फित्काैली डटकमभतुवाहरूको चुरीफुरी
सत्सङ्गमा उपयुक्त शीर्षकको उद्घोष सुन्नासाथ एकजना जिज्ञासुले कुतकुती पोख्तै भने– “आदरणीय मर्मज्ञज्यू, तपाइँबाट उच्चरित वाक्यांशको सिङपुच्छरमध्ये केही पनि फेला पार्न असमर्थ भएको छु । जनी गर्दै अर्थ सजिलो किसिमले फिँजार्ने परिश्रम गरिदिनुहुन्छ कि ।”
मर्मज्ञले ध्वनिविस्तारित यन्त्र मुख नजिक लग्दै व्याख्यात्मक गतिलाई सकेसम्म उकास्दै भट्याउन थाले– “स्रोतावृन्द ! अज्ञानलाई ढिपीवादको थालनीको थोप्लो भनिन्छ, ज्ञानतिर बुझाइलाई हातेमालो गर्दै फड्को मार्नासाथ लिँडेवाद सिरिखुरी हुने पक्का छ । यसैले ध्यानलाई मतिर केन्द्रित पार्ने जमर्को गरिहाल्नुस् । भतुवालाई दरिद्रताका प्रतीक मान्ने लाममा बहुमत मर्मज्ञ उभिने पक्का छ । मानव प्राणीअन्तर्गत भतुवा निकृष्ट जीव घोषित भएको छ, जसरी दरिद्रहरूलाई वर्तमान समाजमा जतिसुकै परिश्रम घोप्ट्याए पनि दुई छाक डकार आउन्जेल जोहो मिलाउन हम्मे पर्छ । त्यसै गरी भतुवाका भएभरका चुरीफुरी दुई छाकका लागि मात्र सक्रिय हुन्छ र यिनलाई जुनसुकै शब्दकोशमा दरिद्रकै सगोत्री मान्ने गरिएको छ । निर्धनहरू भतुवाहरूका तुलनामा जहिलेसुकै तीनचार खुट्किला माथि नै पर्ने गर्छन् । यिनीहरूले खस्रोमोटो जे भए पनि डकार आउन्जेल हजम गर्ने औसर जिप्ट्याउने गर्छन् । विचार दृष्टिकोण परिवर्तन र सिद्धान्त जेसुकै भन्नुहोस् सम्पन्नताबाटै फुतुफुतु झर्ने गर्छ । भतुवाले सिर्जनाको कुरै छाडौँ आफ्नै अस्तित्व पनि सजिलै पाराले घिसार्न सक्दैनन् ।
प्रमाण दिनुप¥यो– विषयगत बुढ्याइँ छाड्नु उपयुक्त मानिँदैन । एउटा स्वर झन्नै पोखिने पारामा उम्लिन्छ । प्रमाण जति पनि दिन सकिन्छ । जुनसुकै फाँटमा प्रमाणहरू बग्रेल्ती पाइन्छन् । राजनीति मुलुकको मूलनीति हो । पहिला राजनीतिक भतुवाहरूका बारेमा बेलिविस्तार लगाउनु नै उपयुक्त हुन्छ । आफ्नो मुलुकका राजनीतिक नेतृत्वदेखि कर्मीसम्म सबै भाते सतहबाट माथि उक्लिनै सकेका छैनन् । केही अपवाद नेतृत्वका चुरीफुरी पनि भाते सेरोफेरोमा नै अल्झिएको छ ।
बहुसङ्ख्यक नेतृत्वका बोल्ने र लेख्ने काँटछाँट भतुवा प्रवृत्तिसँग काटिकुटी मिल्छ । धेरैजसो हिन्दी लेखन घोक्ने गर्छन् र बुझाइ प्रष्ट नभएर नेपाली सेरोफेरोतिर दुर्गन्धी दमन गर्छन् । भाषाशास्त्रीका ठम्याइमा मानव प्राणीका भाषा बिग्रियो भने विचार नै भ्रष्ट हुन्छ । विचार खजमजिनासाथ व्यवहारमा अनगिन्ती जोल्टिङहरू निरन्तर आइरहन्छन् । यतातिरका नेतृत्व भाषण भट्याउने क्रममा जुनसुकै असल कार्यको पहलकदमी (थालनी) मैले नै गरेको हुँ भन्दै नाक घिरौँलाझैँ बिनाअर्थ फुलाउँछन् । निरक्षर जनसमुदायहरूलाई उट्पट्याङ विश्वासमा बाँध्न आफ्ना दलका राजनीतिक दस्तावेज (लिखतपत्र) पढ्न असाध्य कर गर्छन् । यतिमात्र कहाँ हो र ! मेरो मात्र राजनीतिक सोँच (नेपाली परिप्रेक्ष्यमा सोँच क्रियापदको रूपमा प्रयोग हुन्छ । संज्ञाको रूपमा सोचाइ नै कर्णप्रिय लाग्छ । कुन विषय रोज्ने हो विचार पु¥याएर सोच न कान्छा ।) समयसापेक्ष छ भन्दै धक्कु लगाउँदै भाषण चर्काउँछन् । भाषाले स्थिति छर्लङ्ग पार्नासाथ उफ्रिँदै कराउँछन्– हाम्ले राजनीतिक भूमिका दृढतासाथ निभाएकोले (खतम पार्नुजस्तै बत्ती निभाउनु) मुलुकमा लोकतन्त्रको सट्टा तोकतन्त्रको बिगबिगी भएको हो । यसै गरी राजनीतिक नेतृत्व बुद्धिको भाँडोमा बिर्को लगाउँदै छाँट्छन्, मुलुकको राजनीतिक माहौल (सेरोफेरो) धमिलो बनाउन तपाइँहरूले होइन, मैले नै निरन्तर प्रयास गर्नैपर्छ । त्यसपछि आशिर्वााद प्राप्त गर्न स्वदेशी राजनीतिक रेखा पार गर्न छलाङ (फड्को) लगाउँदै विदेशतिर पुग्छन् । विदेशीका विचार फैल्याउँदै (फिँजाउँदै) पुरस्कृत तर कुपुकुपु खान्छन् ।
अङ्ग्रेजी भाषामा दक्षता प्राप्त गरेका राजनीतिक, साहित्यिक र आर्थिक भतुवाहरूको मानसिकता झन् उराठ लाग्दो छ । यस्ता भतुवाहरू अङ्ग्रेजी भाषालाई तन्काउन विदेशीको सट्टा स्वदेशी विषयवस्तुको प्रयोग गरेर पुङपाङे विद्वता सोहोर्छन् । राजनीतिक विद्वता पोख्नु छ भने शीर्ष लेखिन्छ– गान्धीको कन्दनी प्रजातान्त्रिक राजनीति । अर्को शीर्षक रोजिन्छ– विदेशी खादीमा (स्वदेशी खाँडी होइन) स्वदेशी प्रजातन्त्र । झन् क्रान्किारी राजनीतिक व्यक्तित्वले शीर्ष छान्दै लेख्छ– ज्यान दिन सकिँदैन भने टाउको छिनाएर क्रन्तिको थालनी गर्नैपर्छ ।
अङ्गे्रजी भाषामा साहित्य लेख्नुपर्यो भने शीर्ष रोजिन्छ– मन्दिरभित्र यौनाशनमा देवीदेवता अथवा वराहक्षेत्रका साँढेदेवको गाईप्रति विष्फोटक अनुराग ।
आदरणीय मर्मज्ञज्यू, धर्मतिर भतुवाका चर्तिकला कुन काँटको हो पहिल्यउन सकिन्छ ? बेलिबिस्तार लगाउने कृपा भए कृतकृत हुनेछु । अर्को स्वर एक जना गम्भीर स्रोताको औतारमा पोखिन्छ ।
जिज्ञासु मनुवा ! धर्म भनेकै अलौकिक अस्तित्वमा अड्किएको विश्वास हो । यसलाई सोझो तालमा ईश्वरीय आस्था भन्नुपरेमा अनर्थ हुँदैन । धर्मले मानिसझैँ ईश्वरको रूपको परिकल्पना गर्छ भने अध्यात्मवादले ईश्वरलाई पन्छाएर घुमाउरो पारामा परमात्माको अस्तित्व छ भन्दै ठोकुवा गर्छ । अझ परिस्कृत अध्यात्मवादले ईश्वरलाई महामानव, महाप्रकृति र निर्गुण स्वरूपमा प्रस्तुत गर्दै भक्तहरूबाट सगुण भोजन हजम गर्ने कार्य गर्छ ।
भातलाई मूख्य भोजन घोषणा गर्दै भान्सामा प्रवेश गराउने सेरोफेरोतिर पराइ धर्मलाई हियाउँदै भातेधर्म (च्ष्अभ च्भष्निष्यल) भन्ने गरिएको अचेल निकै सुन्ने गरिन्छ । पेट भर्नका लागि धर्म परिवर्तन गर्ने व्यक्ति वा समूहको धार्मिक आस्थालाई भाते धर्म भनिएको हो । भाते धर्मावलम्बीहरू जहिलेसुकै खाउँखाउँ भन्ने ध्यानमा मात्र लिप्त हुन्छन् । यिनका लवाइ, खुवाइ, भाषा, संस्कृति सबै ¥याङठ्याङ नमिलेका मयुरका चालझौ लाग्छन् । भतुवाका धार्मिक चिन्तनका ठेक्कापट्टा एकमुष्टमा गोरा मालिकका हितमा नामसारी गरिएको हुन्छ । धार्मिक भतुवालाई स्वाँठमा रूपान्तरण गरी थपडी मार्न हुलहालमा धार्मिक कलह चर्काउन नियुक्त गरिन्छ ।
कतिपय ठाउँमा रैथानेका भाषा संस्कृति र मूल्य भाते धर्मले कुपुकुपु खाइदिने गर्छ । त्यसैले यस्तो धर्मलाई खुकुरी धर्म (म्बननभच च्भष्निष्यल) पनि नाम जुराउने गरिएको छ ।
धर्मका केस्रा ताछ्ने हो भने त्यहाँ केही विवेकशील वाक्य सजिलै फेला पार्न सकिन्छ । ‘चमत्कारम् आडम्बर’ भन्ने भनाइको अर्थ अनौठो प्रस्तुति भन्नै प¥यो भने स्वाङ पार्नु हो वा अरूका आँखा छल्दै चटक देखाउनु हो । यस्ता स्वाङ धार्मिक सेरोफेरोतिर छ्यास्छ्यास्ती देख्न सकिन्छ । कतिपय धार्मिक अवतारले चटक प्रयोग गर्दै खुरूखुरू विभूति, औँठी, घडी र लुगाफाटा एकपछि अर्को गर्दै निकाल्ने गष्र्छन् । मोटर, हवाईजहाज वा क्षेप्यास्त्र आजसम्म कुनै धार्मिक अवतारले मरे पनि (पहिरेको लुगामा लुकाउने ठाउँ नभएर) निकाल्न सकेका छैनन् ।
अवतारले निकालेका घडी र लुगाफाटामा यतै पृथ्वीलोकतिरकै मुलुकमा बनेका प्रष्टसँग देख्ने गरी छाप लागेको हुन्छ । वैकुण्ठलोक, कैलाशधाम र स्वगैका स्वचालित कार्खानामा बनेको छाप धुइँपताल गरेर पनि फेला पार्न सकिँदैन । आश्चर्य त त्यसबेला हुन्छ जब घडी, औँठी वा लुगाफाटा हाम्रातिरका सबभन्दा भ्रष्ट सचिव, गतिछाडा महाप्रवन्धक र काटिकुटी सँगुररूपी मन्त्रीहरूले जिप्ट्याउने गर्छन् । खान नपाएर प्राण नै जाला भन्ने दरिद्र प्राणीले आजसम्म कहिल्यै दामी पाहुर फेला पारेको समाचार पढ्न पाएको छैन ।
बेकारी युवायुवतीको हुललाई सेतो पहिरनमा बेरेर ब्रह्मचर्यको तालमा भजनकीर्तन भट्याएको देख्दा तिनका आँखामा यौनतृष्णा सकिएर नपुङ्शकताको मरूभूमि लम्पसार परेको झल्झली देखिन्छ । परिवारबाट परित्यक्त वृद्धवृद्धालाई यतातिर उन्मुख गराइएको भए परमात्मा फेला पर्न बेरै लाग्थेन होला ।
अरू फाँटका भतुवाहरू पनि सजिलै फेला पार्न सकिन्छ । टाढा किन जानु र ! यतै हाम्रो छिमेकतिर मनोरञ्जन फाँटका अभिनेता वा अभिनेर्तहरू हिन्दी वा उर्दू चलचित्रमा मरिहत्ते गरी अभिनय गर्छन् । कुनै भेला वा समारोहमा बोल्नु प¥यो भने ठस्ठस्ती कन्दै मातृभूमिको मिश्रित अङ्ग्रेजीको भेल नै उराल्छन् । त्यतातिरका बौद्धिक समूहका चर्तिकला पनि भतुवासँग ठ्याक्क मिल्छ ।
हाम्रैतिरका बौद्धिक, प्राविधिक र सांस्कृतिक भतुवाले विदेशमा जतिसुकै आर्जनको सुइरो माथितिर तेस्र्याए पनि सिर्जनाको क्षेत्रमा उँध्मुन्टी नै लगाउनुपर्छ । स्वदेशी मूलका मनुवा बौद्धिक फाँटका हुन् वा श्रमबजारका माल (Comemodity) नै किन नहुन् यिनीहरूका गणना भतुवाकै स्रेणीमा गरिन्छ । त्यतातिरका रैथानेबाट ‘एसियाली कुकुर’ को मानपदवी पाएकोले खञ्चुवा प्रवृत्तिलाई त्याग्नै सक्देनन् । भतुवाका मुक्ति वर्तमान परिप्रेक्ष्यमा सम्भव छ त ? एउटा स्वर लुत्रुक्क पर्दै अनुनय गर्छ ।
सम्भव छ ! भतुवालाई मुक्ति दिनासाथ सम्पन्नता उकासिन्छ र त्यस बौद्धिक, आर्थिक र सांस्कृतिक सिर्जनाहरू जताततै तपतपपी चुहिन थाल्छन् । राजनीतिक नेतृत्वले आफ्नै मुलुकका जनसमूहलाई केन्द्रबिन्दु बनाउँछन् र राजनीतिक गतिविधीहरू सञ्चालन गर्छन् । आर्थिक, प्राविधिक र अरू फाँटमा पनि तँछाड मछाड गर्दै उपलब्धीका मूलहरू फुट्न थाल्छन् । देख्दा देख्दै मुलुक प्रति माया थाम्नै नसक्ने गरी उम्लिन थाल्छ र भतुवाको अस्तित्वनै हराउन बेर लाग्दैन ।
कोटेश्वर, काठमाडौँ
(फित्कौली अङ्क– १३ बाट)
Subscribe
Login
0 Comments
Oldest






































