साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भर्ना खुल्यो ! भर्ना खुल्यो ! !

Nepal Telecom ad

आउनुहोस् ! आउनुहोस् ! ! आउनुहोस् ! ! ! हाम्रो उच्च मा.वि.मा भर्ना लिनुहोस् ! ‘मौका आउँछ पर्खिदैन, बगेको खोला फर्किंदैन’, सिट सीमित छ आजै, अहिल्यै, तुरुन्तै सम्पर्क राख्नुहोस् । आवेदन फारम सकिनै लागेको छ, आफ्नोे प्रति चाँडै सुरक्षित गरिहाल्नुहोस् । ‘अरू बेला आउने माग्ने थाङ्ने, अहिले आउने देउसे भैले’ भने झैँ अरूको विज्ञापन हल्लाखल्ला रित्तो ओडार, उट्पट्याङ्ग— हाम्रो भनेको पक्का–पक्की । पैसो लिएर आउनुहोस्, भर्ना हुनुहोस्, पढ्नुहोस् र हाम्रो उच्च मा.वि.लाई आफै जाँच्नुहोस् !

हाम्रा आकर्षण तथा विशेषता अन्य प्लस टुको भन्दा बेग्लै किसिमका बिछाँटका छन् । आएर भर्ना भएर फरक छ्ट्याउनुहोस् । पढाई नै नाथेको निम्ति त जहाँ गए पनि हुन्छ, सरकारी कलेजमै गए पनि फरक पर्दैन तर हाम्रो जस्तो विशेष विशेषता र सुविधा कतै पाउनुहुने छैन । पक्का, विश्वास लागेन ? हेर्दै जानुहोस् दुई वर्ष लगानी गरेर हाम्रा सेवा–सुविधाको भोग गर्नुहोस् ।

हाम्रो प्लस टुबाट परीक्षा उत्तीर्ण गर्ने छात्रहरूलाई चर्चित अभिनेत्री र छात्राहरूलाई चर्चित अभिनेताको हातबाट प्रमाण–पत्र वितरण गरिनेछ । सबैभन्दा ढिलो पढाइ शुरु गरेर सबैभन्दा छिटो सिध्याउनु हाम्रो नौलो विशेषता हो । हाम्रो प्लस टुमा आएर पैसा रोपी भर्ना भएपछि सिट सुरक्षित भएको मानिने छ । त्यसपछि आरामले धान, कोदो, सुठुनी रोपिसकेर बिस्तारै पढ्न आए हुन्छ । पहिलो पटक एस. एल. सी. फेल हुनेहरूले पूरक परीक्षाको बक्यौतो बुझाएर भर्पाई लिएर नआएसम्म पढाइको काष्टिङ मात्र देखाइने छ । साँच्चैको खेल त्यसपछि मात्र शुरु हुनेछ ।

हाम्रो अर्काे विशेषता भनेको पानामा खोजिएका बलिया, नहर, फुर्तिला एकै दिनमा धेरै मेलो बढाउन सक्ने शिक्षकहरूको व्यवस्था हो । यिनै पानाका दक्ष, अनुभवी शिक्षकहरूको कारणले नै ढिलो शुरु भएको पढाइको सबैभन्दा पहिले मैझारो गरी दुई महिना अगावै विद्यार्थीहरूलाई फुर्सद दिइन्छ । पढाइको मेलोमा रहेका राँटा–राँटीलाई अतिरिक्त शुल्कमा कोचिङको लिँडुल्को दलेर अरूले हेर्दा नदेखिने गरी सम्याइने छ ।

हाम्रो तेस्रो विशेषता भनेको अङ्ग्रेजी, नेपाली दुवै माध्यममा पढाइ हुनु हो । पढाउने विषयको शीर्षक ब्ल्याकबोर्डमा अङ्ग्रेजीमा लेखी त्यसको व्याख्या नेपालीमा गरिने भएकाले दुवै माध्यममा पढाइ भएको हो । एउटै कक्षाका अतिरिक्त अन्य माध्यमभाषाको माग भइआएमा हाम्रो प्लस टुको सकारात्मक सोच रहनेछ ।

हाम्रो चौंथो आकर्षण भनेको विशिष्ट श्रेणीमा उत्तीर्ण भइआएका विद्यार्थीका निम्ति हाम्रो प्लस टुको तर्फबाट नास्ताको निम्ति दैनिक एक प्लेट भुटन–चिउरा, प्रथम श्रेणीमा उत्तीर्ण भई आउनेका निम्ति हाफ प्लेट आइँ–मोमो, द्वितीय श्रेणीका निम्ति हाफ प्लेट स्कुस मोमो र अन्यका निमित्त चाहिँ आफैं पैसा तिर्ने गरी कोकिस चियाको व्यवस्था मिलाइएको छ ।

पाँचौँ एट्रेक्सनमा हाम्रो प्लस टुको पारखी आँखामा पर्ने सुन्दर युवक र सुन्दरी युवतीका निम्ति विशेष व्यवस्था गरिएको छ । प्लस टु सुन्दरीलाई निःशुल्क भर्ना गरिनेछ र प्लस टु सुन्दरलाई अर्धशुल्क लिएर भर्ना गर्न दिइने छ । सुन्दर र सुन्दरीलाई सुङ्दै पछि लागेर हाम्रो प्लस टुमा आउने विद्यार्थीको जमातको निम्ति यो प्लस टु हार्दिक स्वागत गर्दछ, साथै धन्यवाद, साधुवाद आभार अर्पण गर्दछ । यस प्लस टुमा पाल्नुहुने सम्पूर्ण मुन्दे्र, कुण्डले, जुल्पे, झ्याम्ले, खोये, स्म्याके, भित्ती विद्यार्थीहरूलाई आफ्ना क्रियाकलाप स्वच्छन्द रूपमा सञ्चालन गर्न कुनै बाधा अवरोध गरिने छैन । सिट्ठी बजाउने, सुइ पार्ने, टेवल ठटाउनेजस्ता कार्यलाई सांस्कृतिक कार्यक्रम अन्तरर्गत समायोजन गरिने छ ।

हाम्रो प्लस टुमा पढ्दै गरेकी वा पढेकी छात्राको विवाहमा वजनदार दाइजोको व्यवस्था प्लस टुको तर्फबाट दिइने छ र छात्रलाई बधाइका साथसाथै आकर्षक उपहारको चाँजो मिलाइने छ । यत्ति मात्र होइन हाम्रा भूतपूर्व र अभूतपूर्व विद्यार्थीहरूको घरजम बसाउने क्रममा वर–वधु खोज्न सारो, गारो, अप्ठ्यारो परेमा यो प्लस टु दिलो ज्यानले सहयोग गर्न वचनबद्ध छ । लभद्वारा लाभ लिन खोज्ने विद्यार्थीका निम्ति हाम्रो प्लस टु अनुकूल भइदिने छ । चक्षुलाभ, स्पर्शलाभ चलचित्र लाभ, आलिङ्गन गर्ने छात्रछात्राहरूप्रति प्लस टुले आँखा चिम्लिदिएर परोक्ष रूपमा सहयोग गर्नेेछ ।

अन्य आकर्षणमा– टट्टी पिसापखानामा सिंगमरमर, बाथरूममा सिङ्गो शरीर देखिने ऐना, कक्षा कोठामा प्लास्टिक कार्पेट, प्लस टु प्रमुखको कोठामा गलैँचा, जो कोहीसँग कुम ठोक्काउँदै हिँड्न मिल्ने साँगुरो सिँडी भएको चारतले भवन, आदि हाम्रा थप सुविधा हुन् । तपाईं अभिभावक र विद्यार्थीहरूको यस्तै सहयोग र सरकारी नीति साविक रह्यो भने हाम्रो भवनको उचाइले धरहराको उचाइ नाघ्न र मोटाइले सिंहदरवारको मोटाइलाई उछिन्न धेरै समय पर्खिनु पर्दैन । सरकारी संस्था सिद्धिने र प्राइभेट निजी मौलाउने अहिलेको मौसम कायमै रह्यो भने सरकारी शिक्षालयहरूलाई एकादेशको कथा बनाउन हामी चाँडै सफल हुनेछौँ ।

विद्यार्थीको हितलाई ध्यानमा राखी परीक्षाका समयमा हाम्रो प्लस टुमा सम्बन्धित विषय–शिक्षकलाई गार्डको व्यवस्था गरिने सहर्ष जानकारी गराउँछौँ । अन्य विषयको निरीक्षक पर्न गएमा निजलाई परीक्षाहलको ढोकामा उभिएर बाहिरतर्फ फर्किएर पत्रिका पढ्न लगाइने भएको हुँदा परीक्षार्थीलाई कुनै प्रकारको लाज, सङ्कोच, धक नहुने, निर्वाध रूपमा परीक्षा लेख्ने व्यवस्था भएको अवगत गराउँछौँ । बूढो वृक्षको फल खिइदै गए झैँ बूढो त्रि.वि.बाट विद्यार्थीले पाउने अङ्क खिइदै गएको र नहर बोटमा ठूलो फल लागे झैँ प्लस टुमा भरी अङ्क वर्षिने कुरा पनि कसैबाट छिपेको छैन ।

हामी अरूजस्तो विज्ञापनको हल्ला गर्दैनौँ । यी त हाम्रा विशेषता हुन् । विज्ञापनको बिस्कुन किन लाउनु पर्यो र ! आँ गर्दा अलङ्कार तपार्इं आफैँ बुझे हुन्न र ! जत्ति नै पछारे पनि मयल निख्रिने होइन, कुरा यिनै हुन् कसो पो गर्ने र !
प्रिन्सिपल– लक्ष्मीदास
भाइस प्रिन्सिपल– द्रव्यदास
सम्पूर्ण दास परिवार
‘हाम्रो प्लस टु’

‘फित्कौली’ अङ्क २ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x