साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होइन त हजुर ?

Nepal Telecom ad

महामहिम प्रमुख आयुक्तज्यूका हजुरमा केही आहि्रसे पत्रकारले लेख-रचनामार्फत औँलो ठड्याएको असह्य भएकाले हजुरका प्रशंसकहरूका तर्फबाट यो प्रतिरोधपत्र पेस गरिएको छ । हजुरको भीमकाय शरीर, खरो स्वभाव र प्रखर भाषणकला देखेर दुगुरे भ्रष्टहरू लुगलुग कामिरहेका छन् । नियमानुसार पाउने तलब थाप्दा पनि नोटमा हजुरको हस्ताक्षर छ कि भनेर परैबाट हेर्छन् । यसरी हजुरको नेतृत्वमा भ्रष्टाचारीको दोहोलो भएको देखेर केही मानिस हजुरका विरुद्ध उत्रिएका छन् । हजुरको व्यक्तित्व देखेर डाहले छटपटाइरहेका छन् । तिनीहरू जीवनभरि काममा घोटिँदा पनि तिनीहरूसँग सात पुस्ता त के आफैँलाई राम्ररी खान पुग्ने पैसा छैन, घरमा गाडीका लस्कर छैनन्, नोकरचाकर छैनन्, हुक्के-बैठके छैनन् । पाखुरामा शक्ति, तिघ्रामा बल र गालामा रगत छैन । त्यसैले तिनीहरू हजुरको खनिखोत्रो गर्छन्, मानमर्दन गर्छन् र भँगेराको पित्तजत्रो आफ्नो चित्तलाई शान्त बनाउँछन् ।

हजुरले भुरा भ्रष्टहरूलाई खेदो गरेको तर ठूला भ्रष्टलाई नसमातेको भनेर भुरे पत्रकारहरूले लेखेछन् । ठूला भ्रष्टज्यूहरूलाई समात्नै मिल्दैन । कति कोमल हुन्छ, उहाँहरूको शरीर ! कति उच्च हुन्छ, उहाँहरूको प्रतिष्ठा ! उहाँहरूलाई समातेर आफ्नै वर्गको बेइज्जत गर्न हुन्छ हजुरले ? फेरि ठूला भ्रष्टज्यूहरूलाई बाटबाटै समात्न सकिँदैन त ! उहाँहरू हत्तपत्त जमिनमा गुड्नुहुन्न । आकाशमा उड्नुहुन्छ । घरमा पस्नुहुन्न, दरबारमा बस्नुहुन्छ । ठूलठूला सभा-समारोहमा अतिथि बनेर हजुरकै साइडमा खुट्टा हल्लाउनुहुन्छ । कतिपय त हजुरका पिठ्यूँमा झुन्डी बस्नुहुन्छ, देखिँदै देखिनुहुन्न । उहाँहरू खुद्रे भ्रष्टहरूले जस्तो फुटकर नेरु समात्नुहुन्न । डलरका बिटा बैंकतिरै राख्नुहुन्छ, त्यो पनि अरूअरूकै नाममा । अनि, कसरी समात्नु उहाँहरूलाई ! होइन त हजुर ?

हजुरलाई फत्तुर लगाउनेहरूलाई के थाहा, भ्रष्टाचारमा भएको प्राविधिक विकास ! ठूला भ्रष्टाचारीहरू अचेल \’ई-भ्रष्टाचार\’ गर्छन् । प्रमाणहरू तुरुन्तै डिलिट गर्छन् । बैंक, नेट, मोबाइलमार्फत कारोबार गर्छन् भनेर हजुरले भनिसक्नुभयो नै । हजुरलाई सिकाउन खोज्छन्, यी पत्रकारहरू ! आमाका काखमा बसेर मामाको जीवनी ! होइन त हजुर ?

हजुरको आयोगमा पदपूर्ति नगरिएकामा पनि एक जना पत्रकार डाहले भुतुक्क भएका रहेछन् । हजुरको आयोगमा हजुरको मर्जी, कसैलाई के चासो ! बिराला धेर भए भने मुसा मार्दैनन् भन्ने कुरा त संविधानसभा हेरेर पनि थाहा हुनुपर्ने । एउटै ठूला ढाडेलेे मुसाहरूलाई तिरीखिरी पारेकै छ, किन चाहियो साना ढाडेहरू ! खानका कालहरू ! होइन त हजुर ?

हजुरले राष्ट्रपति र प्रधानमन्त्रीलाई अगाडि राखेर एक घन्टा भाषण पिलाउनुभयो भनेर पनि ती पत्रकारले आक्रोश पोखेछन् । तिनीहरू छन् नै त्यसै लायक । नांगै, भुतुंगै, भोकै, तिर्खै, माटोमा लडीबुडी गर्दै कुन देहातमा हुर्केबढेर बल्लबल्ल तिनीहरू त्यो पदमा पुगेका हुन् । पदमा पुग्दैमा तिनीहरूले सबै कुरा जान्छन् भन्ने के छ ? तिनीहरूलाई हजुरजस्तो सम्भ्रान्त, सभ्य, पढेलेखेको, अनुभवी विद्वान्ले नसिकाए कसले सिकाउँछ ? उनीहरू हजुरका दिव्यवाणीहरू सुनेर दंग पर्दै ताली बजाउँछन् भने कुनै पत्रकारको टाउको किन दुख्छ ! होइन त हजुर ?

यस्ता आहि्रसे पत्रकारहरूसँग हजुरजस्तो महामहिमले मुखमुखै लागेको सुहाउँदैन हजुर । हजुर कानमा तेल हालेर दुनियाँलाई यसै गरी थर्काउँदै अघि बढिबक्स्योस्, इतिहासमा अमर भइबक्सनेछ । हामी साथमा छौँ । होइन त हजुर ?
नेपाल साप्ताहिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x