चट्याङ मास्टरयहाँ यस्तो किन हुन्छ ?
जब आफूलाई आफ्ना बाआमाले उहिले भनेको कुरा ठिक लाग्न थाल्छ
ठ्याक्क त्यसै बेलादेखि आफ्ना छोराछोरीलाई आफूले भनेको कुरा बेठिक लाग्न थाल्छ
यहा यस्तो किन हुन्छ ?
जब कसैले ‘जान पाए हुन्थ्यो’ भन्ने खालको राम्रो भोजमा डाक्छ
त्यसै दिन बिहानदेखि आफ्नो आन्द्राभुँडी उल्टो छाद्न थाल्छ
यहाँ यस्तो किन हुन्छ ?
हरेक समाचार बाचकले टिभीमा ‘शुभ प्रभात्’ भनेर सुरु गर्छ
त्यसपछि सबै अशुभ नै अशुभ समाचार बाचन गर्छ
यहाँ यस्तो किन हुन्छ ?
जब बढी भलाद्मी देखिन खोज्यो त्यहीबेला कन्याउनै नमिल्ने ठाउँ नै किन चिलाउँछ ?
जब फोन स्वीचअफ गर्न हातमा लियो ठ्याक्कै त्यही बेला फोन किन आउँछ ?
यहाँ यस्तो किन हुन्छ ?
चुनावमा नेतालाई जिताउन जो बढी दौडधुप गर्छ, जितेपछि त्यो नेतालाई उसैले बढी सराप्छ
चुनाव नजितुन्जेल नेता महान् हुन्छ र जितेपछि त्यही नेता महामूर्ख स्वाँठ नै हुन्छ
यहाँ यस्तो किन हुन्छ ?
होटेलमा लामो मेनु सब्बै पढेर गज्जबको रोजा खाना अर्डर गरिसकेर कुर्दाकुर्दै
नजिकैको अर्कोको टेबलमा ल्याएको खाना देखेर आफनो अडर फेर्न मन लाग्छ
यहाँ यस्तो किन हुन्छ ?
जो सत्तामा छ उसलाई राज्य राम्रोसँग चलाउन आउँदैन
जो सत्तामा छैन, उसलाई राज्य राम्रोसँग चलाउन बाहेक अरु केही आउँदैन !
यहा यस्तो किन हुन्छ ?
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































