सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

माघ ८ को गणित

Nepal Telecom ad

विसं दुई हजार एकहत्तर सालको बुढ्यौलीतर्फ अग्रसर थोत्रो क्यालेन्डरको पाना पल्टिँदा-पल्टिँदै बहुचर्चित माघ आठको तिथिमिति आउनै लागेको छ । यस समयमा हाम्रा छ सय एक (एकाध कम पनि हुनसक्छ) माननीय सभासदज्यूहरू अपूर्व हडबडीमा देखिन्छन् । कतै यो वर्षभरि पटक्कै नपढ्ने लापरवाह विद्यार्थीको फाइनल परीक्षा निकट आउँदाको हडबडी त होइन ? कदाचित यस्तो हो भने यस प्रकारको हडबडमा गडबढ हुने सम्भावना धेरै हुन्छ ।

संविधानसभा नम्बर दुईबाट संविधान दिनुपर्ने मिति माघ आठ गते लगभग संघारमा आइपुगेको छ । यही तीन-चार दिनजति बाँकी होला । तर सोही दिनमा ठ्याक्कै संविधान आउनेछ भन्ने कुनै ग्यारेन्टी छैन । यो नआउने अनुमान नै धेरैको छ । अब के ठेगान, आउने पो हो कि संविधान ! तसर्थ \’आउनेछ\’ र \’आउने छैन\’ को कठोर घर्षणमा सबथोक गोलमाल प्राय: भएको छ । यो ठ्याक्कै स्वर्गीय कवि ईश्वरवल्लभको एक आयामेली कविता \’आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्\’ जस्तो भएन र ?

यसो ता माघ आठमा संविधान आउने छैन भन्नेहरू नै बेसी छन् । यस विपरीत धारणा राख्नेहरू पनि त्यति पछि छैनन्, अलिकति मात्रै अन्तर होला । यिनीहरू माघ आठमा संविधान बनेर छाड्नेछ भन्नेमा दृढ छन् । यसमा नेकपा एमालेका वर्तमान अध्यक्ष कमरेड खड्गप्रसाद शर्मा ओली अग्रपंक्तिमा देखिन्छन् । उनको समग्र बातचितको स्टाइलले यस्तो प्रतित हुन्छ, कमरेड एक्लैले भए पनि माघ आठमा एकथान संविधान जस्तो केही बनाएरै छाड्नेछन् । उनको टुक्राटाक्री अभिव्यक्तिको जोडले यस्तै अर्थ दिन्छ । यो विशुद्ध कमरेड ओलीको बोली हो । र ओलीको बोलीलाई नै आफ्नो संविधान मान्नेहरू पनि नभएका होइनन् ।

\’हामी माघ आठमा संविधान ल्याएरै छाड्नेछौं ।\’ मेरो टोलको एक एमाले कमरेडको बोली ओली पारामा बेस्सरी चर्कियो ।

\’कस्तो संविधान कमरेड ?\’ उनको उत्तेजनालाई छेउबाट नियालेर मैले सोधेँ ।

\’जस्तोसुकै संविधान होस् ।\’ उनको तिखो नाकको टुप्पोमा अडकिएको क्रोध अलिकति पनि मत्थर भएको थिएन ।

\’यो जस्तोसुकै संविधान भनेकोचाहिँ के हो नि कमरेड ?\’ मैले भनेँ ।

यसको जवाफमा एमाले कमरेडको पावरदार चस्माभित्रको आँखा फुत्त बाहिर निस्केर मलाई हेर्न थाल्यो ।

\’के जस्तोसुकै संविधान भन्ने पनि हुन्छ कमरेड ?\’ मैले फेरि भनेँ ।

\’संविधान नचाहनेहरूका कुरा यस्तै हुन्छ ।\’ कमरेड शतप्रतिशत भडकिए मसँग, \’तपाई जस्तोसँग कुराकानी गरेर कुनै फाइदा हुँदैन ।\’

त्यसपछि हाम्रो टोलको एक अराजनीतिक भेला अर्थात् सानोतिनो भोजमा भएको एक जेबी साइज कमरेड ओलीसँगको मेरो राजनीतिक संवादको तुरुन्तै (दुई-तीन मिनेट) स्खलन भयो ।

यही माघ आठ गतेकै दिन मलाई एउटा अर्को भोजको निम्तो छ । मेरो टाढाको एक नातेदारको कान्छी छोरीको बेलविवाह (नेपाल भाषा इही) को उपलक्षमा दिइने रात्रिभोज हो । अचेल जे र जस्तो कार्यक्रममा पनि पूर्ण तामझामका साथ भव्य भोज दिने चलन चलेको छ । के हामीले सामाजिक मितव्ययितामा जानुपर्छ भनेको यही हो ? मेरा एक नवधनाढ्य मित्रले त आफ्नो प्रथम प्रेमको मितिको यादमा पनि एक तारे होटलमा सपत्नी (उनै प्रथम प्रेमिका होइनन्) डिनर दिएका थिए । जे होस्, म इहीको निमन्त्रणापत्र हातमा लिएर चिन्तित मुद्रामा सोचिरहेको छु, मैले त्यहाँ जाने या नजाने ! मेरो सम्पूर्ण दोधारको कारण अर्थोक केही नभएर नेपालको राजनीति हो । यद्यपि म त्यति राजनीतिक व्यक्ति होइन । तथापि मैले मलाई आमन्त्रित गरिएको भोजलाई लिएर अन्तत: के निर्णय लिएँ भने भोज हुने माघ आठमा संविधान आए भोजमा जानेछु । अन्यथा…। त्यसउसले मेरो माघ आठको भोज अत्यन्तै जोखिममा परेको छ ।

केही दिनअघि माघ आठको सन्दर्भमा आएको माननीय शेरबहादुर देउवाको आप्रवचन मलाई अति रुचिकर लागेको छ । यो कुनै भोजको कुरो नभएर संविधानको कुरो हो । अर्थात् कुरो के हो भने नेपाली कांग्रेस पार्टीका यी वरिष्ठ कांग्रेसी नेता संविधानको मामलामा कुनै पनि खालको झन्झट-सन्झट बेहोर्ने मुडमा विलकुलै छैनन् । त्यसकारण डाइरेक्ट हालको अन्तरिम संविधानलाई नै माघ आठको शुभघडीमा पूर्ण संविधानको दर्जा प्रदान गर्नुपर्छ भन्ने जोडदार जिकिर गरिरहेका छन् । यो उनको एकदमै मौलिक विचार हो । मलाई त उदार देउवा विचार पनि लागिरहेको छ । यस्तै विचारको सिलसिलामा उनी राजतान्त्रिक संविधानसम्म पुगेका भए पनि कसले के गर्न सक्छ ? यही संविधान अन्तर्गत देउवा दुई-तीनपटक (सही संख्या भन्न आएन) राजाको प्रधानमन्त्री भएका थिए । यस्तो उपयोगी तथा लाभदायक संविधान स्मरणयोग्य हुँदैन त ? तथापि असाध्यै दिलदार भएर शेरबहादुर देउवा केवल अन्तरिम संविधान २०६३ को कुरा गरिरहेका छन् ।

हँ, यो माघ आठलाई लिएर एनेकपा माओवादीका सदावहार अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड के गरिरहेका छन् ? उनको तमाम भूमिका एक करामाती राजनेता जस्तो देखिएको छ । प्रसंग माघ आठकै हो । को यसरी माघ आठको समर्थन र विरोधमा एकैपटक रहन सक्छ ? कमरेड प्रचण्डको कुरै अर्को छ । उनी त अचम्मैले संविधानसभाभित्र पनि मजैले मौजुद छन् । र सोही बखत बाहिर सडकमा पनि देखिन्छन् । यसरी कमरेड प्रचण्ड एकसाथ माघ आठमा \’संविधान ल्याउन र नल्याउन\’ दुवै कुरामा प्रतिबद्ध रहेका छन् ।

अन्त्यमा,

यो माघ आठको गणित जति जटिल भए पनि मेरो विचारमा सो दिन संविधान आउनेवाला छैन । यो अन्तिम घोषित मितिमा नआउनुको मतलव संविधान मृत हुनु होइन र ? यसर्थ म चिन्तित भएको छु । यसको अर्को कारण यही समयमा आर्यघाटमा भइरहेको हड्ताल पनि हो । किनभने मृतात्माको उचित दाहसंस्कार हुन नसके प्रेत योनिमा जाने खतरा हुन्छ ।

कान्तिपुर दैनिक

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दुःसमय

दुःसमय

विमल निभा
ज्वाइँबाबा

ज्वाइँबाबा

विमल निभा
छेपाराख्यान

छेपाराख्यान

विमल निभा
जुत्ता

जुत्ता

विमल निभा