बद्रीप्रसाद दाहाल ‘भस्मासुर’सत्ता ! सत्ता ! ! सत्ता ! ! !
‘सत्ता’ नै ब्रह्म हाम्रो, परमपद दिने, ध्यान गर्नै नपर्ने
‘सत्ता’ नै सत्य हाम्रो, झुर–असुर हुँदा, आततायी नबन्ने
‘सत्ता’ भत्ता र जत्था, धन–जन बटुली, शान थप्ने प्रताप
‘सत्ता’ नै भोट लुट्ने, प्रतिकुल मतमा, पार्न सक्ने प्रभाव ।।१।।
‘सत्ता’ नै दुष्ट चर्का, डन–उपडनका, ओत वा कोत ठूलो
व्यापारी–घूसखोरी, कमिसन–दलका, स्नेह–श्रद्धा रसिलो
‘सत्ता’ मै प्राप्त हुन्छन्, रुबल–डलरका, चाङका चाङ सारा
‘सत्ता’स्वामी पगाल्ने, जन–दमन गरी, बन्दछौं राष्ट्र–मारा ।।२।।
नाराका जादु पस्की, जन–मन हु‘डली, ढॉटको ऑट छर्दै
धर्ती–आकाश जोड्ने, कलुसित मनले, क्रान्तिको भ्रान्ति भर्दै
सालासाली सहेली, परिजनभरि नै, गूट–नेतृत्व ल्याई
आफ्नै सन्तान–नाता, अनुचर–जनले राज गर्छौं रमाई ।।३।।
सत्ता नै ‘भुक्ति’ हाम्रो, अभिजनजतिको, मोज नै ‘मुक्ति’ हाम्रो
नारा हो सर्बहारा, तर श्रमिकहरूमा, गर्न मिल्दैन राम्रो
सत्ता नै साध्य हाम्रो, बम–गन–डन हुन्, कुर्सी पुग्ने भ¥याङ
हाम्रा चर्का विरोधी, जनमत जति छन्, हुन्छ एकै चिहान ।।४।।
हिंसाकै मन्त्र जप्छौं, मगज र दिलमा, सर्बसत्ता चढाई
बोलीले लोकतन्त्री, भ्रम छरी, अरुमा, स्वाङ पार्छौं बढाई
सत्ता हो सत्य हाम्रो, अरु सब गफ हुन्, घोषणा स्यालहुय्या
हाम्रा वैरी निमोठ्छौं, बम गन बलमा, कोश पारेर ऐय्या ।।५।
धादिङबेँसी
Subscribe
Login
0 Comments
Oldest







































