विश्व विनोदछते लभ
जमानाअन्सारको लभ अनौठोसँग पर्छ संसारको । सम्भवतः लभको जब नगर्ने र कामेश्वरको जप नगर्ने तन्नेरीहरू कमै होलान् । लभ गरेर खोल्साखाल्सीमा गफका उरुङ्गो लाएर गह्रुङ्गो हुँदै फर्कनेहरू धेरै होलान् । उबेला हजुरबाबाहरू गाई भैंसी चराउँदै ग्वालीनीसँग लभमा परेका थिए । तर जमाना त्यस्तै रहेन । लभ पनि मानिसको विकासक्रमसँगै प्रकार फेरिँदै गयो । पहिले गन्धर्व विवाह हुन्थ्यो भने आजकल त्यो सन्दर्भ अलिक विकसित भैसकेको छ । आधुनिक जमानामा लभका अनेक प्रकार हुन्छन् । ती मध्येको यौटा छुट्टै पहिचान बोकेको लभ चाहिँ छते लभ हो । केटाले दारी देखाएर लभ पारेको छ भने त्यो दारी लभ हो । केटीले सारी देखाएर लभ पारेकी छ भने त्यो सारी लभ हो । तर छतबाट गरिने लभ छते लभ हो ।
आधुनिक जमानाको छुट्टै मोडालिटी बोकेको लभको प्रकार छते लभ हो । यौटा घरको छतबाट अर्को घरको छतमा प्रेमी र प्रेमिका बीच हुने आधुनिक प्रकारको लभ हो छते लभ । आजकल घरका धुरी देख्न पाइन्न बरु छत भएका घरका चुरी फुरी भने भनि साध्य छैन, असाध्य हुन्छ । पहिले छरिने गरेका घरहरू आजकल सहरमा सोहोरिएका छन्, जोरिएका छन् । यौटा प्रेमी यौटा छतमा बस्छ अनि अपरिचित प्रेमिका अर्को छतमा लजाउँदै बस्छे । प्रेमी र प्रेमिकाको बीचमा नजर हानाहान हुन्छ अनि शिव परियारको यस्तो गीत यहाँ सान्दर्भिक हुन सक्छ–
पहिले हाम्रो झ्यालबाटै नजर हानाहान भो
आँखा जुध्दा सर्माएर पर्दा तानातान भो ।
हो शुरुवातमा आँखा जुध्छ, नजर हानाहान हुन्छ अनि बल्ल पो लभ पर्न थाल्छ । प्रेमिल कुराकानी हुन्छ । गाउँको पुण्टे पढ्नको लागि शहर बसेको भए पनि उसको आँखाले पल्लो घरको छतमा बसेकी नौजवान युवतीसँग भाका मिलाउन पुग्छ । विदेश गएको श्रीमानको श्रीमतीले गाउँको घर छाडेर शहरको डेरा खोज्छे अनि छतमा प्रेमको खत लेख्न थाल्छे । शहरका पात्तेका बुढादेखि मात्तेकी तरुनी बुढीसम्म छते लभले कमालको बबाल मच्चाउँछ । न यसले जात भन्छ न यसले सङ्घीयता भन्छ, निरन्तर प्लेटोले भनेको झैं आत्मिक मिलनन बोलेरै लभ पर्न थाल्छ छतबाट । ‘पल्लो घरको झ्याल’ लेख्ने लेखकको पालामा छते घर थिएनन् होला नत्र उनको किताबको नाम नै पल्लो घरको छत हुनेथ्यो होला ।
छतनै जोडिएपछि डेटिङको सेटिङ मिलाउन पनि मज्जा हुन्छ । फोनमा लम्बेतान गफगर्दा पैसा सकिने झन्झटबाट मुक्त हुन सकिन्छ, छतमा गएर गफ गरेमा । शहर अचम्मको हुन्छ, यौटै फ्ल्याटमा भाडामा बसेका फरक फरक मानिसहरूका फरक फरक कोठामा बोलाचाल हुँदैन । यौटा कोठामा मज्जाले पार्टी चलेको बेला अर्को कोठाको मान्छे भोकले छट्पटाएर मर्न लागेको हुन्छ । यौटा कोठामा मान्छे मरेर लाश फाल्ने कोही नभएको बेला सँगैको कोठामा बिहे भएको हुन सक्छ । हो, कोठा भित्र मानिसहरू बेमतलबी हुन्छन् तर छतमा मानिसहरू स्वच्छन्द बनेर प्रेमिल जीवन बिताउन सक्छन् । केबल हेराईको घेराइमा लभ समुन्नत बन्न सक्छ ।
छते लभका गफ गरिसाध्य छैन । जमाना कमर्सियल छ । बिचार बिमर्सियल छैन । पैसा र एैसामा जिन्दगी चलाउनेहरू धेरै भएको बेला छते लभ समुन्नत प्रकारको लभ हो । छते लभले समयको निकै सदुपयोग गर्ने गर्दछ । तपार्इं छतमा बिस्कुन सुकाउन जाँदा त्यो समयको सदुपयोग हुन सक्छ । छतमा भुँडी घटाउने व्यायाम गर्दा बुढी बढाउने आयाममा छते लभले सघाउ पु¥याउँछ । समाजमा कुरा काट्लान् तर छते लभमा अरुले कुरा काट्ने र तपाईंको दुई पैसे इज्जतमा कसैले छुरा चलाउन सक्दैन किनकी गुपचुप गुपचुप लभ गर्न पाइन्छ छते लभ गर्दा ।
बहुगुणी छते लभले तपाईंको पैसाको बचत गराउँछ । हेराइमा नै सम्पूर्णता तपाईंले भेट्नुहुनेछ । पार्कमा डेटिङ जाँदा दशथरि सामान गिफ्ट किन्ने झन्झटबाट यसले तपाईंलाई मुक्ति दिलाउँछ । तसर्थ छते लभको जुक्ति सोचिहाले हुन्छ है । गाडी भाडा पनि तिर्न नपर्ने । लुकीलुकप् पार्कमा कसैले देख्छन् कि भनेर धक मानेर हिँड्नु भन्दा त छते लभले तपाईंलाई पार्कका प्रवेश शुल्कदेखि खाजा, खानाको पैसा पनि जोगाउँछ । केवल मुस्कानले तपाईं सारा किनेको झैं उसका बिश्वास जित्न सक्नुहुनेछ ।
छते लभ स्वास्थ्यका दृष्टिकोणले पनि असाध्यै राम्रो मान्न सकिन्छ । छते लभमा ज्यानै जोडिने सम्भावना कम हुन्छ । यस्तो लभमा सरुवा रोगबाट बच्न सकिन्छ । यदि तपाईं छते लभ गर्न छाडेर मैदानमा डेटिङ जानुभयो भने त तपाई उनीसँग टाँस्सिएर बस्दा के हुन्छ बिचार गर्नुहोस् त ! के के हुन् के के रोग सर्न सक्छन् । इबोलाको सन्त्रासबाट मुक्त हुन छते लभ फाइदाजनक हुन्छ । एचआइभी, एड्स, सार्स, इन्सेफ्लाइटिस आदिबाट पनि छते लभले बचाउँछ । वाह ! यो त बहु फाइदाजनक लभ हो ।
यो लभ गर्दा तपाईंमा कुनै शारीरिक दुर्बलता छ भने पनि आत्तिनु पर्दैन । तपाईंको फुक्लेको दाँत पल्लो छतमा बसेकी प्रेमिकाले थाहा पाउन्न । बरु दाँत फुक्लेर गालाको साइड चाउरी परेको छ भने सुपारी खाएर पुक्क गाला बनाएर छतमा बस्न सकिन्छ, अनि लागोस्न ती केटीलाई केटो त मोटै रहेछ भनेर । तपाईंको कपाल फुलेर तिलचामले बनेको छ भने पनि पिर नगर्नुस् टाढा छतमा बसेको तपाईंकोे प्रेमीले तपाईंको कपालको रहस्य थाहा पाउन मुस्किल नै हुन्छ किनकि उसले दुरबीन लगाएर तपाईंलाई हेरेको त हुन्न । आँखा डेरो भएकाहरू बिक्ने पनि छते लभ हो । तपाईं डल्ली हुनुहुन्छ भने पनि चिन्ता नगर्नुस् इँट्टा हालेर छतमा उभिनुस् पल्लो छतको केटाले तपाईंको हाइट देखेर मनमनै फाइट गर्छ । छते लभ त काइदाको फाइदा हो ।
छते लभले मौसम अनुसार तपाईंलाई साथ दिइरहेको हुन्छ । जाडाको बेलामा घाम ताप्ने निहुँमा तपाईंले लभ गर्न पाउनुहुन्छ पल्लो घरको छतको प्रेमीवा प्रेमीकालाई । घाम ताप्ने कामसँगै लभको याम खास्साको हुन जान्छ । जाडो हटे के भो र गर्मीमा घरभित्र उखुम भो भनेर छतमा उक्लनुहोस् न । यौटा बहाना न हो तपाईं छते लभ गर्न थालिहाल्नु हुन्छ । बगैंचामा गएर लुकीलुकी लभ गर्नुको सट्टा छतमा गलैंचा ओछ्याएर लभको आसन जमाए पुग्छ । सिजन अनुसारको भिजन बनाउनु होस् गज्जबले छते लभ गर्न पाइन्छ । के तपाईंले पनि यस्तो समुन्नत लभ गर्नु भएको त छैन, लौ दौडिहाल्नोस् छततिर ।
बेसीशहर नगरपालिका– ७, लमजुङ
Subscribe
Login
0 Comments
Oldest









































