फित्काैली डटकमआधुनिक जोगी
गत केही समयदेखि उसको घरमा नौला मान्छेहरूको चहलपहल ह्वात्तै बढेको थियो । ती को हुन् र किन आउँछन् भन्ने बारेमा उसले कुनै चासो राखेको थिएन । उसलाई यत्ति थाह थियो कि उनीहरू उसको घरका पाहुना थिएनन् । किन कि उनीहरूले उसको लागि कहिल्यै बिस्कुट मिठाई ल्याएनन् न त विद्यालयमा खाजासाजा खान गोडा दशेक रुपियाँ नै हातमा हालिदिए ।
उनीहरू कहिले जोडीमा त कहिले समूहमा आउँथे र उसको बुबाको कार्यकक्षमा घण्टौंसम्म ढोका थुनेर बस्थे । कहिलेकाहीँ बुबाको कोठा वरपरबाट ओहरदोहर गर्दा उसले त्यहाँ पैसाको हिसाब किताब गरिएको भान पाउँथ्यो र ऊ अनुमान लगाउँथ्यो यी आगन्तुकहरू उसको बुबा जस्तै व्यापारी होलान् । कुनैबेला ऊ कोठामा चर्काचर्की सुन्थ्यो र फेरि अनुमान लगाउँथ्यो कि उनीहरू जुवाडे होलान् जो उसको बुबालाई जुवा खेल्न जवरजस्ती गरिरहेछन् । एक दिन भित्र बहस भैरहँदा उसले के सोच्यो कुन्नि खेल्दा खेल्दै ऊ टक्क अडियो, कान थापेर सुन्यो अनि दगुर्दै भर्याङमुनिबाट एउटा फलामे रड लिएर बुबाको ढोका बाहिर थरथर काँप्दै उभिइ रह्यो ।
उसलाई झस्काउँदै एक्कासि ढोका खुल्यो र हातको रड खिन्द्रिङङ भुईंमा खस्यो । तर ऊ भने हाड र छालाको मूर्ति भएर त्यहिँ अडियो । उसलाई काँचै चपाउँला झैं हेर्दै आगन्तुकहरू बाहिरिए र बाटोको धुलो पछिल्तिर बिलाए ।
धेरै दिनपछि उनीहरू मध्येको एउटा मरन्च्याँसे बुबालाई भेट्न आयो । बबुरोले ढोकाबाट उसलाई तालुदेखि पैतलासम्म हेर्यो र मुसुक्क हाँस्यो । सायद उसले सोच्यो– आज हड्डी एक्लै छ यसले बुबालाई केही गर्यो भने म भर्याङ् मुनिको रड यसको ढाडमा घोपि दिन्छु ।
तर मरन्च्याँसेको रवैया आज फरक थियो । उसले हाँसेर बुबालाई नमस्कार गर्यो ।
बुबाले प्रत्युत्तरमा शिर हल्लाउनु भयो र उसलाई बसौँ पनि नभनी खल्तीबाट हात्तीछाप कागज निकालेर गन्नुभयो– एक, दुई, तीन, चार, पाँच ।
पाँचै हात्तीलाई निर्ममतापूर्वक मुठीमा कचक्क पारेर बुबाले तिनलाई उसको खल्तीमा जाकिदिनु भयो । उसले बुबालाई एकोहोरो हेरिरह्यो । बुबाले उसलाई हेर्दै नहेरी भन्नुभयो, “जाऊ मलाई तिमीले यसको रसिद ससिद दिनु पर्दैन ।”
उसको अनुहारमा अनौठो चमक आयो । मानौं उसले ठूलो रकमको चिठ्ठा पार्यो । ऊ फरक्क फर्केर सरासर गयो ।
उसको ढाडमा भर्याङ् मुनिको रड घोप्ने केटाको ईच्छाले मूर्तरुप लिन पाएन अथवा भनौं एउटा बालक बदलाको आडमा अपराधी बन्नबाट जोगियो ।
अहिले बालक जिज्ञासु केटा भएको छ । उसले बिगत स्मरण गर्दै बुबालाई सोध्यो, “बुबा, अस्तिनै हाम्रो घरमा आएर हजुरसँग झगडा गर्ने अनि पैसा लाने मान्छे को हुन् नि ?” बुबाले दङ्ग पर्दै भन्नुभयो, “उनीहरू जोगी हुन्, बाबु ।”
“अँ होला जोगी ! जोगीले कस्तो कपडा लगाउँछ, माला, चप्पल कस्तो हुन्छ, हातमा के के लिन्छ अनि भिक्षा कसरी माग्छ, मलाई थाह छैन र !”
छोराको काँधमा हात राख्दै बुबाले भन्नु भयो, “यी आधुनिक जोगी हुन्, छोरा । यिनीहरू शहरमा बस्छन्, ऐस आराम गर्छन्, बन्द–हड्ताल– तालाबन्दी –चक्काजाम गरेर भिक्षा माग्छन् । अलि बढी आधुनिकहरूले त तोडफोड र आगजनी समेत गर्छन् ।”
छोराले ट्वाँ परेर बुबालाई हेरिरह्यो ।
“अझै उत्तराधुनिक जोगीहरू त पेस्तोल देखाएर भिक्षा माग्छन् !” बुबाले भन्नुभयो, “अनि हामी एउटा सिमामा नघटी स्वेच्छिक भिख् दिन्छौँ ।”
Subscribe
Login
0 Comments
Oldest






































