साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भासनको आतङ्क

Nepal Telecom ad

कहिले देशको कुनाकाप्चातिर पैरो बाढी, अनिकाल, महामारी, भोकमरी सुख्खाका समस्या पर्छन् । कहिले सर्पको बिगबिगी पर्छ, कहिले भने हात्तीहरु आएर जनतालाई आतङ्कित पार्दछन् । कहिले बर्डफ्ल्यू, कहिले इन्सेफलाइटिस, कहिले हैंजा, कहिले जन्डिस, कहिले के त कहिले के । रोग, महामारी आदिको आतङ्क सधैं उठिरहन्छ देशभरि । एउटा न एउटा समस्याले देशका अप्ठेरो पारिरहेको हुन्छ । मलाई भने अर्कै खालको आतङ्कको सामना गरिरहनु परेको छ । दिनको एउटा न एउटा सभा सम्मेलन आदिमा सामेल हुनु परेको छ परेको छ । कान कम सुन्नाले अलिकति फाइदा भने भएकै छ । मत्लब म भासनको आतङ्मा परेर पिल्सिएको छु । मलाई लाग्छ अहिले देशमा भासनको आतङ्क देशभरि छाएको छ ।

कुरा अलिक रिस उठ्तो पनि होला । तर यथार्थ नै हो । देशका सबैतिर मन्त्री, नेता, पार्टीका सभापति, विशेष अतिथि, सल्लाहकार, सम्मानित प्रतिभा, लेखक, सम्पादक, कलाकार आदि सबैका भासनले पिटेको छ । पानी परेपछि चैत्र बैसाखतिर छिचिमिरो पलाएझैं भासनेहरु पलाएका छन् । जनताहरु यिनका भासनले लोत भइसकेका छन् । कुनै छेक चाहिँन्न यिनलाई भासन बगाउन । कुनै भद्रो हेरिरहनु पर्दैन यिनले भासन चुहाउन । जनताले यिनले घोप्ट्याएको भासन मात्र सुनिदिनुपर्छ । जनता भनेका यिनका लागि मानौं रित्ता पेट भएका भोका प्राणीहरु हुन् जसले यिनको भासन खाएर पेट भर्दछन् र निर्बाह गर्दछन् । अनि जनता भनेको यिनको भासनको ताली हो जसले यिनलाई भासनै पिच्छे थपडी बजाउनुपर्छ ।

एउटा स्रोताहरुले घन्चमन्च भएको सभाको कुरा सुनाऊँ कि ? अनुमति भए सुनाउँछु है त ।
सभापतिलगायत्का भासनभोगीहरुको दुई घन्टा ढिलो गरी उपस्थिति भए तापनि आयोजकले ल्याइएका सबैलाई कफ्र्यू लगाएर बाहिर जानबाट रोक लगाएका थिएछन् । कोही भाग्ला भनेर ढोकामा मुस्तन्डहरुलाई तैनाथी गरिएको रहेछ । मलाई भने घरीघरी लघुशंका गरिरहनु पर्ने हुँदा घरीघरी बाहिर जानु परिरहन्छ । यसै भएको हुनाले मैले मुस्तन्डका साथ अग्रिम रुपमा अनुमति लिएँ लघुशंकाको । लामो बसाइ पछि पनि आसन ग्रहण नभएकोले मलाई बाहिर जानु पर्ने भयो । अनुमति लिएकै भए पनि सभाबाट बल्लबल्ल बाहिर निस्कने मौका मिल्यो । भेला भएकाहरु छाँटिएलान् भनेर निकै कडाइका साथ मुस्तन्डहरुको पहरा लगाइएको थियो । म पनि तिनै मुस्तन्डहरुको खोरमा परेको थिएँ । कोही हाइ गर्थे, कोही खैनी माडेर खाइरहेका थिए, कोही गुट्खा चपाउँदै थिए । कोही के त कोही के ।

बल्ल बल्ल कार्यक्रम सुरु भयो । आसन ग्रहणको कार्य नै पहिले हुने चलनअनुसार पहिले आसन ग्रहणको कार्यबाट कार्यक्रम थालियो । पहिले सभापति आसनमा बसे । अनि सभापतिको आज्ञाले अब मञ्चतिर तलको भएभरको डफ्फा सर्न थाल्यो । मुख्य अतिथि, प्रमुख अतिथि, विशेष अतिथि, अतिरिक्त अतिथि अनि अन्य अनेकौं अतिथिहरुको मात्रै हुल पनि त्यस सभामा जम्मा १० थान पुग्यो । त्यसपछि मञ्चमा अझै अरुअरुलाई आसिन गराउने काम शुरु भयो । देशका सबै पार्टीहरुका प्रतिनिधिहरु नभए पनि तेह्र पार्टीका प्रतिनिधिका रुपमा जम्मा तेर थान माथि उक्लिए । आयोजकलाई कुर्सी मिलाउँदाको हैरान छ, माइकबाट सबैको नाम लिएर मञ्चमा बोलाउने काम भइरहेको छ । पार्टीका १३ थान माथि उक्लिएपछि पालो आयो पार्टीका भ्रातृसंगठको । उनीहरु पनि पालै पालो माथि उक्लिँदै गए । मञ्च भन्दा तलको हलबाट क्रमशः मान्छेहरु माथि सर्दै गए, हलका कुर्सीहरु रित्तिनै नपाई माथितिर सारिन थालियो । मान्छेहरु तलबाट क्रमशः माथितिर उक्लिएका छन् । म हेरेको छु । अचम्मका साथ हेरेको छु । एकै छिन पछि मञ्चमा अब सम्भावित राज्यहरुका प्रतिनिधलाई बोलाउने काम सुरु भयो । पहिले कोचिलाको प्रतिनिधि, त्यसपछि खम्बुवान, लिम्बुवान, थरुहट, ताम्सालिङ, झाम्सालिङ, बोक्सालिङ ज्यापू प्रान्त, खरिया राज्य, बाहुन राज्य आदि सत्र थानसम्मका राज्यहरुका प्रतिधिहरु माथि उक्लिए । सुरुसुरुमा ता तलका मान्छेहरु माथितिर बोलाउँदा तलतिरैबाट ताली पिड्ने पनि केही बँचेका थिए तर अब ताली पनि माथिबाटै पिटिन थाल्यो । अर्थात् कुरा बुझियो होला ।

माथि बोलाउँदा बोलाउँदा उद्घोषकको गलो पनि सुकिसक्न आँटेको बुझिन्थ्यो । अब ता माथि बोलाउने काम सकियो कि भनेर यसो विचार गरेको ता बाबा ठाकुरे हो अझै पो सकिएको रहेनछ । पूर्व पञ्च, पूर्व पार्टी प्रतिनिधि, पूर्व सभापति आदि पूर्वहरुको पालो आयो र उनीहरु पनि उक्लिए । यति भएपछि कार्यक्रम सुरु हुन लाग्यो, मलाई निकै पटक बाहिर जान मन लागे पनि कडा अनुशासनमा छु । स्वागतमन्तव्यको पालो आएको बुझें । त्यसै बेला तल लगभग रित्ता हलको पल्लो छेउबाट एउटा आवाज आयो– “यो अन्याय भयो, यस्तो पक्षपात गर्न पाइन्न । खै हामीलाई आसनग्रहण गराएको ?”

कुरा बुझ्दा महिला प्रतिनिधिको कोटा खालि नै रहेछ । त्यस बाहेक तेस्रो लिङ्गीलाई पनि सभामा माथि लगिएको रहेनछ । त्यसको जोडदार विरोध गरिएको रहेछ । सभापतिबाट आफैं आफ्ना आसनबाट उठेर माइकमा आई क्षमा माग्दै आसन ग्रहण गर्न आग्रह भयो । त्यसै बेला मेरा नजिकै एउटा युवक हस्याङ्फस्याङ् गर्दै आयो र मसँग आग्रह ग¥यो—“अङ्कल कुर्सी दिनुप¥यो । अघि तपाईं्रले पिसाप गर्न जान्छु भनेको होइन ? लौ बरु पिसाप गर्न जानुहोस्, याँ हामीलाई कुर्सीको समस्या परिसक्यो । तर भाग्न भने पाउनुहुन्न नि !”
“हुन्छ भाइ, म भाग्दिन, धन्य छ तिमीलाई । मलाई पिसाप फेर्न जान दियौ तिमीलाई धन्यवाद !’ भन्दै म बाहिर निस्किएँ ।
“लौ जानु होस् तपाईंलाई छुट्टी भयो ।” उसले बडो सजिलै मलाई बिदा दियो । अनि म हलुकिन गएँ शौचालयतिर । फर्किएर हेर्छु त अघि म बसिराखेको कुर्सी कहिले कहिले माथि चढेछ जसमा महिला अतिथिलाई राखिएछ । म एउटा कुनामा उभिएर भासन सुन्न थालें ।

अघिकै युवक आएर मसँग भन्न थाल्यो— ‘के गर्ने अङ्कल, आज यस्तै भयो । कुर्सी जति माथि मञ्चमा पुगिगए, तपाईं अप्ठेरो नमान्नु होला ।धन्न हाम्रो मञ्च ठुलाे रहेछ नत्र ता फसादै पर्ने रहेछ । ”
“हो भाइ, मलाई अप्ठेरो लाग्या छैन, बरु अब कुनै पनि ठाउँमा स्रोताले बस्ने भन्दा मञ्चमा आसीन हुनेको संख्या बढी हुने भएकोले मञ्चको आकार चौगुणा पार्नुपर्छ है” मैले भने । मेरो ठट्टा उसले राम्रो गरी बुझेछ अनि भन्यो– “अङ्कल पनि क्या जिस्कनुहुन्छ ?’

मैले यसो हेरें सभाको स्रोता बस्ने हलतिर जम्मा दुई जना क्यामरा म्यान रहेछन्, केही चिचिला जस्ता विद्यार्थीहरु रहेछन् र केही बलपूर्वक ल्याइएका मान्छेहरु रहेछन् । त्यसबाहेक म रहेछु, अनि त्यही युवक रहेछ । अनि फेरि युवकसँग ठट्टा गर्न मन लाग्यो—“भाइ, अब स्रोताहरु पनि माथि नै गैहाले । त्यसो भएकोले हामी तलका केही स्रोताहरुलाई बिदा दिए हुन्न । बरु अब भासन गर्न यहाँ तल स्रोता बस्ने ठाउँमै माइक ल्याएर राखेर माथि मञ्चतिर माइक फर्काउन पाए कसो होला ?” ऊ हाँस्यो मात्र ।

मैले अझै ठट्टा गरें– ‘तिमीलाई कुर्सीको खाँचो परेकोले गर्दा मलाई ता पिसाप गर्न जान दियौ, यी भुइँमा बसेकाहरुलाई पिसाप आयो भने के कोपरा लिएर थाप्छौ ?”
“कस्तो हसाउँनु भाको ! चुप लाग्नुहोस् । माथिबाट ध्यानपूर्वक सुनिदिने कडा आदेश छ ।”
देशमा कति कित्ता काट्दा देशको विकास हुन्छ भन्नेदेखि लिएर कुन जातिलाई कतातिर थन्क्याउँदा उपयुक्त हुन्छ भन्ने कुरा कानभरि सुन्दै भासनको आतङ्कले मेरा कान भरिंदै गए, भासनको खहरे नै छुट्यो । कानका जाली फुट्ने डरले मैले अलिक सतर्क हुनै परेकाले कन्याएको जस्तो निहुँ पारेर कान थुनें ।
एउटा साधारण स्रोताले तलैबाट भन्यो “अब ता रात परो, भासन सक्ता कसो पर्ला ? घर जानु पर्ने, गाईले अरुलाई दुध दिँदेन, त्याँ सभापतिकोमा दुध पु¥याउनुु छ ।”
“केको भासन सक्ने ? भर्खर आसनग्रहण मात्र भा छ ।” अर्काे कसैले भन्यो ।
माथिको आदेश भनेर उसलाई त्यही युवकले थुम्थ्युम्याउँदै चुप लगायो । “तपाईंलाई दिउसो भरिको ज्याला दिएकै छ, किन हतारिनु हुन्छ ? गाई कसैले दुही हाल्छ नि ।”

त्यसै बेला लोडसेडिङ परिदिएकोले सभा सकिएको जस्तो बुझेर म त्यस आतङ्कबाट फुत्किएँ ।
बाहिरबाट सुन्दा हलमा हल्लखल्ल चल्दै थियो । पछि थाहा भयो लालटिन बालेर भए पनि सभा सकेरै छाडेछन् । धन्न म भने त्यस आतङ्कको अन्तबाट बचें ।
धन्य छ लाेडसेडिङ नत्र त म अाज यसै अातङ्कमा परेर खुइलिने थिएँ ।
मझेरी डटकम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x