माघ आठ
आयो केवल माघ आठ सजियो टुप्लुक्क पात्रोतिर
के बन्थ्यो जन संविधान सपना भो व्यर्थको आखिर ।
आफैं काग बने छ मात्र कुहिरो सर्वत्र यो रातमा
क्वैली लेख न संविधान वनका ती चम्किला पातमा ।
मेरो भोट बल्यो जल्यो निमिषमै भैगो खरानी सब
हाहाकार सुसेल्छ गाउँ झुपडी दर्वारमा उत्सव ।
के लेखूँ कविता उजाड दिल भो बाँझो भयो लेखनी
डाँफे लेख न संविधान हिउँका सेताम्य डाँडा भरि ।
खल्लो लाग्छ हरे छ मौन किन हो ? मेची र काली जल
फुल्दो यौवनका अनेक सपना हाँसे मरे पल्पल ।
प्यारा शब्द रुँदा निशब्द कवि भो रोए मरे अक्षर
आमा लेख न संविधान घरमा न्यानो उज्यालो छर ।