डा. बमबहादुर जितालीकहाँ छन् बुद्धका आँखा ?
सुरक्षा देशमा छैन, शान्तिक्षेत्र गयो कता ? डरमर्दो बनेको छ परिस्थिति जतातता । मौलायो भ्रान्तिको खेती शान्ति सरेर गै सक्यो कहाँ छन् बुद्धका आँखा ? यत्रो विध्वंश भै सक्यो ॥

डा. बमबहादुर थापा जिताली :
अन्माएर लग्यो सीता, पठायो सरिता यता
भद्रगोल भयो सारा भ्रष्टचार जतातता ।
पौरखी पाखुरा हाम्रा, पुर्याए परदेशमा
आए शकुनिका झुण्ड, नेपाली खै स्वदेशमा ??
स्याल, गिद्ध मिले आज मुटु नै खान तम्सिए
राष्ट्र खोक्रो बनाएर थुपार्न खान लम्किए ।
राष्ट्रिय ढुकुटी रित्तो, पारियो देश जर्जर
भीरको डिलमा ऐले देखियो देश धर्मर ॥
धुन्धुकारी बसेका छन् टाउके, लाउके जहाँ
लालीगुराँसका बोट नासिन्छन्–मासिन्छन् त्यहाँ ।
नीति औचित्य मासिन्छ धर्म–सर्म निलेपछि,
राँको क्रान्तिको बल्छ सारा युवा मिलेपछि ।
सिंहदर्बार, सर्वोच्च न्यायलय जले किन ?
आँगो सदनमा लाग्यो, भगायो भ्रष्टका दिन ।
जलायो राष्ट्रको सान विश्वको शीर्ष गौरव
क्षतिग्रस्त बनाएर सिध्यायो शान्ति–सौरभ ॥
सुरक्षा देशमा छैन, शान्तिक्षेत्र गयो कता ?
डरमर्दो बनेको छ परिस्थिति जतातता ।
मौलायो भ्रान्तिको खेती शान्ति सरेर गै सक्यो
कहाँ छन् बुद्धका आँखा ? यत्रो विध्वंश भै सक्यो ॥
०००
रानीवन, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































