कमला पन्थी अधिकारीभानुप्रति
तिम्रा सुन्दर ती सबै कृतिहरू सत्मार्गका साधन त्यो बेला सबमा थियो विनयता ती काव्यका कारण नेपाली सब एक हौँ र सबको साझा यही देश हो तिम्रा ती सब काव्यमा सबतिरैसन्देश यस्तै थियो ।
कमला पन्थी अधिकारी :
रम्घाको रमणीय शान्त थलमा जन्मेर हुर्क्यौ तिमी
आफ्ना शिक्षित ती पितामहसँगै चण्डी र रुद्री पढी
तिम्रो तीक्ष्ण दिमागले अझ झनै बुझ्दै गयो तत्क्षण
धेरै ज्ञान सिकेर सक्षम बनी लेखेर रामायण ।१।
जन्म्यौ त्यो महिना असार रसिलो हे! काव्यका सर्जक
भाषा ज्ञान गराउने कवि तिमी साँच्चै महादीपक
त्यो रामायण जो थियो सहजले गाएर हिंड्थे सबै
यो नेपाल जहाँतहीँ घरघरै कण्ठस्थ पार्थे अझै ।२।
मेचीदेखि यता पहाडतिर झन् त्यो काव्यगाथा गयो
कालीको जलको प्रवाहसँग नै झन् झन् छिटो दौडियो
भाषा एक बनाउने कवि तिमी साहित्यका साधक
छन्दोबध्द अनेक काव्य कति छन् हे छन्दका नायक ।३।
नेपाली सबमा थियो विविधता भाषा अनेकौं थिए
तिम्रा काव्यहरू प्रकाशित भए पढ्दै सबैले गए
भाषा एक भयो र शीघ्र गतिले सद्भाव बढ्दै गयो
नेपाली सब एक हौंँ अब जुटौँ भन्ने कुरा फैलियो ।४।
तिम्रा सुन्दर ती सबै कृतिहरू सत्मार्गका साधन
त्यो बेला सबमा थियो विनयता ती काव्यका कारण
नेपाली सब एक हौँ र सबको साझा यही देश हो
तिम्रा ती सब काव्यमा सबतिरैसन्देश यस्तै थियो ।५।
०००
कलकी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































