साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेरि भेटौँ साइँली- डाँडैको चौतारी

बेला बखत गीत गाउँदै साइँली - माइलीहरु यसै गरी रमाउँदै पिरती साट्दै होलान् । उतै बसी जुनी काट्दै पनि होलान् । लोक भाकाहरु सुसेली हाल्दै काेशेली सँगालेर बसेकै होलान् ।

Nepal Telecom ad

भोज अर्याल :

विदेशाँ बसेर स्वदेशतिरको भाँती नमिलेको राजनीतिमाथि व्यङ्ग्य बजार्न हुन्न भन्ने मतहरु धेरै नै छन् । मतहरुमा खत् टिपेर भन्नेहरुले जे जसरी भने तापनि केही कुरा आफैले पनि लेखियो । तर लेखेर मात्रै केही उखेल्न नसकिने रैच भन्ने कुरा पनि त प्रष्टसँग देखियो । कुरा यसो भैसकेको हुनाले मैले आज पुरा छलाङ हानेर अर्कै विषयवस्तु टिपेर पस्किँदै जान्छु । आफ्नै गाउँघर तथा पाखा पखेरासँग आँखा जुधाउँदै लहरो समातेर पहरो नै तान्छु । भनेर भन्न त मन पर्छ । तर नसोच्नु होला कि, फेरि यो लेखकले किन यस्ता बटार्रेका कुरा गर्छ ?

गाउँघर छोडेर बाहिर- बाहिर चारो टिप्दै चहार्दै हिँडेकै एक वीस र बाह्र वर्ष जति त टरी सकेछ । तर अझै पनि गाउँको कुरा सम्झियो कि मेरा दुई वटै कान नै खरायोकै झैं खुबै खडा भै हाल्चन् । किन यसो हुन गर्यो भनेर सोध्नु भयो भने म सबै नालीवेली उतार्दै जान्छु । अब मैले कुन चाहिँ गाउँको सारङ्गी रेटेको होला यो ? तपाइँलाई पक्कै थाहा नै छ । म उता हिमालको तलपट्टी पहाडको चेपुमा रहेको गुल्मीतिरको गाउँको कुरा उधार्दै छु । केही रहस्यका पोका पन्तुरा खोलेर रनभुल पो पार्दै छु । सायद तपाइँको मनमा चिसो पसिसक्यो होला ! उता हाम्रो गाउँमा बग्दै होलान् छल्दी र पनाहा खोला ! यिनेरुको नामै नसुनेको भएमा धेरै छक्क चाहिँ नपर्नु होला !

यो जिल्लाको न्वारनको नाम रखाई कसरी भएको रहेछ भनेर मैले एक-दुई दिनअघि गुगल दादालाइ सोधेको थिएँ ! ऊ जमानामा आर्मी बसेका ब्यारेकलाई गुल्म पनि भन्दा रैचन् । गुल्मले माले जुर्रो हाल्दै गर्दा गुल्मी भनिदै गएको कुरा मैले भाँती नपुराएरै बुझेको रहेछु ।हुन त यी धेरै नामको पछाडि काज न कामका अर्थ होलान् । तर सबै नामसँग मेरो कुनै साइनो नै भएन ! अब म जिल्लाको कुरा छोडेर आफ्नै किल्लाको कुरा पट्टी लाग्छु । ठूला साना लगायत भुसुना जत्रा गाउँका कुरा पनि सेलाउन नपाउँदै एक एक गरी केलाउँदै गर्छु ।

कुरा उहिलेका त हुन्, तर खुइलेका भने होइनन् । मानिसहरु गाउँलाइ गाउँ पञ्चायत वा छोटकरिमा गाप पनि भन्थे । गापका काप कापमा थुप्रै नामधारी वस्तीहरु हुन्थे ! तर त्यहाँ खासै मस्ती भने हुँदैनथे । मेरो जन्म भएको गापको नाम नै सिर्सेनी हो भनम् । यसको नाम के कसरी राखेका होलान् बाजे बराजुले मलाई कुनै हेक्का छैन । यसको ठेक्का गुगलले पनि नलिएको कुरा यसै साथ निवेदन गर्दछु । अब म सरासर कल्पनासँगै फेरि गाउँघरतिरै बसाइ सर्दछु । मेरै घरको अगाडि डाँडामा नजिकै एउटा मन्दिर थियो । त्यहाँ जहिले पनि सिरसिरे हावा चलिरहन्थ्यो । यसै कारण सिरसिरे हुँदै सिर्सेनी हुन गयो कि भन्ने मेरो एकलौटी ठहर छ । मलाई पनि एक पटक फेरि फर्किजान त रहर छ ।

सिर्सेनीलाई सिर्से भन्न पनि सकिएला तर बिर्से भन्न नसकिने रहेछ । यसै गाउँको उत्तरतिर माथि एक जोडी पहाड उभिएका देखिन्छन् । जसको सानले नै सबै जिल्लाबासीको मान बढाएको छ । एउटा मदाने अनि अर्को मालिका । दुबैको नाम टिपेर बनाइएको रहेछ अहिले त गाउँपालिका । यही मालिकाको तलतिर काखैमा एउटा गाउँ लम्पसार परेर सुतेको छ। त्यसको नाम हो पोखरा । हैन के टुरिष्टहरु झुम्न जाम पोखरा अहिले गुल्मीतिर सरेको हो ? विल्कुल हैन ! यो हाम्रै जिल्लाको गुमनाम पोखरा हो । कास्केली पोखराको कुरा त मैले किन पो गर्थें र ? यहीँबाट घिच्रो तानेर हेर्दा पारी पट्टी रेशुङ्गाको भिर मात्र हैन कि छल्दीको तीरसमेत अव्बल लोचन् गर्न सकिन्छ ।

अब मैले केही यस प्रकारका नाम भन्दै जान्छु । तपाइँ सुनेर नझस्किनु होला । पोखराबाट हिॅंडेर राक्सेको जंगल हुँदै देउराली आइन्छ । देउरालीबाट ओरालो लाग्दै गर्दा टिमुरेको गाउँमा पुगिन्छ । माथि डाँडाबाट तल हेर्दा घुर्केको गाउँ अजंगले बसेको देखिन्छ । घुर्केबाट माथि फुर्के सल्लाघारी पार गर्दै उकालो चढ्दा सेताभिरको गाउँमा पुगिन्छ । सेताभीरको डाडामा बसेर चारै दिशा तीर चलाउँन कम्ता रमाइलो हुँदैन । संझेर ल्याउँदा धन्न यो मन रुँदैन । साथै पुर्खाहरु बसे खाएको पुर्कोटको नाम पनि त छुटाउँनै हुँदैन ।

अब साना तीना र झिना मसिना कुरा गरौं कि । घर -गोठमा सबैले गाई, भैंसी बानेकै हुन्थे । एक मानो दुध तानेकै हुन्थे । टोलको नामै पनि भैंसीहाने थियो ।भैंसीहानेमा भैंसी खानेहरुकै रजगज हुन्थ्यो । सबैतिर दमाइ र कामी तर बाहुन न परियो हामी ! जे होस् त्यो समय नै थियो । क्या दामी !

गाई बाख्रा चराउँदा तरुनीहरुसँग वन पाखामा हराउँदाका ती क्षण संझिदा आज पनि मेरो मुखबाट पानी रसाउँछ । भीरको काखमा फुलेको बुके फूल अझै पनि मेरो नाकमा ह्वार्र बसाउँछ । पूर्वको अग्लो रेशुंगा पहाडलाई सग्लो तम्घास बजारले शिरमा बोकेको छ । पश्चिमको पुर्कोट दहले धुर्कोटको गाउँ टोलाउॅंदै हेरेर मनको वह पोखेको छ । कंके देउराली, विचित्र गुफा, इस्माकोट, अजमिरकोट, लगायत ठाउँहरुले गुल्मीको शान र गौरव बढाएकै छन् । सुन्दरता र संस्कृतिक विविधताको पाठ आज पनि जनजनलाई पढाएकै छन् । दशैंमा लगेर मानिसहरुले भाकल पनि चढाएकै छन् ।

केटौले उमेरमा गाउँमा हुदा क्या रमाइलो हुने बाबै नि । कुरै संझिदा पनि आज मन नै पुरै सिरिङ्ग हुने । चाड पर्वको बेलामा त विल्कुल रमझम् । तीजको समयमा हर्रेको डाँडामा चेलीहरु भर्रेका हुन्थे । उमेर नपुग्दै केटाहरु मुख मिठो पारेर चटार्रिदै झुमेर हिँड्थे । रातमा दोहोरी गाउने रमाउनेहरु के कमाउने कता समाउने । उनीहरु नै जानुन् ! तर उनीहरु भनेको के मानुन् । न कुनै नियम न कुनै कानुन दैवले नै जानुन् । सारा गाउँलेको पारा नै यस्तै । सबै कुरा खोलेर भन्न त अलि त्यस्तै ..।

दशैंको कुरा गर्दा कसैको पनि मनमा कम्पन उठ्तैन जस्तो लाग्दैन । घर अगाडि डाँडाको मन्दिरमा पुगेर पाडा काटिन्थ्यो । दौतरीहरुसँग चौतारीमा बसेर मया र पिरती साटिन्थ्यो । तिहारमा दैलो-दैलोमा पुगेर देउसी र भैलो खेलिन्थ्यो । मङ्सिर पुषमा अमिलो कागती र उखु लगेर कोलमा पेलिन्थ्यो । यतै पनि रमाइलो उतै पनि रमाइलो । पुष माघमा ढाड सेक्ने घाम लाग्दा कति घमाइलो । यी सबै दिनहरु अब झट्ट फर्किदैनन् । छोडिजानेहरु यो कुरा संझेर यति ता धर्किदैनन् । यो सबै मेरो निजी बुझाइ हो । तर असार साउनको बर्षे झरी जस्तै रुझाइ भने हैन ।

जन्मे हुर्केको माटो र त्यही गाउँको बाटो काटेर कहाँ कहाँ गइयो ! हेर्दा हेर्दै आज आफ्नो गाउँकै लागि प्रदेशी पो भइयो ! तर जहाँ गए पनि जुन दुनियामा भए पनि उही गाउँले साइँली माहिलीले गाएका लोक भाकाहरु कानमा गुन्जिएका हुन्छन् । रात विरातमा मादल ठोक्तै गाएका झ्याउरे गीतहरुले मन हल्लाइ रहन्छन् । अझै पनि ती साइँली माइलीहरु घाँसको भारी बोकेर सिमलटारीको बाटो काट्दै होलान् । रिडीको गाउँ छोडी विदेश हिँडिजानेहरुसँगका रोचक र घोचक दिन संझेर बसेकै होलान् ! बेला बखत गीत गाउँदै साइँली – माइलीहरु यसै गरी रमाउँदै पिरती साट्दै होलान् । उतै बसी जुनी काट्दै पनि होलान् । लोक भाकाहरु सुसेली हाल्दै काेशेली सँगालेर बसेकै होलान् ।

“यस्तै रैच साइँला -दुइ दिनको चोला, बाँचे भेट साइँला मरे ता के होला ?” जब मैलै यही कर्णप्रिय  गीत झलझली संझिन्छु । तब म फर्केर सिर्सेनीको कोट नजिकै पुगेर लाँकुरीको बोटमुनि आफै बसेको पाउछु ! अनि तिनै पुराना कुरा संझेर मन मनै माहुरी झैं गुनगुनाउँछु कहिले भुनभुनाउँछु । सररर.. हावा चल्यो लाँकुरीको बोट । जाम हिँड घुम्नलाई सिर्सेनीको कोट ..।

जय होस् मालिका अनि जय होस् मदाने । एक पटक फर्की घुम्न जाने कि नजाने ? लौ त नि आजलाई यहीँ पुगेर बिट मारियो । साइँली माइलीसँगै फेरि भेटौंला । संझना राखेमा पिरती साटौंला ! जुनी काटौंला ! अन्तमा: औरेजी नया वर्षको औसरमा गाउँघरका मयाहरुमा मस्तै शुभकामना !

०००
क्यानाडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x