मनोज गजुरेलचस्मा चमत्कार
‘हो मान्छे बिछट्ट छुच्चा भए, चौपट लुच्चा भए । यिनै लुच्चा र छुच्चाहरूको थिचोमिचोमा परेर हामीजस्ता लाटा र सुधा मान्छेहरू फुच्चामा गनियौं । अनि गुच्चा खेल्दा जसरी चुपो लागेको सुधो गोटीलाई चारैतिरबाट ताकिन्छ, त्यसैगरी छुच्चा र लुच्चाका कुर्कुच्चाहरू सधैंभरी हामीजस्ता फुच्चालाई घुच्चा लगाउन तल्लीन रहेका हुन्छन् …।’
–यसरी म हास्याधिपति भैरव अर्याल बाको ‘चरी चुच्चे च’ को चमत्कार पढ्दै थिएँ, एक्कासी मेरो चश्मा ‘काउकुती’ किताबमाथि बजारियो । ‘यो नाथे आँखाको बोक्रो कति खस्दो रहेछ !’ म नाकको फेदीमा चश्मा स्टेण्ड गरेर पुनः पढ्नमात्र थाल्दछु– फेरि मोरो चस्मेटो भने उही व्यहोरा दोहो¥याउँदछ बा ! यो क्रम अति नै भएपछि मैले मान्छेको धर्म त निभाउनै प¥यो , सत्य तथ्यको खोजीनीति गर्न शुरु गरें ।
के कुरो पत्ता लाग्यो भने, ‘काउकुती’ भन्ने किताबमा भैरब बाले ‘च’ को चमत्कार गरेर पनि चश्माको बारेमा चाँहि शब्दसम्म चुहाउन बिर्सेका रहेछन् १ चिना, चुरोट, चुस्की, चेपुवा, च्यापु, चाकरी, चाप्लुसी, चोरी–चकारी, चुलाचुली, चाकाचुली, चिट, चलचित्र सबैको वर्णन गरेका छन्, तर सधैं भरि आँखाको बडिगार्ड भएर रहने चश्माको बारेमा लेख्नचाँहि चुकाएकै हुन् बुढाले ।
सायद ऊमाथि चलेको यो अन्यायको पोल लगाउनकै लागि चश्मा नाकको डाँडीबाट झरेर मेरो अगाडि पछारिएको हुनुपर्दछ ।
आँखाको पोशाक भनौं अथवा धूलोमैलो छेक्ने ढाल, तरुनी– तन्नेरीहरूको शान भनौं वा विषालु नजर रोक्ने काँचको पर्खाल , चश्माको चमत्कार वर्णन गरी साध्य छैन । चेप्टा चश्मा, थेप्चा चश्मा, आँखाका नानीमात्रै छोप्ने चश्मा, झिमझिम पार्ने बानीलाई नै ढाक्ने चश्मा, आँखी भौंको सुरक्षा गर्न लगाइने चश्मा, जुँगाका रौंको मान बढाउन प्रयोग गरिने चश्मा, पूजा–आजा विहे–वटुलोमा बाहुन बाजेलाई दिइने दाने चश्मा, अनुहार नै छोप्लान जस्ता माने चश्मा, चोरलाई साधु र रातलाई दिन देखिने जादूवाल चश्मा, अपराध छोप्न न्यायाधिसले लगाउने गरेका पदुवा चश्मा !
चश्माका रुप र गुणको गान गाएर सजिलै सकिने होइन । क्यारेमबोर्डको गोटीजस्तो गोलो आकारदेखि लसुनको पोटीजस्तो चेप्टो र डोलो आकारका चश्मा – चश्माको प्रयोग हिजो हजूरववाले पनि समातेकै हन र भोलि हाम्रा छोरा नातिले पनि छोड्ने छैनन्, (यदि बैज्ञानिकहरूले घुच्चुकको भित्रपट्टि लगाउने गोप्य चश्माको आविस्कार गरेनन् भने चाँहि) ।
सामान्यतयाः चश्मा आँखाको शोभा हो । चाहे त्यो शोभा नामका महिलाहरूले लगाउन वा जीवा नामका पुरुषहरूले पहिरियून्– चश्माको काम उही हो र उस्तै हो । आँखा दुखेको समस्यामा पनि चश्माको प्रयोग गरिन्छ, देखासिखीको अवस्थामा पनि चश्माले राम्रा ग्राहकहरू प्राप्त गर्दछ । तर कतिपय युवाहरूलाई के भ्रम छ भने– कालो चश्मा लगाएर बसमा चढ्ने बित्तिकै राम्री युवतीसँग टाँसिएर बस्ने अवसर प्राप्त हुन्छ ।
तर त्यो भम हो, बाँकी केही होइन । मान्छेको मनभित्रको कुनियत आँखामा त प्रष्ट देखिन्छ, तर त्यसलाई कालो चश्माले छोपेको हुनाले युवतीहरूको आँखा युवकको गुणमा हैन, चश्मामा टक्क अडिन पुग्छ । चश्माको सबैभन्दा ठूलो दोष यही नै हो ।
‘धुलो छेक्ने, विराम रोक्ने– परेको बेला जे भेटिन्छ त्यसैलाई ठोक्ने ।’ चश्माको मल नारा यहि नै रहेको छ ।
‘ठोक्ने’ भन्नासाथ मानिसहरू थरिथरिका थाङने अर्थ लगाउँदछन् । हल्का क्रान्तिकारी कम्युनिष्ट नेताहरूले दाम राखेर राजालाई सलाम ठोक्ने कुरो बुझ्दछन् भने ‘कडा क्रान्तिकारीहरू’ ले चाँहि रक्सी खाने झुत्रेलाई भाटाले भक्कुमार ठोक्ने भन्ने सम्झन सक्छन् ।
चश्माले त्यसरी कहिल्यै ठोक्दैन । न त सत्ताका लागि गलत संझौतामा सहि ठोकेजस्तो गरेर ठोक्दछ , न आमूल परिवर्तनका नाममा काम नै गर्न नसकिने चर्र्का भाषण ठोकेझैं चश्माले ठोक्दछ । जब चश्माले ठोक्न थाल्दछ, यस्तरी ठोक्दछ कि चश्मा लगाउनेलाई पनि थाहै नदिई ड्याम्की ड्याम ठोकेको ठोक्यै गर्दछ, जुन कुरो चश्माको साहु (चश्मावाला) लाई समेत थाहा नै हुँदैन ।
सय–डेढसयका झिल्के चश्मा लगाएर स्कूल–कलेजतिरको आँखा ठोकाइ के ठोकाइ हो र १ ‘रे–मण्ड‘ र अन्य विदेशी कम्पनीका महँगा चश्मा लगाएर त्यसभित्रबाट भ्रष्टाचारको ठोकाइ पो ठोकाई १ आफ्नै भाग्य ठम्याउन नसकेर अर्काको भविष्य बताउन चौबाटो कुरेर बस्ने ज्योतिषीबाजेका ‘उल्लु आँखे’ चश्माको ठोकाई पनि कहिं ठोकाई हो र,
उपचार गर्न आएका विरामीको खल्तीतिर चश्माको माथिपट्टिको प्वालबाट आँखा तन्काई–तन्काई विरामीका मुटुमा ढ्यांग्रो ठोक्ने डाक्टरी चश्माको ठोकाइ पो ठोकाई हो त ।
चश्माको चमत्कार अप्टिकल्स पसलमा झुण्ड्याएका चश्माहरूबाट कदापि देख्न सकिन्न । जब ती चश्माहरू बिक्री भएर थरिथरिका मान्छेहरूको आँखामा सजिन थाल्दछन्, तबमात्रै चश्माको वास्तविक चमत्कार शुरु हुन्छ ।
एउटा कालो चश्मा लगाएर सिनेमामा नारी मुक्ति र सामाजिक क्रान्तिको डायलग डलिभरि गर्ने जेन्टल नायकको वास्तविक जीवनको स्क्याण्डल अध्ययन गर्नुस्– तपाईँले चश्माभित्रको चमत्कार सजिलै देख्नुहुनेछ ।
छोड्नोस्, सिनेमा पनि गइरहनु पर्दैन– तपाईँकै क्षेत्रको नेताले कालो चश्मा लगाएर गर्नुभएको भाषण सुनेर मनोरन्जन गर्नुस् र चश्माभित्रको चमत्कार हेर्नोस् । कालो चश्मामा देखिने नाटकमा कहिले जागीर लगाइदिने बहानामा महिलामाथि हातपातको दृष्य देख्न सक्नुहुन्छ, कहिले राष्ट्रघात, रिहर्लसल प्रत्यक्ष प्रसारणको पनि हेर्न भ्याउनुहुन्छ । जसरी एकजना वकीलको कालो कोटभित्र कयौं ‘कोट चमत्कार’ भेट्नुहुन्छ, त्यसैगरी एउटा कालो पत्रकारको कालो चश्माभित्र धेरै काला लेनदेन र देनलेनका अदृश्य चमत्कार पनि देख्न सक्नुहुन्छ । तर कालो चश्माभित्रको त्यो चमत्कार हेर्न के तपाईँ मन, बचन र कर्मले तयार हुनुहोला र !!!
चश्माको चमत्कार नेपाली जादुगर दि ग्रेट सुशीलले पनि नभेट्टाउने खालको छ । मानिसले प्रयोग गर्ने शैली देखेर उसको मनोदशा अध्ययन गर्न सकिन्छ । पत्याउनु भएन ? नपत्याए आफैं प्रयोग गरेर हर्नोस् ।
आफ्नो स्थायी ठेगाना आँखा, कान र नाकको डाँडी भएर पनि कहिले काहिँ चश्मा मान्छेको टाउकोमा चढेर बसेको देख्न पाइन्छ । जब आँखाले सत्य, तथ्य र कर्तव्य प्रष्टसँग देख्न सक्दैन– तब मानिसहरू निधारभन्दा पनि माथि टाउकामा चश्मा सिउरिएर हिँड्ने गर्दछन् । टाउको दुख्दाखेरी आँखामा चश्मा लगाउन डाक्टरले प्रेस्काइब गर्छन् भने आँखा खराब भएर तिनै डाक्टरले टाउकोमा चश्मा लगाउने अनुमति पो दिएका हुन् कि ! अथवा दिमाग खराब भएर पनि टाउकामा चश्मा सिउरिएको हुनसक्छ ।
जबसम्म मुटु ठीक हुन्छ तबसम्म टाउकामा चश्मा लगाउने जरुरतै पर्दैन । र, केही मानिसहरू चश्मा सर्टको दुईवटा टाँकको बीचबाट भित्र हालेर एउटा खुट्टोमात्रै बाहिर निकाल्छन् ।
त्यो बेलाचाँहि लख काट्न सकिन्छ– उसको मुटु ठीक हुँदो हो त आँखामा लगाउने चश्मा छातीमा लगाउने कारण किन पर्दथ्यो !
अर्कातिर यस्ता चस्मा हुन्छन्– जसलाई मानिसहरू पाइन्टको गोजीमा भिर्ने गर्दछन्– तिनको समस्याचाँहि गरीबी हो । त्यसबेला चश्माले बताउँदै हुन्छ कि मसँग अरु केही नभए पनि चश्मा त छ नि १
एवं रीतले कसैले चश्मालाई माला बनाएर झुण्ड्याएका हुन्छन्– तिनको बौद्धिकता निख्र्रिएको छ, तर जबर्जस्ती विद्वान भनाउने प्रयत्नमा तल्लीन हुन्छन् । कुनै कुनै मान्छेहरू हातमा चक्रझैं चश्मा घुमाउँदै हिँड्छन्, तिनीहरू चश्माको माध्यमले चाटुकारी गर्ने सुरसार कस्दै हुन्छन् ।
आउनोस्, तपाईँ पनि चश्मा लगाउनोस् र त्यसको चमत्कारमा शयर गरेर लठ्ठ हुनुहोस् । घाँटीमा चश्मा झुण्ड्याएर बौद्धिकताको परिचय दिनोस्, टाउकामा चश्मा सिउरिएर दिमागी असन्तुलनको चिनजान गराउनोस् । चश्माको संसारमा तपाईँंलाई पनि स्वागत छ ।
Subscribe
Login
0 Comments
Oldest










































