सुलसुलेसाहित्य सन्ध्यामा ‘दार्जिलिङ’ चर्चा
काठमाडौंं, ०७१, चैत ७÷ साहित्य सन्ध्याको ३४७ औँ कार्यक्रम राजधानीमा ‘दार्जिलिङको प्रगतिशील साहित्य’ विषयक परिचर्चा सहित कविगोष्ठी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र रमेश पोखरेलको सञ्चालनमा सम्पन्न विशेष गोष्ठीमा अतिथिका रूपमा वरिष्ठ साहित्यकार रामप्रसाद प्रदीप, प्राज्ञ विष्णु प्रभात, प्राज्ञ एवम् वरिष्ठ कवि पूर्ण विराम, सभासद् एवम् साहित्यकार शान्ता मानवी, स्रष्टा समाज नेपालका अध्यक्ष अतृप्त पाण्डेय, वरिष्ठ कवि कणाद महर्षि, समालोचक प्रा.गंगा अधिकारी उपस्थित हुनु हुन्थ्यो ।
गोष्ठीमा कविहरू डिल्लीराज अर्याल, रूपक अलङ्कार, असीम सागर, पूर्ण विराम, राम विनय, रमेश पोखरेल, अतृप्त पाण्डेय, कणाद महर्षि, ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, ब्रह्मप्रिय प्रेमसवरूप, जय गौडेल, इन्द्रजित शर्मा चौलागाईँ, दीपा चौलागाईँ, अभ्यस्त यात्री, डम्बरध्वज लिम्बू, कृष्णदेव रिमाल, प्रेमराज सिलवाल, गोविन्दप्रसाद आचार्य, डम्बर पहाडी, रामप्रसाद उपाध्याय, भोलानाथ सुवेदी, अशोक सुवेदी, पुण्य गौतम ‘विश्वास’, ऋचा, ललिता दोषी, उर्मिला पन्त पाण्डेय, रश्मि रिमाल, रमेश गौतम ‘पाल्पाली’, प्रमोद स्नेही, यदुनाथ वसन्तपुरे र भागवत आचार्यले आआफ्ना कविता, गीत गजल प्रस्तुत गर्नु भएको थियो ।
गोष्ठीमा समालोचक प्रा.गङ्गा अधिकारीले ‘दार्जिलिङको प्रगतिशील साहित्यको अवस्था’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्नु भएको थियो । गोष्ठीपत्रमा अधिकारीले दार्जिलिङे साहित्यिक लेखनमा प्रगतिपक्षीय प्रभावका बारेमा विश्लेषण गरिएको छ ।
प्राज्ञ विष्णु प्रभातले गोष्ठीमा वाचित कविता एवम् प्रस्तुत गोष्ठीपत्रमाथि टिप्पणी गर्नु भएको थियो । उहाँले कार्यक्रममा प्रस्तुत कविता पुरातनवादी चिन्तन राख्ने, यथास्थितिमा रूपान्तरणको आग्रह गर्ने र क्रान्ति चेतना सम्प्रेषण गर्ने खालका रहेको बताउनु भयो ।
कविको सिर्जना र उसको वाचन दर्शनसँग सम्बन्धित हुने, आफ्नो संस्कृति, इतिहास र दर्शनको गहन अध्ययन नगर्ने र अहम् प्रदर्शन गर्ने रोगबाट स्रष्टा मुक्त हुन सक्दैन भन्दै जातीय एवम् राष्ट्रिय एकता, समुन्नति र युगबोधका पक्षमा लेख्नु पर्दछ’ प्रभातको कथन थियो ।
साहित्य सन्ध्याले कहिलेकाहीँ दश ओटा स्तरीय स्रष्टाका स्तरीय कविता मात्र छानी प्रस्तुत गर्ने र तिनीहरूमाथि चर्चा गर्नु उपयुक्त हुने सुझाव दिँदै प्रभातले स्रष्टाको सिर्जनालाई परिष्कार गर्नका लागि समालोचना वा अनुसन्धान आवश्यक हुन्छ भन्नु भयो । आजको गोष्ठीमा दार्जेलिङको प्रगतिशील साहित्यको अवस्थाका बारेमा गोष्ठीपत्र प्रस्तुत भएको छ ।
कार्यक्रम समापन गर्दै अध्यक्ष राम विनयले दार्जिलिङबाट नेपाली साहित्यमा भएको योगदान समेतको मूल्याङ्कन गरी त्यहाँको प्रगतिशील साहित्यको अवस्था बारेमा गोष्ठीपत्र प्रस्तुत गर्ने समालोचक गङ्गा प्रसाद अधिकारी र कार्यक्रममा आफ्ना रचना वाचन गर्ने एवम सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
–रमेश पोखरेल
Subscribe
Login
0 Comments
Oldest












































