बद्रीप्रसाद दाहाल ‘भस्मासुर’वाक्क पार्दै छ वार्ता !
वार्तै वार्ता, छलफल गरी, जाँडपानी भकुर्छौ
भन्छौ सँध्धै, सहमति अती, हातमा शून्य दिन्छौ ।
चारी जम्मै, भवन–वनका, होटलैमा रमायौ
ह्विस्की ब्रान्डी, मटन– भुटुवा, ग्लास धेरै समायौ ।।१।।
तिम्रा वार्ता, छलकपटका, बिम्ब बोकेर उठ्छन्
तिम्रा वार्ता, प्रतिगमनका, भूत बोकेर जुट्छन् ।
तिम्रा वार्ता, पद–मद बनी, एकतालाई कुट्छन्
तिम्रा वार्ता, मुलुकभरका, दिव्य ऐश्वर्य लुट्छन् ।।२।।
तिम्रा वार्ता, जन–हक थिची, लक्ष्य बन्छन् रजौटा
भाषा जाती, धरम–थरका, फूट छर्छन् अनौठा ।
भन्थ्यौ तिम्ले, विगत दिनमा, छिन्छ वर्गीय द्वन्द्व
मुद्दा अर्कैतिर किन लग्यौ, बीख बन्दैछ मन्द ।।३।।
भो भो वार्ता, अब नभन है, हामीलाई भुलाई
भो भो सत्ता, अब नलिनु है, देश–जन्ता रुवाई ।
तिम्रा थोत्रा, मन–मगजले, जन्मिने छैन कर्ता
झोली तुम्बा भिर अब सबै, दिक्क पार्दैछ वार्ता ।।४।।
धादिङबेँसी
Subscribe
Login
0 Comments
Oldest







































