भाेज अर्यालम झोले नै हो
घरको न घाटको भए झोले तर उनीहरु भन्न छोड्ने छैनन् “म हुँ दर्शन र विचारको झोले” यिनै झोलेहरुले नै सारा संसार डोले विकाश र संमृदिको ढोका यिनले खै कहाँ खोले ?

भोज अर्याल :
म झोले नै हो
म बच्पनदेखि नै
गर्धन फुस्किले गरि
बुट्टा भरेको झोला बोकेर
खुट्टाको जुत्ता खुस्किने गरि हिँडेर
किताब कपि र कलम कोचिएको
ढुंगा जस्तै गह्रुङ्गो भारीसँगै
स्कूल पढ्न जाने गर्थें
त्यसैले म झोले नै थिएँ
खोलै खोला हिडेर
आउँने जाने गर्दा
झोलेसँगै म खोले पनि
भएको रहेछु
धन्नै म
स्कूल गएको रहेछु
जब म अन्नको गाँस
हतारै हतारमा
मुखले टिप्ने गर्थें
मलाइ कचौराभरि झोल चाहिन्थ्यो
कहिले गुन्द्रुकको झोल
कहिले मस्यौराको झोल
कहिले आलु र प्याजको झोल
कहिले सागको झोल
जति बेलै चाहिने झोलै झोल
कहिले खसीको झोल
कहिले बोकाको झोल
झोल नभै नहुने थिएँ
किन कि म झोले नै थिएँ
लाग्थ्यो मलाइ
झोल विना जिन्दगी डावाडोल्
झोलेको विकसित रुप
झुले पनि हुन्छ
कोहि स्कुलतिर झुले
कोही अफिसमै भुलेर उतै झुले
कोही झुलेरै कपाल फुले
कोही झोले हुँदै झुले
कोही झुले हुँदै झोले
झुले र झोलेले रिस उठ्दा
आफू आफूमै पोल खोले
कोही आज भन्दै छन्
म नै हु खास झोले
एक जना झोलेले
अलि धेरै नै झोल पिएर
वाथरुममा धन्नैले टाउको घोले
पहिलेको जमानामा मान्छे पोले
कोहि भन्दै छन्
म नै हुँ खास झोले
हुन त यिनीहरुले सत्य कुरा नै बाेले
खोल्न पनि फेरि
मनको कुरा नढाँटी खोले
झोलेहरुले कहिले महंगो होटेलमा
कहिले पार्टीमा
कहिले घरकैआँटीमा
छिराएकै छन् महंगो झोल घाँटीमा
तितो टर्रो तर ब्रान्डेड झोल
सँगै बस्यो पियो झुल्यो
संसारै भुल्यो
जब झोलले छोड्छ
अनि पोल खोला खोल
तर
झोलेहरु डुबेकै हुन्छन् झोलमा
अनि भन्छन्
म झोले हुँ झोले
कोहि त धेरै ठुलो दर्शन
अनि विचारका पनि झोले
दन्त बजान गरेरै यिनीहरुले
शान्ति र समृद्धिको मकै पोले
आफू दुधले नुहाएको चोखो
अरुको मात्रै धोति खोले
यिनैले भन्दैछन् अझै
म नै हुँ ठुलो झोले
तपाइँ हामीले के बुझ्दैनौ होला
यिनीहरु कि
मुखबाट बोले कि अन्तबाट बोले
झोलेहरु झोलमा डुबेको राम्रो हो
तर देश त
तपाइँको र हाम्रो हो
झोला बोकेर खोला तर्दै
स्वदेश बसे पनि
मुगलान पसे पनि
आउँनुस् अझै केही समय
झोलेहरुलाइ नै झेलौँ
अन्तमा एक मुक्का दिएर
वाग्मती वा अन्तै भए पनि
खोलामै ठेलौँ
सबैले एक स्वरले भनौं
जय झोले गए झोले
घरको न घाटको भए झोले
तर उनीहरु भन्न छोड्ने छैनन्
“म हुँ दर्शन र विचारको झोले”
यिनै झोलेहरुले नै सारा संसार डोले
विकाश र संमृदिको ढोका
यिनले खै कहाँ खोले ?
०००
क्यानाडा
Subscribe
Login
0 Comments
Oldest







































