महेशराज खरेलतिम्राे उचाइ पुग्याे अब
तिम्राे उचाइ यतिनै हाे अब माथि चढ्ने ठाउँ छैन कुनै ठाउँ छ कि ! भन्नू भ्रम मात्र हाे उचाइ पुग्याे तिम्राे अब सकुसल ओर्लनु मात्र एउटा विकल्प हाे ।

महेशराज खरेल :
सगरमाथा चढ्न भनेर हिँडेका थियाै
मेराे गन्तव्य त्यहीँसम्म हाे भन्थ्याेै
हामीले पनि जाेडबल लगाएकै हाे
तिम्राे यात्रालाई सघाएकै हाे
तिमी पुग्याै सगरमाथाकाे चुचुराेमा
हामी कतिले बेस क्याम्पबाटै हेरिरह्याैँ
कतिले साथ नछाेडी माथिसम्मनै पुर्यायाैँ
तिमीले मान्यताकाे झण्डा फहरायाै
हामीले देख्याै
याे गाैरवगाथा हाे इतिहासकाे
सबैले मनकाे कुचीले
धरतीका आगनभरि लेख्याैँ
हाम्राे छात्ती त्यस क्षण
बेलुनझैं फुलेकाे थियाे
शब्दले बाेक्दैन त्याे
कस्ताे आनन्द लागेकाे थियाे
हामी निर्मिमेष भावमा हेरिरहेका थियाैँ
तिम्राे पाैरखलाई देखिरहेका थियाैँ
सूर्यका नवीन किरणहरु
उज्यालाे छर्दै चेतनाकाे
अभीष्ठ बाेकेर न्यानाेपनकाे
फैलिइरहेथ्याे सारा जगतमा
एउटा युगकाे अन्त्यसितै
अर्काे युग आरम्भकाे
तिमीले जित्याै
हामीले आफ्नाे जित ठान्याैँ
तिमी अगुवा हुँदा
हामीले साथ निर्वाह गर्याैँ
सगरमाथा भन्दा माथि शून्य छ
उल्केर उँभाे चड्ने हुँदा तल झरिन्छ
झर्नु हुँदैन तिमीले
तिमी मानक हाै दिग्विजयका
त्यसैले बिस्तारै ओर्ल तिमी
तिम्राे उचाइ यतिनै हाे
अब माथि चढ्ने ठाउँ छैन
कुनै ठाउँ छ कि ! भन्नू भ्रम मात्र हाे
उचाइ पुग्याे तिम्राे अब
सकुसल ओर्लनु मात्र एउटा विकल्प हाे ।
०००
२०८२/ ०५/२० बिहान
काेटेश्वर काठमाण्डाै
Subscribe
Login
0 Comments
Oldest







































