साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घोषित पर्व

Nepal Telecom ad

घोषित पर्वहरूको त के कुरो गरिरहनु र ! दशंैको बारेमा तपाईंलाई केही भनिरहनु पर्दैन । तिहारको विषयमा पनि यहाँले नजानेको केही छैन । शहीद दिवस र कण्डम दिवस जस्ता पर्वको बारेमा पनि कुरो गरिरहनु नपर्ला ।

ती दिनमा तपाईंले पनि कति पटक सहिदको अनुहारमा अबिर दली दिनुभएको होला ! नाकमुनिकै मुखबाट कण्डम फुलाएर रमाइलो पनि गर्नुभएकै हो क्यारे ! मैले कुरो गर्न खोजेको यस्ता सरकारी पर्वको बारेमा हुँदै होइन । त्यसो भए माओवादीले घटाएका ‘अछाम पर्वको’ कुरो हो कि ! शाही सेनाले सताएको ‘तेह्रथुम पर्व’ पनि हुन सक्छ ! आदि–इत्यादि अड्कल लगाउँदै तपाइँको समय जान सक्दछ । मैले दुःख गरेर लेख्नु, तपाइँले चाहिँ लेख लामो रहेछ भनेर नपढ्नुभयो भने बित्यासै पर्छ । त्यसैले कुरो शुरु गरी हालौं– मैले गर्न खोजको पर्व हो –‘नेपालबन्द ।’

यही कुरो मेरो मःम पार्टनर खप्परध्वजलाई सुनाएको थिएँ– ‘यार, यो नेपालबन्द पर्व त जहिले आए पनि हुन्थ्यो हगि ?’ मेरो कुरा सुनेर उसले झन्डै सातो खाएको थियो– ‘तँलाई चाहिँ रमाइलो होला नि ! उहाँ कति मान्छेको मृत्यु हुन्छ थाहा छ ?’ मैले जवाफमा भनें– ‘चाडबाडमा मृत्यु त हुन्छ नि । जस्तो दशैंमा राँगा–खसीहरूको मृत्यु हुन्छ, त्यो चाहिँ सोचेको छस् ?’

‘नेपालबन्दका बेला कति मान्छेको कमाई खोसिन्छ ?’ उसले सोध्यो ।

‘त्यस्तै हो नि, चाडबाडमा रोजीरोटी खोसिनु त सामान्य हो ।’ मैले थपेँ । मलाई राताराता आँखाले हेर्दै उसले सोध्यो– ‘चाडबाडमा त कसैको रोेजीरोटी खोसिँदैन नि ।’ मैले हाँस्दै भनेँ– ‘बरु नेपालबन्दमा त एक दिन वा दुई दिन मात्रै काम रोकिन्छ तर, दशैं–तिहारमा त अरुको देखासिखी गर्ने हुँदा वर्षौंको खाने अन्न पनि रित्तिने गर्दछ ।’

‘लाठी र ढुङ्गाले हानाहान गरेर मान्छेका टाउका फुट्ने गर्दछन । यस्तो नेपालबन्दलाई तिमी कसरी चाड भन्छौ ?’ खप्परध्वजले सोध्यो । ‘भक्तपुरको ढुङ्गा हान्ने जात्रा पनि त यस्तै हुन्छ नि ।’ मैले तर्क राखेंँ । ‘तर, चाडबाडमा नेपालबन्दको जस्तो घरका सिसाहरू फुटाइँदैनन् थाहा छ !’ खप्परध्वजले भन्यो । ‘किन नफुटाउनु, उहाँ हाम्रो टोलमा तिहारको बेला बर्षैपिच्छे कतिवटा घरका सिसा फुट्ने गर्छन्, तिमीले देखेका हैनौं होला ?’

नयाँ भएर । नयाँ सीसा लगाएका घरमा थोरै दक्षिणा दियो भने देउसेहरूले सिसा फुटाउने गर्दछन् ।’ यसरी लामो गा“ड कोराकोरपछि खप्परध्वजलाई पूरै विश्वास भयोे र भन्यो– ‘हो बा, नेपालबन्द पनि साँच्चिकै रमाइलो पर्व रहेछ ।’

तपाइँ पनि माने मान्नोस्, नमाने पनि ठीकै छ । तर, मचाहिँ प्रष्ट छु कि नेपालका अन्य चाडबाडहरू र नेपालबन्द बीच रमाइलो मेल छ । जस्तो तिहारको बेला हामीहरू रमाइलो गर्न देउसी र पिङ खेल्ने गर्छौं भने, नेपालबन्दको दिन युवाहरू बीचसडकमा चुङ्गी र स्केटिङ खेल्ने गर्दछन् । यता कहिल्यै माइती जान नपाएकी चेली नेपालबन्दको दिनचाहिँ जसरी भए पनि माइत जान भ्याउने गर्दछिन्– जुन तिजबाहेक माइत जाने अर्को चाड हो ।

शिवरात्रीमा मानिसहरू गाँजा र भाङ खाने गर्दछन्, यता नेपालबन्दको दिन पनि अधिकांश कर्मचारीहरू सोही शैली अपनाउने गर्दछन् । जर्बजस्ती गाडी चलाउनेलाई बन्दकारीहरूले रोकेर पञ्चर गराउनेदेखि कालो मोसो लगाउने कार्यले फागु पूर्णिमालाई सजिलै बिर्साइदिन्छ ।

जसरी जाउलाखेलमा भोटो हेर्नेहरूको भीड लाग्ने गर्दछ, अथवा जति दर्शकहरू घोडेजात्रा हेर्न टुँडिखेल वरिपरि झुम्मिन्छन्– त्यति मात्रामा गाडी चलाउन नदिएर ठेल्दै लैजाँदाको दृश्य हेर्नेहरूको धुइरोले भोटोजात्रा र घोडेजात्राको सम्पूर्ण मनोरञ्जन एउटै नेपालबन्दबाट लिन सकिन्छ ।
राजाको जन्मोत्सवमा परिचालित हुने प्रहरीशक्ति र नेपालबन्दमा सञ्चालित हुने सुरक्षाशक्तिमा उतिसाह्रै अन्तर छैन । नेपालबन्दको दिनलाई बाबु वा आमाको मुख हेर्ने दिन झंै लाग्दछ । कहिल्यै नदेखिएका दङ्गा प्रहरी र सशस्त्रसेनाहरू देख्दा केटाकेटी त के, बूढाबूढी पनि पनि दङ्ग पर्दै आनन्द मान्ने गर्दछन्– जस्तो बाबु वा आमाको अनुहार हेर्दा आनन्द हुने गर्दछ ।

बिहे पनि एउटा पर्व नै हो । नेपालबन्द कैलेकाहिँ विहेजस्तो पनि हुने गर्दछ । एकपटक के भयो भने– मैले चिनेकी एउटी बहिनी मेरो घरमा नेपालबन्दको दिन आइपुगिन् । उनको सिउँदोमा सिन्दुर देखिन्थ्यो । मैले छक्क पर्दै सोधें– ‘हैन कैले बिहे ग¥यौ तिम्ले ?’ उनले लजाउँदै भनिन्– ‘छ्या हौ, यो दाजु पनि खाली जिस्किनुहुन्छ ? कहाँ मैले बिहे गरेकी छु र !’ म झन् छक्क परें– ‘कतै अभिनन्दन खाएर आएकी हौ त ?’

मेरो दोस्रो प्रश्नपछि उनी ऐना अगाडि आइन् र अनुहार हेरिन् । कुरो के पत्ता लाग्यो भने, उनी पनि जुलुसमा हिँडेकी रहिछिन्, पुलिसले डण्ठा लगाएछ । जिउ जोगाउने क्रममा टाउकाबाट सिउँदो हुँदै रगत बगेको थाहै पाइनछिन् । टुटुल्को मात्रै होला भन्ठानेर मेरो घरसम्म आइपुग्दा रगत जमेर सिन्दुरजस्तो देखिएको पो रहेछ !

यस्ता धेरै रमाइला अनुभवहरू छन् नेपालबन्दका । मलाई त यस्तो लाग्छ– नेपालबन्द एउटा अघोषित राष्ट्रिय चाड हो । परम्पराहरू भुल्दै गएको यस्तो समयमा नेपालबन्द जस्ता बहु–मनोरञ्जक चाडहरूको हामीलाई अत्यावश्यक छ । त्यसकारण हामी सवैले बेला–बेलामा आउने नेपालबन्दलाई स्वागत स्वागत गर्नु पर्दछ ।
अँ, बरु यसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनका लागि सरकारलाई दवाबको पो दिने हो कि ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x