साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यी हाम्रा छविलालहरू

Nepal Telecom ad

संस्कृत शब्दकोषअनुसार छवि शब्दको अर्थ प्रकाश हो किरण हो । आद्र्रा नक्षत्रको अन्तिम चरणमा जन्मेका शिशुको नाम राख्नु पर्दा ज्योतिषीहरूले छ अक्षरबाट सुरु हुने नाम जुराउने परम्परा थाहा पाइएको हो । छविलाल त्यसैमध्येको एउटा नाम हो । अहिले पनि हाम्रो मुलुकमा छविलाल नाम भएकाहरू धेरै हुन सक्छन् । अहिले छवि शब्दको अर्थविस्तार भएको छ । राजनीतिमा यो शब्द नैतिकता र चरित्रको अर्थमा प्रयुक्त हुनथालेको छ । 
लाल संस्कृत शब्द होइन । नेपाली पनि होइन । यो आयातित शब्द हो । आफ्नो रैथाने ठाउँमा यो शब्दको अर्थ रातो रंङ्गवोधक रहेको पाइन्छ । बालक छोरालाई मायासाथ सम्वोधन गर्दा पनि हिन्दीभाषीहरू मेरे लाल भन्छन् । जस्तै कृष्ण कन्हैयाको एउटा नाम नन्दलाल पनि हो । नेपालीमा लालुपाते, लालपत्ता, फूलका नाउँ रहेका पाइन्छन् । अर्को शब्द छ लालाबाला । यो शब्द कलिला बालबालिका भन्नुपर्दा प्रयोग गरिन्छ । एकताका उच्च स्तरीय सरकारी छापको नाउँ नै पनि थियो लालमोहर । आद्योपान्त आयातित शब्द । व्यक्तिका नाममा पुच्छर बनेर टाँस्सिने लाल त धेरै भेटिन्छन् । जस्तै श्यामलाल, वुद्धिलाल, रत्नलाल, बाबुलाल आदि । कति नामका अगाडि नै पनि गाँसिन पुगेको छ लाल । जस्तै लालध्वज, लालसिंंह, लालबहादुर, लालप्रसाद, लालबीर आदि । फूल, बालक र सरकारी छाप हुँदै अनेकौं नागरिकका नामनामसम्म लुसुक्क छिरेर फैलिन यो लाल शब्द कसरी सक्षम भयो जिज्ञासुका लागि खोजीको विषय हुन सक्छ । केही मर्मज्ञ बुढापाकाहरू भन्छन्, “चौबीसै घण्टा खुल्ला ढोका रहने परिपाटी रहेको भएपछि यस्तै हो । छिर्न पर्ने नपर्ने सबै छिर्छन् । छिरिरहेका छन् । जङ्गलनजिकै रहेको गरीबको छाप्रो खुल्ला भेटेपछि स्याल, कुक्कुर, ब्वाँसो, चितुवा, सिंह, गैंडा, हात्ती जे पनि छिर्छ । छिर्नैपर्ने ठाउँ ठान्दै छिर्छ । अधिकार जमाउँदै छिर्छ । छिरिरहेकै छ । बिचरो लाल शब्द छिर्नु त कुन ठूलो कुरा भयो र ?”
नेपाली राजनीतिमा लाल शब्द छिरेको चाहिँ सातसालपछि मात्रै हो । नेपाली कम्युष्टिहरूले अङ्ग्रेजी भाषामा प्रचलित रेडस्याल्युटलाई रातोअभिवादन शब्दमा रुपान्तरित गरेर चलनचल्तीमा ल्याउन सक्थे । त्यसो गरेनन् । छिमेकी मुलुकले चलाएको लालसलामलाई नै टपक्क टिपे । नेपालमा लाल कम्युनिष्ट नाम राखेको एउटा पार्टी नै पनि एक समय चर्चामा आयो । संयोगको कुरा हो, शव्दबाट सधैँ रस मात्र पस्दैन, बेलामौका खतरनाक भाइरस पनि पस्छ । पसेको पाइएको छ ।
अहिले रातो अथवा क्रान्तिको अर्थवोधक लालको हालचाल ठीक छैन । अर्थगत मौलिकताको अनिकालमा परेको छ लाल । कालोदेखि निलो पहेंलोसम्मका विभिन्न रङ्गको मिसमासमा परेको छ । तर पनि शब्दका तहमा अझै हराएको छैन लाल । लालसलाम पनि यदाकदा सुनिन्छ । कसैका लाल हुन पाएमा निहाल र नपाएमा बेहाल बन्ने प्रवृत्तिले चरिफालमा परेका हालसालका लालहरू पहिचानकै अनिकालमा पर्ने चालढाल पनि देखिन थालेको छ । यसैले अहिले यस क्षेत्रका उद्भट् छविलालहरूकै पनि लाल ओझेलमा परेको छ र मात्र छविको चर्चा छ ।
राजनीतिमा छविले चर्चा पएको मुख्यतः पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा हो । प्रत्यक्ष शासक राजाबाट मन्त्री र राजदूत बनाउन स्वच्छ छविका व्यक्तिहरू खोजिएको छ भन्ने हल्ला नाटकीय रुपमा हावामा तरङ्गित हुन आयो । कांग्रेस एमालेका वरिष्टदेखि कनिष्टसम्मका राजनेताहरू वुद्धिजीवीहरू “म स्वच्छ छविको छु सरकार,” भन्दै विन्तीपत्र लिएर बाहुलीमा चढाउन नारायणहिटीको ढोकामा पुगे । को को पुगे राजनीतिक वृत्तमा पटक पटक चर्चा भइसकेकै छ ।
मुलुकमा जनयुद्ध रोकियो । जनआन्दोलन भयो । संसद पुनःस्थापित भयो । गणतन्त्र पनि फुत्तै आयो । त्यसपछि फेरि एक पटक लालको चर्चा आयो । छविको चर्चा आएन । चर्चामा आएका छविलालले पनि नाम फेरिसकेका थिए । कसैलाई अलि दिन लाल चाहियो । अव छवि कस्ौलाई चाहिएन । छविको आवश्यकता नै रहेन मुलुकमा ।
दिन महिना र वर्षहरू बित्दै गए । संविधान बनाउन बनेको संविधानसभा दोब्बर आयु थपिँदा पनि संविधान बनाउन नसकेर हाहाकार गर्दै दिवङ्गत भयो ! संक्रमणकाल लम्बिनु थियो, लम्बियो । राजनीतिक दलहरू दिनप्रतिदिन रङ्गहीन, ढङ्गहीन र अङ्गहीन हुदै गए । जनजीवनमा र आपसमा पनि आस्था, विश्वास, र आशाभरोसाहीन, हुँदै गए । संविधान बनाइनुको समस्या यथावत् थियो । विकल्पहरू नरहेका थिएनन् । तर पनि सम्बिधान बनाउन अर्को संविधानसभा नै चाहियो । चुनाव नै चाहियो । चुनावी सरकार बन्न बनाइन कुनै दलको कुनै दलप्रति विश्वास नबनेपछि अन्तमा निर्दलीय सरकार बनाइयो ।
यसैबीच विभिन्न पर्वमा पशुपतिनाथको मुलुक नेपालबाट पण्डा मूलपण्डा निमन्त्रण भोजनको परम्परागत संस्कृति कायम राखिआएको छिमेकी मुलुक भारतले सन्दर्भ मिलाएर माओवादी र एमालेका वरिष्ट नेताहरूलाई निमन्त्रण, भ्रमण, भोजनसमारोह सम्पन्न गराइसकेपछि नेपालीकांग्रेसका वर्तमान अध्यक्ष सुशील कोइरालालाई पनि निम्ता दियो । भ्रमण भोजन सकिएर फकर््mन लाग्दाका क्षणमा पत्रकारले “तपाईँलाई त कतिले भारतविरोधी पनि भन्छन्, निम्ता पनि सवैभन्दा पछि पाउनुभयो” भन्ने जिज्ञासा राख्दा जवाफमा सुशील कोइरालाले भन्नुभयो, “मेरो छवि विगार्न विरोधीहरूले यस्तो भनेका हुन्, म त्यस्तो होइन !”
एक जना पूर्वमन्त्रीले यो समाचार पढेर हाँस्दै भन्नुभयो, “देख्नु भयो त ? कहाँ रहँदो रहेछ नेपाली राजनेताहरूको छवि ? भारतसमर्थक हुँदा भरिपूर्ण बन्छ । भारतविरोधी हुँदा छवि खत्तम भइदिन्छ । सत्तासीन हुन चाहने आजका हामी राजनेताहरू बाहिरी नाम थर गोत्रमा जे जे भए पनि छिमेकीका दृष्टिमा विश्वसनीय किसिमको छविलाल हुनै पर्ने भएको छ । के गर्ने ? हामी राजनेताहरूको छवि उत्पादन गर्ने कारखाना नै त्यतै छ । थोक खुद्रा सवै विक्री वितरणका पसल नै त्यतै छन् । यहाँ नेपालमा त के छ र ?, बुझ्नु भो ? हा…हा…हा..।”
“नेपालमा नेपाली जनता छ । नेपाली राजनेताहरूमा म नेपाली हूँ, नेपाल र नेपालीका हित भलोका लागि मैले काम गर्नुपर्छ भन्ने प्रतिवद्धता हुनुपर्छ । आफ्नै खुट्टामा उभिने, हिँड्ने हुति गति र इच्छाशक्ति हुनु पर्छ । देश र जनतामाथि भरविश्वास हुनुपर्छ । नेपाली राजनेताहरूले नेपाली जनतामा नै आफ्नो छवि निर्माण गर्नुपर्छ । हैन र ?” मेरो यस भनाइलाई पनि हा..हा..हा..मा उडाइिदिनुभयो गजधम्म व्यक्तित्वका विशेष छविसम्पन्न पूर्वमन्त्रीले ।
अहिले दोस्रो संविधान सभाको चुनाव नजिक्किँदो छ । दलदलमा नाचिआएका सवै दलहरू उम्मेदवार तय गर्ने मिटिङमा व्यस्त छन् । त्यहाँ समय समयमा छविको प्रसङ्ग उठ्न थालेको छ । कथित राष्ट्रिय नेताहरू त जन्मजात छविलालका रुपमा स्थापित छँदैछन् । बाँकी नयाँको प्रसङ्गमा छविको चर्चा चलेको सुनिन्छ । पहिले पहिले जस्तो विशेषण लागेको छैन छविमा । छवि एक्लो छ । एक्लै छविका छविलालहरू चाहिएका छन् उम्मेदवार बनाउन । स्थापित छविलालहरू आफूजस्तै नयाँ नयाँ छविलालका चयनमा छन् । जनता सर्वत्र मिचिँदो सीमाको जात्रा हेरिरहेको छ । मुटुमा ढुङ्गा राखेर जात्रा हेरिरहेको छ । हाम्रा छविलालहरू आफ्आफ्ना छविमा आफै मोहित छन् । लाडला लाल त म नै हूँ भन्ने मोहमा मोहित छन् हाम्रा छविलालहरू ।
गज्जव छ छविसर्जकको लीला र हाम्रा छविलालहरूको लीलानाच ।
sramannepal@gmail.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x