माणिकरत्न शाक्यनक्कली सालो
चावहिलको गोपीकृण्ण हलबाट बिहान ८ बजे माइक्रोबस चढेर कलङ्की पुगियो । कलङ्कीबाट धादिङको खानीखोला पुग्न जुन गाडी भेट्छु त्यसैमा चढ्यो, कार्यालय पुग्यो । यो हो मेरो जागिरे जिन्दगीको दैनिकी ।
एकदिन कलङ्कीबाट बस चढेर थानकोट छेउ मात्र के पुग्याँथेँ थानकोटबासीहरूले प्राधिकरणले लोडसेडिङ बढाएको निहुँमा चक्काजाम गरेका रैछन् । अब प¥यो फसाद ! १० बजे कुनै हालतमा कार्यालय पुग्नुपर्ने । चक्काजाम भएपछि कलङ्कीबाट चढेको बस छोडेर फटाफट हिँड्न थालेें । थानकोटदेखि नागढुंगाको बीचमा मात्र के पुग्याथेँ त्यहीबेला एउटा मोटरसाइकल आएको देखेँ, हात दिएको रोके । मैले भनेँ– खानीखोला जान लागेको यसो सहयोग पाउँछु कि भनेर हात दिएको भन्दै सफाइ दिएँ । लौ बस्नुस् त भन्दै मलाई पछाडि राखेर दौडाए । म वाणिज्य वैंक खानीखोलामा काम गर्छु, कार्यालय खोल्न जानुपर्ने ढिलो भएर तपाईसँग सहयोग मागेको भन्दै थप सफाई दिए ।
त्यही क्रममा उसले भन्यो– म सेनामा काम गर्छु, सरुवा भएर धदिङवेंसी जान लागेको । मेरो घर काभ्रे पनौतीको मल्पी स्कुलनिर पर्छ, मेरो नाम गणेश थापा हो भन्दै परिचय दिए । मैले पनि त्यही मौका छोपेर मेरो पनि पुख्र्यौली घर बनेपा हो, ससुराली पनौती हो, खोपासी जाने पुल छेउको घर हो भन्दै थप परिचय दिएँ । उसले त्यही मौका छोप्दै भन्यो– त्यसो भए त मैले तपाईंलाई भिनाजु भन्नु प¥यो नि त ! तपाईकै गाउँको चेलीबेटी मैले लगेसी तपाईंले भिनाजु भन्नै प¥यो नि ! मैले ठट्टा गर्दै भनेँ । एकछिन ऊ मज्जाले हाँस्यो । त्यसपछि उसले बोलेपिच्छे भिनाजु सम्बोधन गर्न थाल्यो । मोटरसाइकल आफ्नै गतिमा कुदिरहेको थियो । मेरो दिमागमा कहिले कार्यालय पुगुला जस्तो भइरहेको थियो । किनभने बेलामा कार्यालय नपुगे खानीखोलाका स्थानियहरूले मेरो टाउकोमा बाँकी कपाल पनि सिध्याउने भो भनेर म त्राहिमाम थिएँ ।
मैले पनि उसको कुरामा होमा हो मिलाउँदै गए । त्यसपछि मैले पनि तपाई त तीनतिरबाट साइनो पर्ने रहेछ भन्ने ध्वांस दिए । पहिलो जिल्लावासी, दोस्रो ससुरालीवासी, तेस्रो म सवैको भिनाजु । हाहाहाहा… । कुराकानीको सिलसिलामा भिनाजु मलाई साह्रै भोक लाग्यो, यता कतै खाने ठाउँ छ भने देखाइदिनु प¥यो भन्दै सहयोग मागे । मैले भने– मेरो कार्यालयको नजिक खुद्रे होटल छ, अर्डर दिएपछि बनाएर दिन्छ । त्यहीँ खानु अनि जानु भनेर सल्लाह दिएँ । घडीको सुइले ठीक १०.४५ को सङ्केत गर्दा खानीखोला कार्यालय पुगें । उसलाई पसल देखाइदिएँ । माथि मान्छे भीड लागीसक्यो होला म जान्छु भनी ऊसँग छट्टिएर बाटो तताएँ । नभन्दै मान्छे टन्न आएर बसेका रैछन् । सवै काम फत्ते गर्दा दिउँसोको ठीक १.३० बजेको होला, पसले साउनी माथि आएर पैसा दिनुप¥यो भनिन् । के को पैसा साउनी भन्दा अधि तपाईं चढेर आएको मोटरसाइकलवालाले टन्न खाजा खाएर गएको छ, भिनाजुले पैसा दिन्छ भनेर गयो । त्यही माग्न आएकी । साउनीको कुरा सुनेर म दङ्ग मात्र होइन महादङ्ग परेँ । मैले त ऊसँग सहयोग मात्र मागेको थिएँ भुँडी फुट्ने गरी खाएर मरेछ बजियाले भन्दै रुन्चे हाँसो हाँसेर साहुनीको रु.५००÷ दिएँ । कार्यालयभरि यही कुराले सनसनी फैलियो । साउनी पनि मेरो कुरा सुनेर मुख च्यातेको च्यातै । नहाँस्ने कोही भएन ।
मैले बेलुका घर पुगेपछि घरकीलाई तेरो माइती गाउँको भाइले आज यसो पो ग¥यो भनेर माथिको घटना सुनाउँदा ऊ पनि हाँसेर मुख बाएको बायै । मान्छेले मौकाको फाइदा उठाउन जानेको देखेर म अचम्ममा परेको छु । होशियार ! मैले जस्तै तपाईहरू पनि बाटोमा हिँड्दा नक्कली सालोको फेला पर्नुहोला नि !
सरस्वतीनगर, चावहिल
Subscribe
Login
0 Comments
Oldest







































