मनोज गजुरेलसङ्कट कि काल ?
बूढापाकाहरू भन्ने गर्दथे– ‘नहुने बेलामा गोरु पनि ब्याउँछ ।’ तर मैले बुझ्नै सकेको थिईंन– ‘नुहुने बेला’ भनेको चाँहि के हो त ?’ अहिले आएर बल्ल मेरो ज्ञानको गंगा फुटेको छ । प्रजातन्त्रको गर्भबाट सङ्कटकालको जन्म भएपछि म बूढापाकाहरूसँग साँच्चै ‘कन्भिन्स’ भएको छु ।
तर मेरो भनाइको तात्पर्य प्रजातान्त्रिक व्यवस्था ‘गोरु’ हो भन्ने चाँहि होइन है ।
न यसको गर्भबाट जन्मिएको ‘सङ्कटकाल’ नपुंशक अवस्था हो भन्ने मेरो धारणा हो, न त लक्ष्मीमाताका पति पिताजी श्री गोरुज्यूको अपमान गर्ने मेरो इच्छा हो । महाकवि देवकोटाले भनेझैं ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ जस्तो पनि हैन । मेरो इच्छा त साँच्चै गोरु ब्याउँदो रहेछ भनेर मनलाई बझाउनुमात्र हो ।
मेरी हजूरआमा पनि भन्ने गर्थिन् –‘बाबै, काल कहिल्यै बाजा बजाएर आउँदैन ।’ नभन्दै त्यस्तै भयो । आमै माथि जाने बेलामा न मेघ गर्जियो, न त चट्याङ्ग प¥यो । रांगामाथि चढेर यमराजजी ढोलक बजाँउदै पनि आएनन्, उनका असिस्टेन्टहरूलाई पनि पठाएनन् । दशंैको रमझममा नै कालहरू लुसुक्क हाम्रो घरभित्र पसेछन् र थाहै नदिई खुरुक्क हजूर आमालाई लिएर टाप कसेछन् ।
अहिले नहुने बेला भएर होला– काल बाजा बजाएरमात्र होइन, शास्त्रमा तिथिमिति तोकेरै आउन थालेको छ । संविधान भन्ने सरकारी शास्त्र पल्टाएर हेर्नोस्– काल कहिले आउछ र कसरी आउँछ भन्ने कुरो प्रष्टसँग लेखिएको भेट्नु हुनेछ । मैले अनिकालको कुरो गरें कि भन्ठान्नुभयो होला– तर मैले यहाँ गर्न खोजेको ‘सङ्कटकाल’ को बारेमा हो ।
‘देख्नाको डाल–ढिंडाको काल’ भनेजस्तो नाममात्रको काल पो हो कि भनेर दुईचार दिन अध्ययन पनि गरें । काल त काल– अनिकालको पनि बाबु रहेछ– सङ्कटकाल ! सङ्कटकाल लागेपछि माओवादी भनिएकाहरूले धमाधम आत्मसमर्पण गरेको सुनियो ।
आत्मा भन्नाले नाकका प्वालहरूबाट आउने–जाने स्वासमात्रै होइन, मान्छेको बिचार पनि एउटा आत्मा नै हो । मुख्य चीज नै सरकारलाई समर्पण गरिसके पछि मान्छे हुनु र लाश हुनुमा के फरक भो र ! आत्माबिनाका मान्छेले आत्मसमर्पण गरे भन्नु एक खालको गोरु ब्याउँनृुजस्तै हो ।
त्यसो त सुरक्षाकर्मीहरूले सर्वसाधारणलाई जबर्जस्ती माओवादीको आत्मा घुसाई दिएर, फेरि आत्मा फिर्ता गर्न लगाएको खबर पनि सुनिने गरेका छन् ।
सरकारले भिराई दिएको आत्मा उसैलाइ फिर्ता दिनु कुन ठूलो कुरो भयो , जुन आफ्नो आत्मा नै हैन त्यसले मान्छेलाई प्रेतात्मा बनाउन बेर छैन । त्यसैले, मान्छे आफ्नो आत्मामा बाँच्नुपर्छ । अरुको प्रेतात्मा बोकेर बाँच्नु पनि एक प्रकारले गोरु ब्याउनु जतिकै हो, आत्मा घुसाई दिनु गोरुलाई गर्भाधान गर्नु जस्तै हो ।
त्यसो त सङ्कटकाल शुरु हुनेबित्तिकै ‘बादल मारिए’ भनेर खबर आयो । अब चाँहि माओवादीहरू साँच्चीकै खत्तम भए है भनेर मान्छेले लख् काटे । आफ्नो नेता–पिता नै कालको मुखमा पुगेपछि ‘छोराछोरी–माओवादी’ ले सरकारलाई आफ्नो आत्मसमर्पण गर्लान् भनेको त, झन् सरकारको सातो पो खान थाले रे भन्ने सुन्न थालिएको छ । गोरु ब्य।एन त ?
न दनियाँमा कुनै सन्तानले बाबु मरेपछि अनिवार्र्य आत्महत्या गर्ने गरेका छन्, न त बाबु मरेर उसको अस्तु नभेट्टाएसम्म मरेको पूर्ण विश्वास लिने गरेका छन् । तर नहुने बेलामा गोरु ब्याउँछ । बाबु मर्दैमा छोराछोरी पनि सकिन्छन् भन्ने ‘नयाँ सिद्धान्त’ सरकारले प्रतिवादन ग¥यो र गोरु ब्यायो ।
उता सरकारले बुझेको ‘बादल’ पनि उही हो । सर्वसाधारणले देखेको पनि उही आकासकै बादलमात्रै हो । तर दुनियाँले अनुहार त परै जाओस्, फोटो समेत नदेखेका बादललाई हेलिकप्टरबाट हानेको बन्दकले चिन्नु गोरु हैन, रांगा नै ब्याउँनु होइन र ?
मेरो लेख तपाईँं पढ्दै हुनुहुन्छ तर यसमा पनि गोरु ब्य।एको कुरो यहाँहरूलाई पत्तै छैन होला । म गोरु ब्याउने कुरोबाट शुरु भएर ‘बादल’ मर्ने कुरामा पुगेको छु । यो त ‘चिल्ली’ टिप्न बारीतिर जान्छु भनेर आई.सी. टिप्न दिल्लीतिर हिँडेजस्तो भयो । तर के गर्नु, वाक– स्वतन्त्रता सरकारलाई अहिले त्यति पच्दैन, वाक्क आउनसक्छ – त्यसैले कुरोलाई कुलोजस्तो घुमाई घुमाई बोल्नुपर्दछ ।
सङ्कटकालमा गोरु ब्याउनु हाम्रो नियति नै भएको छ । सयौं मिटर माथिबाट सुरक्षाकर्मीहरूले आतंककारीहरूलाई पक्राउ गरिरहेका छन् । तिनका ओडार र भँडारहरूमा खानतलासी गरिरहेका छन् –यी गज्जबका कुराहरू हुन् । तर सुरक्षाकर्मीले ‘आतंककारी गीत’ समातेका कुरा रेडियोमा सुन्नोस् । ‘आतंककारी भाँडाकुँडा’ जफत गरेको खबर टि. भी. बाट जान्नोस् । आतंककारी औषधी र कपडाहरू पनि सुरक्षाकर्मीले समात्यो भन्ने सुनिन थालेको छ । नहुने बेलामा गोरु ब्यायो कि ब्याएन त ?
गीत पनि आतंककारी भएपछि अब एफ.एम. रेडियोहरूमाथि धावा बोलिन सक्छ । औषधिहरू पनि आतंककारी हुन, मानिसको शरीर विष्फोट गराउन सक्छन् । मानिसलाई एन्थ्रेक्सको जिवाणु सल्काउन, आतंककारी झुण्डहरूलाई सजिलो पर्छ । ‘फुड प्वाइजन’ गराएर सर्वसाधारणको जीवनलीला समाप्त पार्न आतंककारी भाँडाकुँडाहरू षडयन्त्रमा लागेका होलान् । हेर्नोस् त, नहुने बेलामा गोरु ब्याएको ! तपाईँ के गर्नुहुन्छ, कुन्नी, म त आफूलाई बडो भाग्यमानी ठान्दछु ।
पहिलो कुरो त, ज्यूँदैमा काल देख्न पाइएको छ । काल कहिले खुकुरी बनेर आउँछ र सफायाको डोलीमा चढाएर लैजान्छ । कहिेले ‘सर्च’ को सानो जहाज चढेर आउँछ र ‘डिस्ट्रोय’को भयंकर अपरेशन बोकेर स्वर्गतिर लैजान्छ । कंहि हेलिकप्टरको आवाज घन्काउँदै आउँछ र मूठभेडमा बोलाएर लैजान्छ ।
पिता पूर्खाहरूले नहुने बेलामा गोरु ब्याउनसक्छ मात्रै भनेर गए, तर साँच्चै गोरु ब्याएको देख्न चाँहि पाएनन् । तर हामीले गोरुको प्रशव ब्यथामात्र हैन, त्यसको इतिश्री समेत चाख्न पायौं । प्रजातन्त्रको गर्भबाट सङ्कटकाल झर्नासाथ हामीले ‘अधिकार कटौती’ को बिगौती खायौं । आफ्नै दाजुभाइ मारेर उनीहरूले पाउने अंशलाई पनि बिगौती जत्तिकै ठानेर स्वाद मानीमानी हसुरिरहेका छौ । देशमा महंगी बढ्यो, हत्याआतंक चढ्यो, बेरोजगारी फैलियो भनेर ‘सङ्कट’ को घोषणा गर्ने प्रधानमन्त्रीजस्तो ‘पावरफूल पर्सन’ भेटेका छौं ।
फेरि ‘पावर’ मा ‘फूल’ जोडेर प्रधानमन्त्रीलाई मूर्ख भन्ने मेरो भित्री इच्छा पनि होइन । उहाँकै पालामा हामीले ज्यूँदैमा काललाई देख्न पायौं । उहाँकै कृपाले गोरु ब्याएको प्रत्यक्ष ‘अनुभव’ पनि गर्न सक्यौं । ‘अनुभव’ शब्दले फेरि हामी आफैं गोरु पो भएका हौं कि जस्तो हुनसक्छ ।
तर हामी गोरु ब्याएको देखेर यसको वैज्ञानिक तथ्य खोज्नपट्टी नलागेर गोरु ब्याएको हेरेर बसिरहेका हुनाले गोरु ब्याएको अनुभव गरेझैं नै भएन र ? नहेरेर पनि के गर्नु ! देशमा सङ्कट लाग्यो भनेर प्रजातन्त्र नै ‘काल’ को हातमा सुम्पने नाटकको रिहर्सल जो हुँदैछ । आफैं सिद्धिने नाटक हेरेर रमाइलो गरिरहनु पनि एक खालको गोरु ब्याएजस्तै त हो । कि कसो ?
Subscribe
Login
0 Comments
Oldest










































