डा. बमबहादुर जितालीसृष्टिमा पार्वतीकाे दृष्टि
महादेवलाई त्यो गुर्सिनीको बोली मह भन्दा गुलियो र अमृत भन्दा मीठो लागेछ अनि त्यस्तै लयमा "तिमीहरू ज्या खान्छा हामी पनि त्यै खान्छा" भनि उत्तर दिए। यो सुनेर पार्वती खित्का छोडेर हाँसिन् ।

डा. बमबहादुर थापा जिताली :
परापूर्वकालमा महादेव र पार्वती हाम्रो दुर्गमक्षेत्र भ्रमण गर्न आएका थिए। सन्यासी सन्यासिनी भेष धारण गरी आएका हुनाले यहाँका कुनै मानिसले पनि चिन्न सकेनन् । यिनीहरू घुम्दा घुम्दै एउटा गाउँमा पुगे, जुन गाउँमा गोरूद्वारा ऊखु पेलिएको थियो। यो वृष्टिले महादेव र पार्वतीका आँखामा ब्रेक लाग्यो । त्यस ठाउँमा ऊखुको भयङ्कर रास थियो । कोही मानिसहरू ऊखु खुर्किरहेका, कोही घान लगाइरहेका, कोही गाेरू धपाइरहेका र कोही खुदो पकाउँन रसेटामा मुढो ठोसिरहेका थिए। यो रमिता हेर्दा हेर्दै महादेवलाई ऊखु खाने इच्छा लागेछ र ऊखुको मालिकसँग “बाबा ! एक टुक्रा ऊखु मिल्छ कि ?” भनि सोधे । ऊखुको मालिकले बडो क्रोधका साथ “यहाँ कत्रो मिहनतले गोडेर, मल जल गरेर, खुर्केर पेल्न ठिक्क पारेको ऊखु बाटामा बसेर “एक टुका ऊखु” भन्न कति सजिलो, तँ फुस्रालाई के को ऊखु” भनि जवाफ दियो । महादेवले यस्तो जवाफ सुन्नासाथ ज्यादै चित्त दुखाएर “तेरा सन्तानले डाँडो खोलो ढाकोस्” भनि त्यहाँबाट फरक्क फर्केर आफ्नो बाटो तताए । पार्वती छक्क परेर पछि पछि लागिन् ।
यिनीहरू त्यहाँबाट हिंडेर जाँदा जाँदा एउटा कोटमा पुगे, जुन कोटको नाउँ जिता थियो । त्यस कोटमा बस्ने आदिनिवासीहरु ९५% भन्दा बढी गुरुङ जातिका थिए । अतः त्यस ठाउँलाई गुरूङ गाउँ भने पनि हुन्थ्यो । त्यस गाउँमा डुल्ने इच्छाले महादेवले झोली र पार्वतीले तुम्यो भिरेर भिक्षा माग्दै हिंडे । पार्वतीले चारैतिर नजर लगाइ हेर्दा हिमशिखर छर्लङ्ग खुलेको, लाली गुराँस फुलेको र बूकीफूल फुलेको देखिन् । पार्वतीले त्यहाँको प्राकृतिक सौन्दर्य स्वर्गको भन्दा दोब्बर भएको महसूस गरिन् र महादेवलाई “हाम्रो कैलाश पर्वत भन्दा यो जिताकोट पर्वत पो रमाइलो रहेछ हैन त ?” भनिन् । महादेवले मुसुक्क मस्किएर टाउको हल्लाए । यिनले टाउको हल्लाउँदा आकाश पातालतर्फ नजर दिए जस्तो देखिन्थ्यो ।
यिनीहरू यस्तै तुलनात्मक कुराकानी गर्दै गर्दै एउटा घरमा गए, जुन घरमा एउटा बुढी गुर्सिनी पिँढीमा बसिरहेको थिइन् । त्यस घरको दैलामुनि एउटा ऊखुको गाँज घोचो गाडेर चुयाँले बाँधेको महादेवले देखेर “ए बूढी आमा ! एउटा उखु खान दिनुहोस् न ?” भने । बूढी गुर्सिनीले “आ ल्ये, क्या भन्छ। यो जोगी ?” चारवटा ऊखु छ। नारायणको पूजालाई राख्याको क्या गार्ने ?” भनि जवाफ दिइन् । महादेवले ऊखुको गाँज हेरिरहेको देखेर उनले एउटा ऊखु काटेर ल्याइ दिइन् । महादेव र पार्वती मजासँग बसेर ऊखु चुसे। “गुलियोमा भुलियो” भने । अनि तिनीहरूले त्यही घरमा बास बस्ने बिचार गरे र बास मागे । गुर्सिनीले खुसीसाथ बास बस्न बाहिर पिँढीमा गुन्द्री वछ्याइ दिइन् र भित्र पसिन् ।
केही बेर पछि त्यस घरका बाबु छोरा आए र जहान पूरा भए । खाना तयार गरेर गुर्सिनी बाहिर निस्किन् र बडो हँसिलो मुखले “हामी त ढ्याँरो खान्छा । तिमीहरू क्या खान्छा ?” भनि सोधिन् । महादेवलाई त्यो गुर्सिनीको बोली मह भन्दा गुलियो र अमृत भन्दा मीठो लागेछ अनि त्यस्तै लयमा “तिमीहरू ज्या खान्छा हामी पनि त्यै खान्छा” भनि उत्तर दिए। यो सुनेर पार्वती खित्का छोडेर हाँसिन् । दुबै जना हाँस्तै हाँस्तै भित्र गए र खान बसे । गुर्सिनीले आफ्नो गच्छे अन्सारको भोजन गराई अतिथि सत्कार गरिन्। पाहुना बडा सन्तुष्ट भएर उठे । गुरूङ बूढाले वछ्यानको व्यवस्था मिलाइदियो । महादेवले त्रीपन्न घुस्सा दिएर एक चिलिम गाँजा भरेर आँखा चिम्लेर दम खिचे ।
त्यस गाउँको रोदीघरमा गाएको गीत, बजाएको सादल र फुर्मा महादेवलाई गाँजाको सुरमा अत्यन्तै राम्रो लागेछ र पार्वतीतिर फर्केर “कस्तो लाग्यो तिमीलाई ?” भनि सोधे । त्यस्तै पार्वतीलाई पनि अति नै राम्रो लागेछ र “यस्तो राम्रो गीत र मादलको रन्कोमा पाए हाम्रा स्वर्गका अप्सराले कति फन्को मार्दा हुन्” भनि उत्तर दिइन् । मादलको तालमा पार्वतीका आँखाले ताल दिन थाले र त्यही तालमा पार्वती निद्रादेवीको काखमा पल्टिइन् । महादेवलाई पनि गाँजाको सुरमा निन्द्राले बेसुर बनाउँदै ल्यायो र दुबै मस्त निन्द्रामा परे। विहान दुवैले एकै समयमा निन्द्रादेवीको काखबाट छुट्कारा पाए । महादेवले त्यस घरका बूढा बूढीलाई “लौ बाबा ! हामी बिदा हुन्छौँ। “एकको दुई नभए, बसि रहे” भनेर महादेव पार्वती त्यहाँबाट अन्तर्ध्यान अए ।
कैलाशमा पुगेर पार्वतीले बिचार गरिन्, त्यस्ता दानी गुरूङ परिवार, जुन परिवारले एउटा गाँज ऊखु भएकोमा पनि इच्छा भोजन गराएको थियो त्यस परिवारलाई महादेवले “एकको दुई नभए” भनि श्राप दिनुभएको र हजारौं हजार ऊखुको भयङ्कर रासमा एक टुक्रा उखु माग्दा तुच्छ बचन दिनेको “तेरा सम्तानले डाँडो खोलो ढाकोस्” भनि आशिक दिनु भएकोमा पार्वतीलाई अचम्म लाग्यो र यो के अनर्थ भयो भनि ध्यान दृष्टिले बिचार गरी हेर्न लागिन् ।
जुन परिवारले बास गाँस दिएर अतिथि सत्कार गरेको थियो, त्यस परिवारको छोरो उद्योगधन्दा गरेर असंख्य धन कमाएकोले धन अब केमा खर्च गर्ने भनि सोच विचार गरिरहेका थिए । आखिर सबैको सल्लाहले त्यस घरमा सप्ताह लगाउने निर्णय भयो र ब्राम्हणहरू राखेर धुमधामका साथ सप्ताह लगाए । त्यस सप्ताहमा मूल पण्डितले धुन्दुकारीको कथा “कोही दिन जो कोही कालमा” बाट कथा सुरूआत गर्दै थिए । सुन्न श्रोताहरुको गणना गर्न पनि असमर्थ थियो । समय समयमा मूल पण्डितबाट “धूपम् दीपम नैवेद्यम्” को धुन चलिरहेको थियो । धूपको मग्मग सुगन्ध कैलाशमा समेत पुगेको थियो । यस्ता प्रकारले सप्ताहको छैटौं दिन बित्यो ।
सातौं दिनमा होम आहुतिका लागि ब्राम्हणले मन्त्रद्वारा अग्नि जगाएर आगोमा “अन्न देवताय स्वाहा, जिताकोटका भयराय स्वाहा, दक्षिण कालीकाय स्वाहा, गोर्खा कालीकाय स्वाहा र लमजुङ कालीकाय स्वाहा” भन्दै देव-देवताहरूलाई चरू होम गरिरहेका थिए र कोही ब्राम्हणले “वीरनरसिंह गुरुङ स्वोधा, जङ्गबीर गुरुङ स्वोधा र महावीर गुरूङ स्वोधा” भन्दै पितृ देवताहरूलाई आहुति दिइरहेका थिए। यस्ता प्रकारले स्वाहा र स्वोधाका आवाजले जिता कोट गुन्जायमान भएर कैलाशमा समेत यो आवाज पार्वतीले सुनिन् ।
त्यस सप्ताहमा नाच, गान र बजान पनि थियो। कस्तो नाच भने त्यस नाचको बयान गर्न त हजार जिब्रा भएका शेषनाग पनि असमर्थ हुन्थे । यो नाच पार्वतीले ध्यान दृष्टिले खूब हेरिन् र महादेवले “एकको दुई नभए” भन्नु भएको त आशिक पो रहेछ भन्ने कुरा महसूस गरिन् ।
उता एक टुक्रा ऊखु पनि नदिने दुष्टतर्फ के हुँदैछ होला भनि पार्वतीले ध्यान दृष्टि हेर्छिन् त त्यस दुष्टका सन्तान फैलिएर भएको जमीन जेथाले घडेरी पनि नपुगेर सारा डाँडो खोलो र वन, जङ्गल समेत ढाकिएको, त्यस परिवारका मानिसहरू असी नब्बे वर्षसम्म बाँचिरहेका बूढा बूढीले “काल पनि कता गयो होला, मर्न पाए पनि आनन्द हुने थियो” भन्दै काल डाकिरहेका, बर्षेनी बच्चा जम्भेका, खान नपाएर बच्चाहरू रोइरहेका, जताततै को काँ र को को गरी केटाकेटीहरूले कोलाहल मच्याइरहेका, महिलावर्ग चाहिँ “कस्तो दिनमा भित्र पस्न आइएछ, यो जातको पाप कहिले छुट्छ र आनन्द हुन्छ” भन्दै लोग्नेको रिसले केटाकेटीहहलाई उचाल्दै पछार्दै गरिरहेका, र “छोराछोरी भएनन् भने राँडो त मरी जावस्” भनि दुनियाँलाई सरापिरहेका, पुरुष जातिहरू “कलि कचकचे जात रहेछन्” भनि घरमा कुटामारी चलिरहेको रहेछ ।
यस्ता अनेकों प्रकारले केटाकेटीदेखि लिएर बूढाबूढीसम्मले कोलाहल मच्चाइरहेका, अनि कालले गर्दा पुरुष जातिहरूले चोरेर भए पनि परिवारको प्राणरक्षा गर्ने पर्याे भन्ने नियत लिएर अर्काको घर चोरी गर्न जाँदा पुलिसले पक्रेर कसैलाई हात गोडा बाँधेर मूढो जस्ताे जमीनमा लडाइरहेका, कसैलाई चोरीको अभियोगमा जेलमा थुनेका, कसैलाई ‘चोर चोर’ भनि लगारिहेका, कसैलाई समातेर धमाधम ‘सिन्की खाँदे झैँ खाँदिरहेका थिए । साराका सारा मानिसहरुले ‘चोर चोर’ भनेर एक एक लात दिएर पिच्च पिच्च मुखमा थुकिरहेका, यस प्रकारले सारा परिवारमा भयङ्कर कोलाहल मच्चिरहेको र अनिकालले गर्दा हाहाकार मच्चिरहेको थियो ।
यसकारणले महादेवले दिएको जुन आशिक थियो त्यो सराप सिद्ध भएको देखिन् । पार्वतीको मन ज्यादै कोमल भएको हुनाले त्यस दुष्टका परिवारमा भयङ्कर आपद र बिपत परेको देखेर त्यस परिवारलाई दुःख रूपी समुद्रबाट मोक्ष गराउन पार्वतीले परिवार नियोजनको कल्पना गरिन् ।
०००
असोज, २०३३ सालमा ‘परिवार’ अङ्क ८९ मा प्रकाशित डा. जितालीकाे याे पहिलो सिर्जना हाे ।
Subscribe
Login
0 Comments
Oldest





































