लक्ष्मण गाम्नागेअहस्तक्षेपको सिद्धान्त
तपाई नेपाली महामहिम नेता भाइहरूको बटालियनलाई हाम्रो महान् प्रजातन्त्रवादी देश भारतको राजधानी नयाँ दिल्लीमा आयोजित यो भव्य कक्टेल पार्टीमा हार्दिक स्वागत अभिवादन गर्दछौँ । हामीले तपार्ईं विभिन्न दलका नेताहरूलाई पालैपालो गरी नेपाल र भारतका बीचको परम्परागत मैत्री सम्बन्धलाई अझ सुदृढ र सुमधुर बनाउने उद्देश्यले यहाँ निम्ता गर्ने गरेको कुरा तपाईंहरूलाई थाहै छ ।
कक्टेल पार्टीमा हामी कसैलाई मात लाग्नु अघिनै हामी यो कुरा प्रष्ट पार्न चाहन्छौँ कि नेपालको कुनै पनि आन्तरिक मामिलामा भारतले कहिल्यै पनि हस्तक्षेप गर्ने छैन । नेपालका सबै प्रकारका समस्याहरूको समाधान गर्ने जिम्मा त्यहीँका जनताको सार्वभौम अधिकारको कुरा हो । भारत अहस्तक्षेपको सिद्धान्तमा दृढ छ ।
हामी के भन्न चाहन्छाँै भने तपाईंहरू जसरी पनि मङ्सिरमा संविधान सभाको चुनाव गराउनुस् । चुनाव मङ्सिरभन्दा उता नसार्नुस् । संक्रमणकाल लम्बिनु राम्रो होइन । ‘एट एनी कस्ट’ चुनाव मङ्सिरमा हुनैपर्छ । नेपालमा वाइसिएल नामको समूह सक्रिय भैरहेको कुरा आएको छ । त्यसलाई तुरुन्तै ठीकमा ल्याउनुस् । त्यसलाई मात्रै होइन काँग्रेस र एमाले मिलेर माओवादीलाई पनि ठेगान लगाउनुस् । सुध्रिएन भने त्यसलाई राष्ट्रिय राजनीतिबाट ऊ गर्दिनुस् । जसरी पनि चुनाव मङ्सिरमै गर्नुस् नि !
नेपालको राजनीतिक समस्या तपाईंहरू आफैँ सुल्झाउनुस्, यसमा भारतले कुनै प्रकारको भूमिका खेल्ने छैन । भारत अहस्तक्षेपको सिद्धान्तमा दृढ छ ।
राजालाई जोगाउन हामीले पनि भरमग्दुर प्रयाश नगरेको होइन, तर राजा आफैं भिरमा गएका हुन् । भिरमा जाने गोरुलाई राम राम बाहेक के भन्न सकिन्छ र ! काँग्रेस र एमाले मिलेर काम गर्नुस् । दुवै काँग्रेसहरू तुरुन्तै पार्टी एकता गर्नुस् । राजालाई चुनाव अघि नहटाउनुस् । संविधान सभा पछिको पहिलो बैठकले जे निर्णय गर्छ गर्छ । राजाको विषयमा त्यहीँ टुङ्गो लाग्छ ।
नेपालको आन्तरिक मामिलाका विषयमा हामीले केही भन्न मिल्दैन, त्यो तपार्ईँहरू आफैँले समाधान गर्नुपर्छ । भारत अहस्तक्षेपको सिद्धान्तमा दृढ छ ।
पख्नुस्, पख्नुस् ! शरणार्थी समस्याका बारेमा पछि कुरा गरौँला । बरु तराई विद्रोहको उपयुक्त निकास तुरुन्त निकाल्न हामी तपाईंहरूलाई निर्देशन… आच्या… सुझाव दिन चाहन्छौँ । तराई आन्दोलनमा भारतको भूमिका रहेको सम्बन्धमा तपाईंहरूमध्ये कसैले केही कुरा गर्नुभएको होला जस्तो हामीलाई लाग्दैन । यदि त्यस्तो बोल्नुभएको हो भने आफ्नो भनाइप्रति पुनर्विचार गर्नु राम्रो हुनेछ । सेनाको भूमिका सन्तोषजनकै छ । प्रधानसेनापतिलाई अहिले नचलाउनुस् । सरकारको प्रवक्ता बदल्नुस् । सञ्चार लगायत कतिपय मन्त्रालयका काम कार्वाहीमा प्रधानमन्त्रीलाई चनाखो रहन भन्नुस्् । संविधानमा पटकपटक संशोधन गर्न छाड्नुस् ।
नेपालका आन्तरिक समस्याहरू नेपालले नै सुल्झाउनु पर्छ । यसमा हामी बोल्न चाहन्नौ । स्वतन्त्र र सार्वभौम राष्ट्रको रुपमा हामी नेपाललाई अत्यन्तै सम्मान गर्छौँ । तपाईंहरू ढुक्क हुनुहोस्, भारत अहस्तक्षेपको सिद्धान्तमा दृढ छ ।
यति भन्दै हामी सबै नेतागणलाई सामूहिक रुपमा कक्टेल पार्टी उद्घाटन गर्न अनुरोध गर्दछौँ । चियर्स !
‘ॐ स्वाहा !’ २०६४ बाट
Subscribe
Login
0 Comments
Oldest







































