माणिकरत्न शाक्यट्वाइलेटमा गएको पनि……
बालाजु शाखामा कार्यरत रहुन्जेल हामी भएका कर्मचारीहरूलाई नगद तर्फको र जनरल तर्फको भनेर छुट्याइन्थ्यो । खजाञ्ची सहित हामी पाँचजना नगद तर्फका अरु जम्मै जनरल तर्फका । त्यस शाखामा सोह्र वर्ष बसुन्जेल त्यहाँका जनरलका साथीहरूले बढी समय काम गरेको भन्दै ओभरटाइम (ओ.टी) पास गरेर नगद लिन हामी कहाँ आउँथे । नगद तर्फका साथीभाइहरूले ओ.टी. भरेर नगद पाएको आजसम्म मलाई थाहा छैन । जनरलका साथीहरू मसँग वढी हिमचिम भएका कारणले कार्यालय समयपछि प्राय मैसँग हुन्थे । हास्यव्यङ्ग्यको गतिविधि अत्यधिक मात्रामा मैले त्यहीवाट शुरु गरेको थिएँ ।
खजाञ्चीलाई आफ्नो जिम्मामा रहेको नगद बुझाइसकेपछि म फुकुवा हुन्थेँ । त्यो दिनको जागीर सकियो । म फुकुवा भएको थाहा पाउने बित्तिकै जनरलका साथीहरू खाजा खान जाउँजाउँ भन्दै अधिपछि गर्दै आउँथे । एकदिन जनरलका साथीले ओ.टी. पास गरेर ल्याएपछि नगद लिन म छेउ आए । शाखाका पूरै साथीभाइहरू मेरो ठट्टा गराइबाट पूरै परिचित थिए । के हो सर भन्दै एकजनाले ठट्टाको भाषामा भने– ओ.टी. को पैसा लिन आएको । मैले भनेँ– चौविसै घण्टा मसँग हुनुहुन्छ, कतिखेर काम गर्नुभो र ओ.टी.का दाम लिन आउनु भो ? साथीले पनि मलाई उडाउँदै भने– जहिले गरे नि गरँे ! तपाईलाई केको टाउको दुखाई ! मैले पनि त्यही मौका छोपेर भनेँ– ओभरटाइम मात्र पाउने भए जनरलका साथीहरूले ट्वाइलेटमा गएपिच्छेको पनि लिँदा हुन् ।
मेरो कुरा त्यहाँ भएका साथीहरूले कतिले बुझे बुझेनन् त्यो आफ्नै ठाउँमा छ । जस्ले बुझे तिनीहरू भित्री मनदेखि खितखिताउन थाले । जो साथी ओ.टी. को नगद लिन आएका थिए उनलाई पनि मेरो कुरा घत लागेछ । दिल खोलेर हाँस्तै नगद लिएर गए ।
सरस्वतीनगर, चावहिल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































