साइबर अपराध सम्बन्धी सचेतना सामग्री

च्याउको जङ्गल

Nepal Telecom ad

यही झन्डाबाट उखेल्छु घन
र फुटाउँछु आफ्नै निधारको चट्टान !
यही झन्डाबाट निकाल्छु हँसिया
र भत्काउँछु आफ्नै विचारको पर्खाल !

हतियार र औजारले पिटीपिटी
प्वाल पार्छु मस्तिष्कमा र बनाउँछु रोटी !
त्यही रोटीको गोलाकार सुरुङबाट बाहिर निस्केर
म उड्छु अब यो नीलो आकाशमा !

तिमीहरूले
चामलको दानामा लेखेछौ मेरो इतिहास !
सागको पातमा लेखेछौ मेरा गीतहरू !
मेरै विचारलाई सिक्री बनाएर
पशुको तबेलामा बाँधेछौ मलाई !
मेरै हड्डीलाई मुरली बनाएर
आवाजको विपक्षमा बजाएछौ मलाई !

म गर्छु अब समुद्र मन्थन
र पिउँछु हलाहल विष !
म खोस्छु कृष्णको हातबाट मुरली
र उठाउँछु सुमेरु पर्वत !
विष्णुलाई जमिनमा ओरालेर
म चढ्छु अब गरुडमाथि !
महादेवको घाँटीबाट निकालेर
म लाउँछु अब सर्पको मफलर !

मरुभूमिमा
पसिनाले बालुवा मुछेर खाएको छु मैले !
आफ्नै रगतको घुट्काले भिजाएको छु घाँटी !
बाँस चपाउँदै टुकीको सलेदो चुसेर बाँचेको छु म !
मेरो खप्परभित्र केही छैन— विचारशून्य छु म !
यो च्याउको जङ्गलभित्र
एउटा निर्जीव भीडको विपक्षमा उभिएर
उखेल्छु आफ्नै टाउको
र भुइँभरि टकटक्याइदिन्छु !

केही बिस्कुटका खोल
रोटीका टुक्रा, चप्पलको फित्ता
मृत उडुस र पुत्लीकिराहरू
खस्छन् मेरो मस्तिष्कबाट !

यति रित्तो बनेछु म
कि यो विचारशून्यता नै मेरो शक्ति हो !
यही विचारशून्यताको हतियारले
म अब आक्रमण गर्छु
र जलाउँछु तिम्रो विचारको लङ्का !

के थाहा तिमीहरूलाई—
मभित्र कसरी उम्लिरहेको छ खरानी ?
के थाहा तिमीहरूलाई—
म किन निदाउन सक्दिनँ रातभरि ?

युद्धमा मरेका केटाकेटीहरू
उखुको राइफल बोकेर लखेट्छन् मलाई
म तिम्रो तस्विरपछाडि लुकेर सास फेर्छु !
तरबारमा झुन्डिएका टाउकाहरू
गीत गाउँदै लखेट्छन् मलाई !
खरानीबाट उठेर क्षतविक्षत कङ्कालहरू
आफ्नो जीवनको मूल्य माग्दै लखेट्छन् मलाई !
म झन्डाले मुख छोपेर आँसु पुछ्छु !

संसार बदल्न हिंडेको म
अब आफैं बदलिएँ !
यो च्याउको जङ्गलभित्र
रिँगटा लागिरहेको छ मलाई !
यो मेसिनको शरीरभित्र
तरङ्गिदै छ जीवनको कम्पन !
म तिम्रा आदेशहरूलाई अस्वीकार गर्छु—
अब मान्छेको लासमा घोटेर
खुकुरीमा धार लगाउन चाहन्नँ म !
अब मान्छेको रगतको मूल्यमा
आफैंलाई गुमाउन चाहन्नँ म !

यही झन्डाबाट उखेल्छु घन
र फुटाउँछु आफ्नै निधारको चट्टान !
यही झन्डाबाट निकाल्छु हँसिया
र भत्काउँछु आफ्नै विचारको पर्खाल !
हतियार र औजारले पिटीपिटी
प्वाल पार्छु मस्तिष्कमा र बनाउँछु रोटी !
त्यही रोटीको गोलाकार सुरुङबाट बाहिर निस्केर
म उड्छु अब यो नीलो आकाशमा !!

काठमाडौं
(यो कवितासमेत सङ्गृहित ढकालको कवितासङ्ग्रह ‘च्याउको जङ्गल’ गत वैशाख १ गते बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा सार्वजनिक गरियो ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
बाबाको सपना

बाबाको सपना

डा. विप्लव ढकाल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x