चट्याङ मास्टरसहमतीय छलफल
धारामा पानी कति आउँछ कति आउँदैन
कति आउनु पर्ने थियो र कति आयो
ती अलग अलग छलफलका बिषय बन्न सक्छन्
तर धारो र पानी बीच सम्बन्ध छ भन्ने कुरामा त सहमति गरौँ
त्यो सहमतिका लागि बैठक गरौँ कि आन्दोलन गरौँ ?
पित्तलको टुटी भएको धारामा पानी बढी आएको हुनसक्छ
स्टिलको टुटी भएको धारामा पानी कम आएको हुन सक्छ
ती मुद्दा आआफ्ना ठाउँमा ठिक होलान,
हाम्रो पार्टीले त्यसमा लचकता अपनाउने निर्णय गरिसकेको छ
तर धारो र पानी बीच सम्बन्ध छ भन्ने कुरामा त सहमति गरौँ
त्यो सहमतिका लागि बैठक गरौँ कि आन्दोलन गरौँ ?
धारामा दिउँसो र राति आएको पानीको मात्रा फरक हुन सक्छ
त्यसमा सहमत हुन हामी लचकता अपनाउन तयार छौँ
तर दिउँसो र रातीभन्दा साँझमा धारामा बढी पानी अउँछ
सत्ता पक्षको यो तर्क आफ्नो ठाउँमा ठिक होला
तर धारो र पानी बीच सम्बन्ध छ भन्ने कुरामा त सहमति गरौँ
त्यो सहमतिका लागि बैठक गरौँ कि आन्दोलन गरौँ ?
धारामा आउने पानीको गुणस्तर समय हेरी फरक पर्न सक्छ
यस कुरामा आन्दोलनकारी दललाई सहमत गराउन प्रयास गरौँ
पानीको गुणस्तरको मुद्दा आफ्नो ठाउँमा ठिक होला
तर धारो र पानि बीच सम्बन्ध छ भन्ने कुरामा त सहमति गरौँ
त्यो सहमतिका लागि बैठक गरौँ कि आन्दोलन गरौँ ?
आखिर पानी भनेको पानी नै हो
बी.पी.ले सात सालमा बनारसमा यही भन्नु भएको थियो
यो कुरा माक्र्सवादका सिद्धान्तसँग असहमत छैन
यसबारे उग्रवादी वामपन्थी र कट्टर दक्षिणपन्थीका विचार फरक हुन् सक्छन्
ती मुद्दा आआफ्ना ठाउँमा सही होलान्
तर धारो र पानी बीच सम्बन्ध छ भन्ने कुरामा त सहमति गरौँ
त्यो सहमतिका लागी बैठक गरौँ कि आन्दोलन गरौँ ?
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest