गोविन्द वर्तमानसमय–साक्षात्कार
मौद्रिक समयको आहालबाट उठेर
टक्टक्याउँदै रंगीन भ्रमका पानाहरू
निस्पन्द मानिसहरूको भिडसमक्ष
शब्दका आँसुहरू खसालेर घन्टौँसम्म
जब आएँ सहरमा
मेरो प्रतिवादमा निभे सहरका बत्तीहरू
मुस्कान मर्यो मित्रहरूका ओेठबाट
आफ्नै इच्छाहरूबाट थाकेर
मनका गोडाहरू गले
जब मसँग मेरो शरीर सिवाय थिएन
यसरी प्रस्तुत भयो
मसमक्ष
मेरो राजनीतिक स्वतन्त्रता ।
दिनहरूको आयतनभरि
हल्लिन थाले हर मुभीका दृश्यहरू
बालुवाका पहाडबाट
मानिसको रगत सुरेली खेल्दै सुक्यो
हिसाब दुरुस्त गर्न नाफा–नोक्सानको
खप्परभित्र मानिसहरू
गिदी झिकेर भर्न थाले क्यालकुलेटरहरू
सम्बन्धहरूको सामीप्य
र नाताहरूको निकटता
कम्प्युटरको सूचनामा आधारित भयो
नोटहरूले दिन थाले
सफलताका प्रमाण
जब मसँग मेरो शरीर सिवाय थिएन
यसरी प्रस्तुत भयो
मसमक्ष
मेरो राजनीतिक स्वतन्त्रता ।
यन्त्रनदी वेगसँग बग्न थाल्यो राजमार्गमा
सँगसँगै दौडिन थाले चुनावका नाराहरू
भोकको अनुहार प्रफुल्ल भयो
रातका आकाशमा टाँगिन थाले
काला सर्पका राता जिब्राहरू
टुथब्रसको भाउ एक्कासि बढ्यो
र हाम्रा दाँतहरू पहेँला भए
आयातीत बन्दुकविरुद्ध
यथावत् छन् हाम्रा नङ हामीसित
तिनै भए हाम्रा हतियार
यसरी यो भयावह भुइँमा
हाम्रा सपनाका भग्नावशेषहरू
प्रजातन्त्रका गहनाहरू भए
जब मसँग मेरो शरीर सिवाय थिएन
यसरी प्रस्तुत भयो
मसमक्ष
मैले पाएको राजनीतिक स्वतन्त्रता ।
दिनका उज्यालोमा न्यायको लास बोकेर
केही ठालुहरू विदेशतिर गए
दिनको उज्यालोमा मैनबत्ती बालेर
केही नागरिकहरू अदालततिर गए
जब सबै बाटो छेकियो मेरो निम्ति
हातको कलम लिएर म आएँ मेरो सहरमा
जब आएँ सहरमा
मतिर आए केही साहुजीका प्रश्नहरू
केही हाकिमका प्रश्नहरू
केही पुलिसका प्रश्नहरू
केही पार्टीका प्रश्नहरू
केही संविधानका प्रश्नहरू
प्रश्नहरूका माझमा जब मैले
गोड्न खोजेँ स्वाभिमानका गराहरू
मृत अवस्थामा प्रस्तुत भयो
मैले पाएको राजनीतिक स्वतन्त्रता ।
‘कलम’ पूर्णाङ्क ६, २०५१ बाट
Subscribe
Login
0 Comments
Oldest







































