निशा खनाल अर्यालविदेशी दलालको नोकर भएर
टलक्कै टल्किने,
चाँदीका सेता हिमाल,
बुँद आँसु झरे झैं,
तातो राप सहनुको पीडाले
पग्ली रहेछिन् तपतप !
र पनि,
आउने जानेको प्यास मेटाउँछिन्,
चिसो हावाको आभाष गराउँदै,
जसरी,
एक थकित सुत्केरी आमा,
गाई बस्तु र घाँसपातले,
कम्बरमा पटुकी कसेर,
खुईखुई गर्दै,
डोको बिसाउँछिन् र,
रोई रहेको बालकलाई,
काखमा लिँदै,
फत्रक्क गलेर पसिनाले भिजेका,
निधार आँचलको टुप्पाले पुछ्दै,
काखको बालकलाई
दिनभरिको भोकले,
हुरुक्क भएर प्यासिँदा,
जुरुक्क काखमा लिँदै अङ्कमाल गरि,
आफ्नो स्तन चुसाउँछिन्,
र बर्बर आँसु झार्दै खुई खुई गर्दै,
प्यासले प्याक प्याक हुँदा पनि,
आनन्दको अनुभूति गर्दछिन् !
तर पनि,
छाती भित्रका खातका खात,
पीडालाई पचाउँदै,
आफै गल्छिन्,
बिस्तारै मैन वत्ती झैं,
हो,
आजको मानव समाज,
विश्व साँगुरिएर आँगन त भयो,
आमाको स्नेह जस्ताको त्यस्तै छ,
तर
सन्तानको कुविचारले
परिवर्तनको नाममा,
आफ्नै संस्कार र धर्मलाई,
कुल्चिएर बढाएका पाइलाहरूले,
आमाको अस्तित्वलाई बेचिँदा,
दुधको साइनोलाई
पैसाको बिटोमा तौलिँदा,
किन नरोउन लेख र वेशी ?
किन नगलुन् हिमशृङ्खलाहरू,
किन नजिस्काउँन तँ ?
ती कप्चाका झरनाले
आफ्नो अस्तित्वको,
रतिभर ख्याल नै नगरी,
आफ्नै जननी र आमालाई,
टुक्रा टुक्रा पर्दै मुटु टुक्र्याउँदा,
अनि
डर र त्रासमा पिल्सिँदै,
अशिक्षा र भोका पेटहरूले
नाच्द्छन् जता नचायो त्यतै,
छमछम, नर्र्तकीले नाचे झैं,
पैसाको बिटो हातमा पाउँदा,
उनीहरूको पेवा झैं,
जान्छन् जता पठायो त्यतै,
गर्छन् जे भन्छन् त्यही,
कुद्छन् राँगो कुदे झैं,
कुट्छन् ड्याम ड्याम आफ्नै,
धर्म र संस्कारलाई,
क्षणभर आनन्दको लागी,
पैसाको बिटोमा आफूलाई तौलिँदै,
पशु जस्तै व्यवहार गरि,
फर्कन्छ लुतुक्क शिर निहुराई
चुनाउमा हारेर फर्केका नेता जस्तै,
विदेशी दलालको नोकर भएर !
इजरायल
Subscribe
Login
0 Comments
Oldest







































