फित्काैली डटकमअल्छीको वकालत
अचेल मेरो दिनचर्या फेरिएको छ । बिहानै श्रीमती मभन्दा निकै अगाडि उठ्छिन् । उनले नुहाइधुवाइ गरेर, पूजापाठ सकेर, दूध–तरकारी ल्याएर, चिया बनाएर ओछ्यानमा टक्र्याउन्जेलसम्म जसरी चुपचाप पर्खिने गरेको थिएँ, त्यो बानी चट्टै छाडेको छु । भनुँ क्रान्तिकारी परिवर्तन भएको छ त्यसमा । श्रीमती उठेदेखिन् चिया नआउन्जेलसम्मको समय मैले ती महान् अल्छीहरूका लागि समर्पित गर्ने गरेको छु । त्यस समयमा म थाहा पाएसम्मका अल्छीहरूको नाम मनमनै जप्छु र तिनलाई मनमनै नमन गर्छु । अनि भगवान्सँग हात जोड्छु, ‘हे भगवान् ! ती अल्छीहरूलाई अझ अल्छी बनाइदेऊ !’
वर्षौंको चिन्तमनन पश्चात् म यो निष्कर्षमा पुगेको हुँ कि यदि संसारलाई सुखी बनाउनु छ भने अल्छीहरूको सङ्ख्या बढाइनै पर्छ । अल्छीहरूको सङ्ख्या जति बढी भयो, संसार त्यति नै सुन्दर हुनेछ । अल्छी व्यक्तिमा विचारक, दार्शनिक र नेता बन्ने प्रचूर सम्भावना हुन्छ । कमसेकम उनीहरू लेखक या कवि त हुन्छन् नै । अल्छीहरू जहिले पनि शान्तिप्रिय हुन्छन् । उनीहरू कहिल्यै अरूको गतिविधि या जीवनचर्यामा वाधा अड्काउन जाँगर देखाउँदैनन् । अल्छीहरूमा आलोचना सहन गर्ने क्षमता अद्भूत हुन्छ । झगडा गर्ने, जुझ्ने, वादविवाद गर्ने जोश उनीहरूमा हुँदैन । यस अर्थमा उनीहरू गालीको उत्तर मुस्कानले दिन रुचाउँछन् । गालीको जवाफ मुस्कानले दिनसक्नु भनेको चानचुने क्षमता होइन । जब म ठूलाठूला भनिएका व्यक्तिहरू पत्रपत्रिका, रेडियो, टेलिभिजनमा आरोप, प्रत्यारोप तथा बहसमा मच्चिरहेको देख्छु, तब भगवान्लाई धिक्कार्छु– अरे भगवान् ! यिनीहरूलाई अल्छी किन बनाएनौ ? यिनीहरूको यो उत्साहलाई निमिट्यान्न किन पार्न सकेनौ ? विवाद गर्ने समयमा यदि यिनीहरू मस्तराम सुतेका भए, यिनको वादविवाद चासो लिएर हेर्ने, पढ्ने, सुन्ने लाखौँलाख मान्छेको करौडौँकरोड मिनेट समय त बच्ने थियो । मान्छे ६–८ घन्टा सुत्ने हालको समय परिवर्तन गरेर १२–१६ घन्टा सुत्ने व्यवस्था मिलाउने हो भने राष्ट्रियमात्र होइन, अन्तर्राष्ट्रिय स्तरको विवाद पनि आधी कम हुन्छ, म ग्यारेन्टी दिन्छु ।
कसैसँग पैसा सापट लिएर हजम गर्नमा अल्छीहरू सबभन्दा अगाडि हुन्छन् । पैसा माग्न जाऊ, सिधा उत्तर आउँछ– उहाँ त सुतिरहनुभएको छ । आफ्नु पैसा लिनु छ भन्दैमा सुतिरहेको मान्छेलाई जथाभावी डिस्टर्ब गर्नु त भएन नि ! त्यसमाथि पैसा लिनुपर्ने मान्छे पनि उत्तिकै अल्छी निस्कियो भने लिने र दिनेबीचको विवाद पनि हुनै पाउँदैन । घरीघरी पैसा माग्न जान पनि त जाँगरै चाहियो नि हैन त ! लिनुपर्ने मान्छे माग्नै नआएपछि दिनेको पनि गल्ती भएन । अनि कहाँबाट आउनु विवाद ! यसरी लिनेदिनेहरू जति धेरै अल्छी हुनसक्छन्, त्यति नै धेरै लेनदेनको विवादमा पनि ह्रास आउँछ । हुन त काठमान्डूमा मेलम्ची ल्याउन खोज्नेहरू पक्कै अल्छीहरूकै समूह हुनुपर्छ । अथवा, यतिका वर्ष भइसक्दा पनि यता आउन अल्छी गर्ने मेलम्ची स्वयम् पनि अल्छी खोला हुनसक्छ । जे होस्, जति नै अल्छी गरे पनि मेलम्ची कुनै न कुनै दिन यता आउला । तर, त्यसले काकाकुल काठमान्डूको पूरै प्यास मेटाउला भन्ने के ग्यारेन्टी ? न ठूलाबडाकै घरमा पाइपलाइन जोड्दाजोड्दै सिद्धिने पो हो कि ? मेलम्चीको आउने ठेगान पनि भएन, त्यसले पर्याप्त पानी दिने पनि ठेगान भएन । तर अल्छी मान्छेले चाहे भने पानीको अभाव स्वतः समाधान गरिदिन सक्छन् । सबभन्दा धेरै पानी नुहाउन र लुगाधुनमै सिद्धिन्छ । अल्छी मान्छेबाट त्यसरी पानी खेर जाने खतरा कमै हुन्छ । के जाडो, के गर्मी, जुनसुकै मौसममा पनि अल्छीहरू महिनौँ नुहाउँदैनन् । धुलो, धुवाँमा लखरलखर हिँडिरहे पो लुगा मैलिने हो । थपक्क घरमै आराम गरेर बसेपछि लुगा मैलिइरहने समस्या पनि भएन । एउटै लुगाले दुईचार दिन गज्जबले चलिहाल्छ । यसरी लुगाधुने र नुहाउने पानीको अत्यधिक बचत भएपछि पानीको अभाव कहाँबाट हुन पाउनु ? अनि किन चाहियो त्यो मेलम्ची ?
अल्छी हुनु कुनै राष्ट्रविशेषका लागिमात्र होइन, सम्पूर्ण मानव जातिकै लागि उपलब्धि हो । यदि सरकारले परिवार नियोजन कार्यक्रमको सट्टा अल्छी मान्छे बढाऊ कार्यक्रम ल्याउने हो भने परिवार नियोजन स्वतः सफल हुन्छ । यसर्थ, जनसङ्ख्याको विस्फोटलाई रोक्ने कार्यका लागि अल्छीहरूको महत्ववपूर्ण योगदानलाई हामीले बिर्सनै हुँदैन । समाजमा दुई किसिमका व्यक्ति हुन्छन्, एकथरी काम गर्ने, अर्कोथरी आराम गर्ने । जुन व्यक्ति काममा लिप्त हुन्छन्, हो, उनीहरूले नै हो जनसङ्ख्या बढाउने ।
जो अल्छी छ, उसले कहाँबाट त्यत्रो जाँगर पाओस् र जनसङ्ख्या बढाओस् । बच्चा जन्माउनु, हुर्काउनु चानचुने आँटले हुने कुरा हो र ? त्यत्रो ठूलो झन्झट बेहोर्ने हिम्मत कहाँबाट जुटाउनु बिचरा अल्छीहरूले ! यसर्थ, जनसङ्ख्या वृद्धि रोक्न जति हात अल्छीहरूको हुन्छ, त्यति त संसारको कुनै पनि परिवार नियोजक संस्थाको हुँदैन । संसार उनैसँग निश्चिन्त रहन सक्छ, जो आराममा हुन्छन् । अल्छीहरू कहिल्यै चोर, डाका, ठग हुन सक्दैनन् । चोरी गर्न, डकैती गर्न या ठगी गर्नका लागि जति गिदी घोट्नुपर्छ, शारीरिक श्रम पोख्नुपर्छ, जोखिम मोल्नुपर्छ, त्यस्तो समय अल्छीसँगै हुँदै हुँदैन । अल्छीलाई करोडपतिको करौडौँको सुनमाथि नजर लगाउने जाँगर र फुर्सदै कहाँ हुन्छ र ? तिनका लागि मस्तसँग सुत्न पाउनु नै स्वर्णीम हुन्छ । हाम्रो देशमा धेरैजसो नेताहरूमा पनि यो गुन पाइन्छ । पाँच वर्षमा चुनावको बेला दुई महिनाजति ब्युँझियो, बाँकी ५८ महिना मस्तराम सुति नै रहे पनि कसैले केही भन्ने रहेनछन् क्यार । अहिलेसम्मको ताजा इतिहासको रेकर्ड त्यस्तै देखिएको छ । ठूलाठूला योजनाहरू प्रतिबद्धता–पत्रमा बनाउन धेरै जाँगर चाहिएन, बनाइदिन्छन् । अनि चुनाव जितेपछि फेरि अर्को चुनाव नआउन्जेल सुतिदिन्छन् । यसरी बडो अल्छीपूर्वक सुत्न पाएपछि किन व्यर्थैको दौडधूपमा लागिरहनु ?
श्रीमतीले भान्साकोठाबाट कराएपछि झसङ्ग भएँ, ओहो ! आज त अल्छीपुराण सोच्दासोच्दै खाना पकाउने बेला पो भइसकेछ । श्रीमतीले बकबक गर्न अल्छी गरिनन्, ‘भात खान पनि अल्छी लागेको भए भन्नुस् है, म आफ्नो लागि मात्र पकाउँछु ।’ भातै खान छाड्ने अल्छी त म बबुरो कहाँ हुन सक्थेँ र ! जे होस्, आजको अल्छ्याइँले बिहानको एक कप चियाको खर्च भने मेरो पनि ठ्याक्कै जोगिएछ ।
‘शाल्मलि’ अङ्क १० बाट
Subscribe
Login
0 Comments
Oldest





































