा ङिच्याएर पचाइदियो । अनि पाँच वर्षपछि के लहड लाग्यो कुन्नि त्यतिखेर उसले केही साथी (शायद बढी नै नजिकका मात्र) हरूलाई आफ्नो नयाँ घरको उद्घाटनको निहुँ पारेर बोलायो बिहामा पनि बोलाउन सकिएन, छोराको पास्नीसास्नीमा ‘पोनि’ बोलाउने तालै मिलेन, त्यसैले, ती सबैको पलिसामा एकमुष्ठ, नयाँ घरको उद्घाटनमा सानोतिनो पार्टी दिने विचार गरेको । “सीमित मान्छे बोलाएको छु ।”
त्यस पार्टीमा भोजमा म पनि बोलाइएको थिएँ । अनि त्यही हामी खाना पर्खेर बसेका थियौँ । त्यहीँ अलिक परतिर चार-पाँच जना केटाकेटीको एउटा समूह पनि गफसफ, ठट्टा हाँसो गरेर बसेको थियो । त्यसै समूहको एउटा केटाले भनेको एउटा वाक्य, उसले अर्को साथीलाई जिस्क्याउँदै भनेको मेरा कानमा झ्वाट्ट पर्न पुग्यो- ‘नेपाली गैँडा भोलिपल्ट हाँस्छ ।’
यो वाक्य त्यस केटाले आफैँ उब्जाएर भनेको थियो अथवा कसैबाट सुनेर, त्यो मलाई थाहा छैन, र त्यो आजसम्म अरू कसैबाट सुनेको अथवा आफूले कतै पढेको पनि मलाई सम्झना छैन । तर जे भए पनि त्यस वाक्यको गहिरो आयामको चाहिँ मलाई आभास नभै रहन सकेन किन ?… किन नेपाली गैँडा भोलिपल्ट हाँस्छ ?
गैँडा हाँस्छ कि हाँस्तैन ?… हाँस्छ भने (प्राणी हो हाँस्तो होला नै) नेपाली गैँडा मात्र हाँस्छ कि, अन्तठाउँ अफ्रिकी महादेश, दक्षिण एसियाली देशहरू, भारत, बर्मा, मलेसिया (यहाँ गैँडा हुन्छन् हुँदैनन् मलाई थाहा छैन) आदिका गैँडा पनि हाँस्छन् कि हाँस्दैनन् ? हाँस्छन् भने यो अन्तका गैँडा पनि भोलिपल्ट हाँस्छन् कि अघिल्लै दिन हाँस्छन् ? तिनीहरू त अघिल्लै दिन हाँस्छन् भने, हाम्रा गैंडा मात्र भोलिपल्ट किन हाँस्छन् …. यस्तै कौतुकी प्रश्नहरू मनमा उठेर मलाई हाँसो उठायो ।… साथै एउटा गहिरो जिज्ञासाले मगज पनि रनथनायो ।
साँच्चै त्यो केटाले कुनै गहिरो आशयले नै त्यो उखान वाक्य बोलेको हो कि आफू अमेरिकामा त्यहीँको विकसित सभ्यतामा हुर्के बढेको हुँ भन्ने अहङ्कारमा गरिब देशको पछौटे पाखे सभ्यतामा जन्मे बढेका हाम्रा केटाकेटीमाथि धाक धक्कु जमाउन मात्र उनीहरूको हाँसो उडाउन मात्र भनेको हो ? जे होस् केटोले बोलेको त्यस उखान वाक्यको पछाडि लुकेको अभिव्यञ्जना अर्थलाई खोतल्ने गहिरो इच्छा ममा पलायो । … गैँडा हाँस्छ, त्यसमाथि पनि भोलिपल्ट मात्र किन ? … यस वाक्यले कतातिर सङ्केत गरेको हो ?
हामीकहाँ गैँडालाई एउटा मूर्ख, भद्दा र कस्तै तीखो र धारिलो हतियारले पनि हतपती नछुने, नछेड्ने बाक्लो र खम्रो, छाला भएको सठ जनावरको रूपमा प्रयोग गर्न खोजिएको हो भने त्यो आजको परिप्रेक्ष्यमा एउटा खास वर्गकै प्रतीक हुनसक्छ – त्यो वर्ग हो, देशको अत्यन्त भ्रष्ट र निर्लज्ज वर्ग – राजनेता, तस्कर, व्यापारी, भ्रष्ट बुद्धिजीवी (हनुमान् पण्डित) र भ्रष्टाचारी कर्मचारी ।
गैँडाको छाला यति बाक्लो र यति खस्रो हुन्छ, त्यसमा सानातिना हतियार त के धारिला र तीखा हतियारले (अझ सानातिना गोलीले पनि) छेड्न सक्दैन, छेड्नु त परै जावस् हतपति खोस्याउन पनि सक्तैन । तीखा र धारिला हतियारको चोटको उसलाई सियाले घोचेजति पनि अनुभव हुन्छ हुँदैन भन्न सकिन्न । त्यस्तै हाम्रा ठूलाठूला भ्रष्ट राजनेता, तस्कर, व्यापारी र भ्रष्ट कर्मचारीहरूलाई जनताका चीत्कार, पुकार र फिरादका तीखा भन्दा तीखा स्वरले पनि किञ्चित् छेड्न, छुन सक्तैन, उनीहरूको मूर्दा संवेदनालाई झकझक्याउन समेत सक्तैन ब्यूँझाउनु त परैको कुरा ?
जनताको निरीह पुकार र आर्त गुहारले त छोएन भनौँ किनभने त्यो स्वर सत्ता शक्तिको मदको ढालले छेकेको उनीहरूका मस्तिष्कसम्म उनीहरूका ढुङ्गे छातीसम्म पुग्नै सक्तैनन् । शायद त्यति शक्ति नै हुँदैन त्यस स्वरमा । तर समाजमा अत्यन्त तीक्ष्ण तरवारको धार र गोलीको मारभन्दा पनि तीखो मानिएको बुद्धिजीवी, पत्रकार, साहित्यकार, कलाकारको कलम र कुचीको टुप्पोले पनि छुन नसक्नु आश्चर्य छ । आफ्ना चरित्र, आफ्नो नैतिकता र भ्रष्ट, घीनलाग्दा आचरण व्यवहारउपर हानिएका सस्ता, व्यङ्ग्य, आलोचना, टीका- टिप्पणीका धारिलाभन्दा धारिला हतियारले पनि उनीहरूको संवेदना, चेतना र भावनामा सानो घाउ पनि लाउन सक्तैन । उनीहरू यस्ता बौद्धिक हतियारका चोटलाई कसरी हाँसीहाँसी पचाइदिन्छन् भने जसरी एउटी दिउँसै सडकमा नाच्तै हिँड्ने सर्वानाङ्गी विक्षिप्त महिलाले आफ्ना पछिपछि लागेका केटाकेटीहरूका हाहा र हुहु अनि ढुङ्गा र मुढालाई केटाकेटीको कौतुक ठानेर पचाउँछे। किनभने ऊ त्यस्तो स्थितिमा पुगिसकेकी हुन्छे:
‘यं हि न व्यथयन्त्येते पुरुषं पुरुषर्षभ
सम दुःखसुखं धीरं सोक मृतत्त्वाय कल्पते ॥
अथवा
दुःखेष्वनुद्विग्नमनाः सुखेषु विग स्पृहः
वितरागभय क्रोधः स्थितधीर्मुनिरुच्यते ॥ गीता
अनि गैँडालाई अत्यन्त निडर, बहादुरका साथै सोझो, मूढ र अन्धो (रिस उठेपछि आँखा नदेख्ने) जनावरको रूपमा पनि लिने गरिन्छ । यस दृष्टिले त्यो हाम्रा वीर गोर्खाली बहादुर जवानको प्रतीक पनि बन्न सक्छन् । जस्तो हाम्रा वीर गोर्खाली जवानहरू (लडाइँको मैदानमा वा कुनै शत्रुले हमला गर्दा) आँखै नहेरी आफ्ना खुकुरी चम्काउँदै अगाडि जो पर्यो (त्यो चाहे दुश्मन होस् अथवा मित्र नै, निर्दोष होस् वा दोषी) त्यसैलाई छप्काउँदै हिँड्छन्, त्यसैगरी गैँडाले पनि अगाडि दुश्मन देख्यो (अथवा देखेको भान पर्यो भने) आँखै नहेरी अगाडि ‘चार्ज’ गर्छ र आफ्नो बाटोमा जो पर्छ त्यसैलाई सिङ (खाग) ले चिरेर बडे अजङ्गको रुख वा अगाडि ढुङ्गाको पहरोलाई पनि छुट्याउन सक्तैन । अनि परिणाममा आफ्नै सिङ फुकाली घाइते हुन्छ वा परमधाम पुग्छ । अनि अर्को रमाइलो वा अनौठो स्वभाव गैँडाको के छ भने, एउटै ठाउँमा दिसापिसाब गर्छ र दिसापिसाब जाँदा अगाडि होइन, पछिपछि हट्दै जान्छ । पछि हट्दै जाँदा तस्करहरूले बाटोमा (उसको चर्पी जाने बाटो एउटै हुन्छ) मा खनेको खाडलमा खसेर उनीहरूको शिकार बन्छ ।
नेपालीहरू हरेक कुरामा पछि छन् भन्ने मान्यता विश्वविख्यात भइसकेको छ । अरू कुरा छोडौँ, कसैले कुनै समारोह कुनै उत्सव, भाषण बैठकमा बोलायो अथवा कतै भोज खान बोलाएछ भने पनि सामान्य एक घण्टापछि पुग्नु नेपालीहरूको सामान्य स्वभाव बनिसकेको छ । त्यसैले त कुनै कुरा एक घण्टापछि पर्नुमा नेपाली समय भन्न थालिएको छ । यो हुनुमा मुख्य कारक हरेक कुरा बुझ्नमा पछि पर्नु । अर्थात् विश्वका अरू मुलुकले सय वर्ष पहिले नै बुझिसकेका कुराहरू ऊ (नेपाली) आज भर्खर भर्खर बुझ्दै छ । जब बुझ्नैलाई ढिला हुन्छ भने बुझेको कुरालाई व्यवहारमा उर्तान ढिला हुनु स्वाभाविकै हुन्छ । त्यसैले त विश्वका अरू मुलुकले बुझीबुझी जानी प्रयोग गरेर बासी भइसकेर त्यागिसकेका जडाउरी कुराहरू आज स्याहार्दै छ नेपाली मान्छे, नेपाली समाज ।
तर विडम्बना के छ भने, ऊ त्यही अरुको जडाउरी ओढ्ने ओढेर पनि आफूले केके न पाएँ, के नयाँ नौलो कुरा गरेँ भनेर मक्ख पर्छ दङ्ग पर्छ । नाङ्गो हुने कुरा नै लिऊँ, विश्वको अरू देशका आइमाईहरू कति पहिले नै नाङ्गिएर पनि आज लुगा लगाउने तरखरमा छन्, तर हाम्मा आइमाईहरू भर्खर भर्खर नाङ्गिन सिक्तै छन् । अनि यसरी नाङ्गिन पाउनुमा पनि उनीहरू गर्वित छन् मक्ख भएर हाँस्छन् भनाइको तात्पर्य के भने नेपालीहरू धेरै पछाडि केही सिक्छन्, सिकेर पनि हत्तपती जान्दैनन्, अनि जानेर पनि तुरुन्तै बुझ्दैन – ढीलो भएर, भोलि गएर बुझ्छन् । अनि आफूले बुझै भन्ने कुरा बुझेर अनि मात्र हाँस्छन् । अर्थात् कुनै कुरा बुझ्ने अनि बुझेर हाँस्ने कुरा पनि ऊ (नेपाली) भोलिपल्ट मात्र (म्याद नाघिसकेपछि, महत्त्व सबै खत्तम भइसकेपछि) हाँस्छ, फोस्रो, निरर्थक हाँसो, गैँडे हाँसो ।
मैले पनि त एउटा सानो दश-एघार वर्षको केटाले एउटा सामान्य भोजको गफसफमा, आफ्ना साथीहरूसँग ठट्टा गर्दै भनेको बोलेको कुरालाई कहाँ तुरुन्त बुझै र ? …. चार महिना अगि सुनेको उखानको मर्म आज मात्रै बुझेर हाँस्न थालेको छु । अझ भोलि गएर झन् बढी बुझेर बढी हाँस्छु कि ? किनभने म पनि एउटा नेपाली गैँडा नै त हुँ सिङ्गो र सग्लो नेपाली गैँडा जन्म नेपाली, कर्म नेपाली, सोचाइ नेपाली, बुझाइ नेपाली, सम्पूर्ण चरित्र नेपाली, आजको कुरो भोलि गएर बुझ्ने, अनि बुझेर पनि भोलिपल्ट हाँस्ने, गोली बोली, लाज, सर्म, केहीले पनि छेड्न नसक्ने बाक्लो चाम्रो छाला भएको गैँडाको चरित्र ओढेको सिङ्गो नेपाली ।
गोरखापत्र शनिबार, भदौ ३, २०५७
०००
‘श्रीमान् जी भन्नुहुन्छ’ (२०८०)
Subscribe
Login
0 Comments
Oldest