मुक्तिबन्धुयी हाम्रा छविलालहरू
संस्कृत शब्दकोषअनुसार छवि शब्दको अर्थ प्रकाश हो किरण हो । आद्र्रा नक्षत्रको अन्तिम चरणमा जन्मेका शिशुको नाम राख्नु पर्दा ज्योतिषीहरूले छ अक्षरबाट सुरु हुने नाम जुराउने परम्परा थाहा पाइएको हो । छविलाल त्यसैमध्येको एउटा नाम हो । अहिले पनि हाम्रो मुलुकमा छविलाल नाम भएकाहरू धेरै हुन सक्छन् । अहिले छवि शब्दको अर्थविस्तार भएको छ । राजनीतिमा यो शब्द नैतिकता र चरित्रको अर्थमा प्रयुक्त हुनथालेको छ ।
लाल संस्कृत शब्द होइन । नेपाली पनि होइन । यो आयातित शब्द हो । आफ्नो रैथाने ठाउँमा यो शब्दको अर्थ रातो रंङ्गवोधक रहेको पाइन्छ । बालक छोरालाई मायासाथ सम्वोधन गर्दा पनि हिन्दीभाषीहरू मेरे लाल भन्छन् । जस्तै कृष्ण कन्हैयाको एउटा नाम नन्दलाल पनि हो । नेपालीमा लालुपाते, लालपत्ता, फूलका नाउँ रहेका पाइन्छन् । अर्को शब्द छ लालाबाला । यो शब्द कलिला बालबालिका भन्नुपर्दा प्रयोग गरिन्छ । एकताका उच्च स्तरीय सरकारी छापको नाउँ नै पनि थियो लालमोहर । आद्योपान्त आयातित शब्द । व्यक्तिका नाममा पुच्छर बनेर टाँस्सिने लाल त धेरै भेटिन्छन् । जस्तै श्यामलाल, वुद्धिलाल, रत्नलाल, बाबुलाल आदि । कति नामका अगाडि नै पनि गाँसिन पुगेको छ लाल । जस्तै लालध्वज, लालसिंंह, लालबहादुर, लालप्रसाद, लालबीर आदि । फूल, बालक र सरकारी छाप हुँदै अनेकौं नागरिकका नामनामसम्म लुसुक्क छिरेर फैलिन यो लाल शब्द कसरी सक्षम भयो जिज्ञासुका लागि खोजीको विषय हुन सक्छ । केही मर्मज्ञ बुढापाकाहरू भन्छन्, “चौबीसै घण्टा खुल्ला ढोका रहने परिपाटी रहेको भएपछि यस्तै हो । छिर्न पर्ने नपर्ने सबै छिर्छन् । छिरिरहेका छन् । जङ्गलनजिकै रहेको गरीबको छाप्रो खुल्ला भेटेपछि स्याल, कुक्कुर, ब्वाँसो, चितुवा, सिंह, गैंडा, हात्ती जे पनि छिर्छ । छिर्नैपर्ने ठाउँ ठान्दै छिर्छ । अधिकार जमाउँदै छिर्छ । छिरिरहेकै छ । बिचरो लाल शब्द छिर्नु त कुन ठूलो कुरा भयो र ?”
नेपाली राजनीतिमा लाल शब्द छिरेको चाहिँ सातसालपछि मात्रै हो । नेपाली कम्युष्टिहरूले अङ्ग्रेजी भाषामा प्रचलित रेडस्याल्युटलाई रातोअभिवादन शब्दमा रुपान्तरित गरेर चलनचल्तीमा ल्याउन सक्थे । त्यसो गरेनन् । छिमेकी मुलुकले चलाएको लालसलामलाई नै टपक्क टिपे । नेपालमा लाल कम्युनिष्ट नाम राखेको एउटा पार्टी नै पनि एक समय चर्चामा आयो । संयोगको कुरा हो, शव्दबाट सधैँ रस मात्र पस्दैन, बेलामौका खतरनाक भाइरस पनि पस्छ । पसेको पाइएको छ ।
अहिले रातो अथवा क्रान्तिको अर्थवोधक लालको हालचाल ठीक छैन । अर्थगत मौलिकताको अनिकालमा परेको छ लाल । कालोदेखि निलो पहेंलोसम्मका विभिन्न रङ्गको मिसमासमा परेको छ । तर पनि शब्दका तहमा अझै हराएको छैन लाल । लालसलाम पनि यदाकदा सुनिन्छ । कसैका लाल हुन पाएमा निहाल र नपाएमा बेहाल बन्ने प्रवृत्तिले चरिफालमा परेका हालसालका लालहरू पहिचानकै अनिकालमा पर्ने चालढाल पनि देखिन थालेको छ । यसैले अहिले यस क्षेत्रका उद्भट् छविलालहरूकै पनि लाल ओझेलमा परेको छ र मात्र छविको चर्चा छ ।
राजनीतिमा छविले चर्चा पएको मुख्यतः पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा हो । प्रत्यक्ष शासक राजाबाट मन्त्री र राजदूत बनाउन स्वच्छ छविका व्यक्तिहरू खोजिएको छ भन्ने हल्ला नाटकीय रुपमा हावामा तरङ्गित हुन आयो । कांग्रेस एमालेका वरिष्टदेखि कनिष्टसम्मका राजनेताहरू वुद्धिजीवीहरू “म स्वच्छ छविको छु सरकार,” भन्दै विन्तीपत्र लिएर बाहुलीमा चढाउन नारायणहिटीको ढोकामा पुगे । को को पुगे राजनीतिक वृत्तमा पटक पटक चर्चा भइसकेकै छ ।
मुलुकमा जनयुद्ध रोकियो । जनआन्दोलन भयो । संसद पुनःस्थापित भयो । गणतन्त्र पनि फुत्तै आयो । त्यसपछि फेरि एक पटक लालको चर्चा आयो । छविको चर्चा आएन । चर्चामा आएका छविलालले पनि नाम फेरिसकेका थिए । कसैलाई अलि दिन लाल चाहियो । अव छवि कस्ौलाई चाहिएन । छविको आवश्यकता नै रहेन मुलुकमा ।
दिन महिना र वर्षहरू बित्दै गए । संविधान बनाउन बनेको संविधानसभा दोब्बर आयु थपिँदा पनि संविधान बनाउन नसकेर हाहाकार गर्दै दिवङ्गत भयो ! संक्रमणकाल लम्बिनु थियो, लम्बियो । राजनीतिक दलहरू दिनप्रतिदिन रङ्गहीन, ढङ्गहीन र अङ्गहीन हुदै गए । जनजीवनमा र आपसमा पनि आस्था, विश्वास, र आशाभरोसाहीन, हुँदै गए । संविधान बनाइनुको समस्या यथावत् थियो । विकल्पहरू नरहेका थिएनन् । तर पनि सम्बिधान बनाउन अर्को संविधानसभा नै चाहियो । चुनाव नै चाहियो । चुनावी सरकार बन्न बनाइन कुनै दलको कुनै दलप्रति विश्वास नबनेपछि अन्तमा निर्दलीय सरकार बनाइयो ।
यसैबीच विभिन्न पर्वमा पशुपतिनाथको मुलुक नेपालबाट पण्डा मूलपण्डा निमन्त्रण भोजनको परम्परागत संस्कृति कायम राखिआएको छिमेकी मुलुक भारतले सन्दर्भ मिलाएर माओवादी र एमालेका वरिष्ट नेताहरूलाई निमन्त्रण, भ्रमण, भोजनसमारोह सम्पन्न गराइसकेपछि नेपालीकांग्रेसका वर्तमान अध्यक्ष सुशील कोइरालालाई पनि निम्ता दियो । भ्रमण भोजन सकिएर फकर््mन लाग्दाका क्षणमा पत्रकारले “तपाईँलाई त कतिले भारतविरोधी पनि भन्छन्, निम्ता पनि सवैभन्दा पछि पाउनुभयो” भन्ने जिज्ञासा राख्दा जवाफमा सुशील कोइरालाले भन्नुभयो, “मेरो छवि विगार्न विरोधीहरूले यस्तो भनेका हुन्, म त्यस्तो होइन !”
एक जना पूर्वमन्त्रीले यो समाचार पढेर हाँस्दै भन्नुभयो, “देख्नु भयो त ? कहाँ रहँदो रहेछ नेपाली राजनेताहरूको छवि ? भारतसमर्थक हुँदा भरिपूर्ण बन्छ । भारतविरोधी हुँदा छवि खत्तम भइदिन्छ । सत्तासीन हुन चाहने आजका हामी राजनेताहरू बाहिरी नाम थर गोत्रमा जे जे भए पनि छिमेकीका दृष्टिमा विश्वसनीय किसिमको छविलाल हुनै पर्ने भएको छ । के गर्ने ? हामी राजनेताहरूको छवि उत्पादन गर्ने कारखाना नै त्यतै छ । थोक खुद्रा सवै विक्री वितरणका पसल नै त्यतै छन् । यहाँ नेपालमा त के छ र ?, बुझ्नु भो ? हा…हा…हा..।”
“नेपालमा नेपाली जनता छ । नेपाली राजनेताहरूमा म नेपाली हूँ, नेपाल र नेपालीका हित भलोका लागि मैले काम गर्नुपर्छ भन्ने प्रतिवद्धता हुनुपर्छ । आफ्नै खुट्टामा उभिने, हिँड्ने हुति गति र इच्छाशक्ति हुनु पर्छ । देश र जनतामाथि भरविश्वास हुनुपर्छ । नेपाली राजनेताहरूले नेपाली जनतामा नै आफ्नो छवि निर्माण गर्नुपर्छ । हैन र ?” मेरो यस भनाइलाई पनि हा..हा..हा..मा उडाइिदिनुभयो गजधम्म व्यक्तित्वका विशेष छविसम्पन्न पूर्वमन्त्रीले ।
अहिले दोस्रो संविधान सभाको चुनाव नजिक्किँदो छ । दलदलमा नाचिआएका सवै दलहरू उम्मेदवार तय गर्ने मिटिङमा व्यस्त छन् । त्यहाँ समय समयमा छविको प्रसङ्ग उठ्न थालेको छ । कथित राष्ट्रिय नेताहरू त जन्मजात छविलालका रुपमा स्थापित छँदैछन् । बाँकी नयाँको प्रसङ्गमा छविको चर्चा चलेको सुनिन्छ । पहिले पहिले जस्तो विशेषण लागेको छैन छविमा । छवि एक्लो छ । एक्लै छविका छविलालहरू चाहिएका छन् उम्मेदवार बनाउन । स्थापित छविलालहरू आफूजस्तै नयाँ नयाँ छविलालका चयनमा छन् । जनता सर्वत्र मिचिँदो सीमाको जात्रा हेरिरहेको छ । मुटुमा ढुङ्गा राखेर जात्रा हेरिरहेको छ । हाम्रा छविलालहरू आफ्आफ्ना छविमा आफै मोहित छन् । लाडला लाल त म नै हूँ भन्ने मोहमा मोहित छन् हाम्रा छविलालहरू ।
गज्जव छ छविसर्जकको लीला र हाम्रा छविलालहरूको लीलानाच ।
sramannepal@gmail.com
Subscribe
Login
0 Comments
Oldest








































