चट्याङ मास्टररिमोट छुटेछ !
घरमा दिउँसै एक हुल चोरहरू पसे,
देखादेख पूरै घर लुटे र टिभी समेत उठाएर लगे
घरवाला पछि पछि दौडदै गएर भन्यो–
‘ए हजुर, पर्खनुहोस्, यो लिएर जानुहोस्, रिमोट छुटेछ !’
चोरहरू हिँडी सके
चोरलाई रोक्न आफू एक्लै सकिँदैन,
शहरमा हार पाइन्छ छिमेकीको गुहार पाइँदैन
पुलिसलाई फोन गरौँ, फोन लाग्ने हो कि होइन
फोन लागे पनि ऊ आइपुग्ने हो होइन
‘ए हजुर, पर्खनुहोस्, यो लिएर जानुहोस्, रिमोट छुटेछ !’
पुलिस आइपुगुन्जेल चोरले कुर्ने होइन
आए पनि कुन बेला के कसरी आदि उसैलाई अथ्र्याउँदै हैरान
सके आफैलाइ थानामा बोलाउला, के ठेगान ?
‘ए हजुर, पर्खनुहोस्, यो लिएर जानुहोस्, रिमोट छुटेछ !’
पुलिसले आएर समाती नै हाल्यो भने पनि
आज समातेर भोलि छोडी दिन्छ
छुटेको चोरले पछि आएर आफैंलाई मार्ला भन्ने डर हुन्छ
‘ए हजुर, पर्खनुहोस्, यो लिएर जानुहोस्, रिमोट छुटेछ !’
पुलिस मुछिए पछि मुद्दा हाल्न पर्ला
अड्डा अदालत र वकिलको चक्कर काट्नुपर्ला
नेपालको कानुन दैब जानुन् भन्छन्
मुद्दा उल्टिएर आफै झ्यालखान बस्नु पर्ला
‘ए हजुर, पर्खनुहोस्, यो लिएर जानुहोस्, रिमोट छुटेछ !’
जसले उमेरमा हवाइजहाज अपहरण गरे, लुटे, मानिस मारे, चोरे, ठगे
तिनै देशका मन्त्री, प्रधानमन्त्री र ठुला नेता भएका छन्
त्यत्तिको सम्भावना त यी चोरले पनि त बोकेका छन्
यिनीहरू यो देशका ठुला मानिस बनिसकेपछि भेट देलान् नदेलान्
बरु अहिले यति चाकरी गरेपछि काम लाग्लान् !
‘ए हजुर, पर्खनुहोस्, यो लिएर जानुहोस्, रिमोट छुटेछ !’
पाँच वर्षको छोरो चस्मा लगाउनु पर्ने भई सक्यो
श्रीमतीलाई खाना पाक्यो भनेर सोध्नुको सट्टा
तिम्रो मन परेको टीभी सिरियल सकियो ? भनेर सोध्नु पर्ने भई सक्यो
‘ए हजुर, पर्खनुहोस्, यो लिएर जानुहोस्, रिमोट छुटेछ !’
कुन कुन साथीले कुन कुन कार्यक्रम हेरेका हुन्छन्
भेट हुने बित्तिकै अगाडि प्रश्न तेर्सिन्छ
हिजो फलानो कार्यक्रम हेर्नु भयो ? कस्तो लाग्यो ?
त्यस्ता प्रश्नको दिनाका दिन सामना गर्नुभन्दा
‘ए हजुर, पर्खनुहोस्, यो लिएर जानुहोस्, रिमोट छुटेछ !’
कहिले फोनमा कसैको आदेश आउँछ–
‘फलानो कार्यक्रम आउँदै छ है, हेर्नुहोला !’
कहिले एसएमएस मेसेज आउँछ–
यति बजे यो च्यानलमा त्यो कार्यक्रम नछुटाउनु होला !
ती सबैका आदेश मान्न पर्नुभन्दा
‘ए हजुर, पर्खनुहोस्, यो लिएर जानुहोस्, रिमोट छुटेछ !’
आफूले नामै नसुनेको कुरो किनिदिनुहोस् भन्छ छोरो
कुन्नि के हो टिभीमा देखाए जस्तै रे
कहिल्यै आवश्यक नपरेको कुरो किन्न छोरीकी आमा गनगन गर्छे
टिभीमा देखाएको थियो रे
त्यस्ता आपत दिनका दिन बेहोर्नुभन्दा
‘ए हजुर, पर्खनुहोस्, यो लिएर जानुहोस्, रिमोट छुटेछ !’
आफूले टिभी हेर्न मन लागेको बेला बिजुली हुँदैन
बिजुली भएको बेला आफूलाई हेर्न मन हुँदैन या फुर्सद हुँदैन
आफूलाई चाहिएको बेला घरका कसैलाई बोलाउन पाइँदैन
टिभी हेर्न लागेका बेला कसैलाई डिस्टर्ब गर्न मिल्दैन
हजार समस्याको एक उपाय
‘ए हजुर, पर्खनुहोस्, यो लिएर जानुहोस्, रिमोट छुटेछ !’
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest