साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माननीय भिनाजुलाई चिट्ठी

Nepal Telecom ad

माननीय भिनाजु, ढोग गरेँ ।

तपाईंलगायत सबै माननीय सभासद्हरूले आफ्नो निर्वाचन क्षेत्रमा आफ्नै तजबिजमा खर्च गर्न पाउने गरी वर्षको पाँच करोड रुपियाँ पाउनैपर्छ भनेर गरेको माग र लिएको अड्डीप्रति म, दिदीलगायत सबै आफन्तजनको पूर्ण समर्थन छ । त्यसमाथि भन्सार छुटको गाडी प्राप्त गर्न भिनाजुहरूले लड्डी गर्न थालेको कुराले हामीलाई झन् हौस्याएको छ । तपाईंहरू कसै गरी पछि नहट्नु होला । काम गर्ने बेलामा टोकाटोक गरे पनि खाने बेलामा बोकाबोक गर्ने परम्परा कायम राख्नुहोला ।

तपाईंहरूको माग अत्यन्तै समयसापेक्ष र सही छ । पैसो नभई दुनियाँमा केही हुँदैन । भिनाजुहरूले त्यत्रोबिघ्न धेरै रकम मागेको पनि होइन । चुनाव क्षेत्रमा खाइपाइ आएको दस लाखभन्दा पचासै गुना बढी त हो । माननीयजस्ता विशिष्ट व्यक्तित्वले राष्ट्रिय ढुकुटीबाट त्यति नाथे पैसा माग्दा दुनियाँले किन डाह गर्नु ! सञ्चार माध्यमहरूले किन खोइरो खन्नु ! कौवाहरूको काम कराउने हो, कराउँदै गर्छन्, नछाड्नू है भिनाजु नछाड्नू !

त्यो जिविस वा गाविसमार्फत पैसा आउने कुरामा नमान्नू । आफङ्खनै हातमा पाँच करोड रुपियाँको बिटो नपरुन्जेल घेराउ, धर्नादेखि संविधानसभालाई ठप्प पार्ने वा बजेट ल्याउनै नदिनेसम्मका कर्म गर्नुहोला । हामी तपाईंहरूका नातागोता, कार्यकर्ता यहाँ तल मुख बाएर बसेका छौँ । रकम लिएर आउनुहोला अनि हेर्नुहोला, देशको विकास कसरी हुन्छ ? कति छिटो नयाँ नेपाल बन्छ । खासमा नेपाल बन्न बाँकी रहेकै भिनाजुहरूले मागेजति पैसा सरकारले नदिएकाले हो । त्यसैले सकेसम्म पाँचै करोड, नभए पनि बार्गेनिङ् गरेर जति सकिन्छ, धेरै पैसो च्यापेर आउनुहोला ।

हेर्नूस् भिनाजु, खल्तीमा पाँच करोड भएपछि तपाईंहरूले योजना आयोग र अर्थमन्त्रीका पछि पछि लाग्नु पर्दैन । चुनावका बेला कालोबजारयिा र तस्करहरूको पुच्छर लागेर चन्दा मागिराख्नु पर्दैन। हामीजस्ता साला, भाइ, भतिजा, ज्वाइँ, भान्जादेखि कार्यकर्ताको लस्करलाई पछिपछि लगाउन पाइन्छ । आफ्नै खल्तीमा वर्षैपिच्छे पाँच–पाँच करोडका कटकटिया नोट भएपछि मनमा अनेक कुविचार पनि ल्याउनु पर्दैन । जस्तै– रातो पासपोर्ट बेच्ने, घूस खाने, ठगीसगी गर्ने इत्यादि । मुख्य कुरा आफ्नो क्षेत्रमा विकासका धरापहरू थापेर त्यसलाई अर्कोपल्ट पूरा गर्छु भन्दै भोट माग्दै आजीवन चुनाव जितिरहन सकिन्छ । कुनै माइकेलालले तपाईंलाई हराउन सक्ने छैन। तपाईंको जागिर स्थायी हुनेछ ।

पैसा कसरी खर्च गर्ने भन्ने पनि हामीले योजना बनाइसक्या छौँ । एक ठाउँमा एक ट्रक ढुंगा, अर्को ठाउँमा एक ट्रयाक्टर बालुवा, स्कुलको एक कोठा, अस्पतालमा एउटा बेड, सडकमा ग्राभेल एक किलोमिटर, सिँचाइको सर्वेक्षण, केही मन्दिर शिलान्यास, खेलकुद क्लब गठन, अन्तर कलेज हाजिरजवाफ, वक्तृत्वकला, भजन प्रतियोगिता इत्यादिका योजना तयार भएका छन् ।

पाँच करोड खर्च गर्ने संयन्त्रको कुनै खाँचो छैन भिनाजु । माननीय सभासद् स्वयंमा एउटा संयन्त्र हो भन्नुहोला । गोप्य संयन्त्र हामीले बनाइसकेका छौँ । त्यसमा तपाईंलाई संरक्षक, दिदीलाई संयोजक, तपाईंका कान्छा ज्वाइँलाई सह–संयोजक बनाएका छौँ । कोषाध्यक्षमा म सर्वमान्य छँदै छु ।

अन्त्यमा एउटा सानो चेतावनी । भन्सार छुटको गाडीमा राखेर पाँच करोड रुपियाँ नलिई आउनुभो भने दिदीले घरमा छिर्न नदिने निर्णय गरेको कुरा पनि चिट्ठीमा लेख् भन्नुभएको छ । आजलाई बिदा । प्रणाम !

‘नेपाल’ साप्ताहिक

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x