महेशराज खरेलमुसाहरु
आज फेरि थाहा भयाे सुडकेश भित्रकाे राष्ट्रिय टाेपीमात्र काटेर बिगारेकाे कहाँ हाे रहेछ र ! काटेर बिगारिदिएछ मुसाले मेरा सबै बाह्य सामाजिक सम्बन्धलाई नै अब त यस्ताे लाग्दैछ मलाई ।

महेशराज खरेल :
आजकाल घर गाउँ समाजमा
मुसाको बिगबिगी भइरहेको छ
कहिले यता त कहिले उताको बेमाैसमी
हाेडकाे दाैड चलिरहेको छ
म हेर्छु आफ्नै स्थानबाट निर्मिमेष भावले
मुसाका यी हर्कतहरु
देखिन्छन् आपसमा तँछाड मछाड गर्दै
लडिरहेका मुसाका आ-आफ्ना बथानहरु
पोहाेरसाल मात्र माथ्लाघरेको
भरखर सिलाएकाे
राष्ट्रिय पाेशाक काटेर लगाउनै नहुने बनाइ दियाे रे मुसाले
यसपटक पल्ला घरेकाे बिस्तरा नै काटेर सुत्नै नहुने बनाइदिएछ
अब भाेलि के कसाे हुने हाे !
बेर छैन कतै हाम्राे घर वा मूल्य मान्यताकाे
जग नै भ्वाङ पार्ने पाे उसले बा हाे !
सुरक्षा चासाे बढेर आउँछ मलाई
रक्षा गर्नुपर्छ आफ्नै सिर्जना र मूल्यकाे
सिर्जना मानव जीवनकाे महत्वपूर्ण कार्य
रक्षा नगरि उभिन्न अस्तित्व जीवनकाे
मुसाले सिर्जना देख्नै नहुने
उद्धाइ हाल्छ दाँत
नयाँ पुरानाे जे भेटे पनि काट्नलाई
यसरी नै आफ्नाे साम्राज्य चलाइरहेछ
मुसाले घर, गाउँ, समाजका जे पनि बिगार्नलाई
म साेच्ने गर्दछु साँझ, बिहान, दिउँसाे र राती अनि
गम्छु कसरी नियन्त्रण गर्ने हाेला यी मुसाका दुष्कर्मलाई भनी
बल्ल पाे थाहा पाएँ आज मैले फेरि
मेराे घरकाे केन्द्रभित्रै पसेर मुसाले
सुडकेश भित्रकाे मेराे नयाँ राष्ट्रिय टाेपी नै कटिदिएछ
त्यतिमात्र कहाँ हाे र !
अँध्याराे छायाे घरमा त्यही क्षण
सम्झेँ बत्ती गएछ
हेेरेँ छिमेकीकाे घरतिर, त्यहाँ त उज्यालाे छ
खाेजेँ बत्तीका लाइन सबै
अलच्छिना मुसाले त !
विद्युतीय तार काटेर मलाई
अँध्याराे साम्राज्यतर्फ पाे धकेलिदिएकाे रहेछ
अति भयाे अब त ! नियन्त्रण नगरीहुन्न मुसाका यी बथानलाई
भनेर एउटा विकासी बिरालाेकाे खाेजीमा म निस्किएँ
मेराे चाहाना हुन्छ
त्याे बिरालाेले यी मुसाका जातलाई निमिट्यान्नै पाराेस्
बरु घरमा बिरालाले छाउरा पाएर यताउती कुनाकानी साराेस्
यस्तै साेच्दै म बिरालाे खाेज्दै थिएँ
कहाँ कहाँ बस्छन् मुसाहरु
तिनका सानाठूला दुला नियाल्दै थिएँ
समय बित्दै थियाे
मुसाकाे उचित व्यवस्थापन गर्न म काेसिस गर्दै गएँ
आज फेरि थाहा भयाे सुडकेश भित्रकाे
राष्ट्रिय टाेपीमात्र काटेर बिगारेकाे कहाँ हाे रहेछ र !
काटेर बिगारिदिएछ मुसाले
मेरा सबै बाह्य सामाजिक सम्बन्धलाई नै
अब त यस्ताे लाग्दैछ मलाई
बिराला मात्रले के सक्ला र !
नियन्त्रण गर्न यस्ता ज्येमराज मुसालाई
एउटा साँचाे गजबकाे किन्नु पर्छ मुसाहरु चेप्नलाई
यति गरेपछि त कसाे नसकिएला !
नियन्त्रण गर्न बिगबिगी चारैतिर हुर्किरहेका
देश भित्र वा बाहिर बसेर
मूल्य र मान्यताका जरा काट्ने मुसाहरुलाई ।
०००
काेटेश्वर काठमाण्डाै, बिहान
२०८२/०१/०४
Subscribe
Login
0 Comments
Oldest







































