साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खसमखास कुरो

Nepal Telecom ad

अहिलेको खास कुरा के हो भने नेपाल सरकारको अध्यक्ष तोकिएका खिलराज रेग्मीको सम्पूर्ण निर्दलीय चरित्रको सरकार अन्ततः गयो । निर्दल खिलराज सरकार सिंहदरबार परिसरबाट बाहिरिनु पनि खास कुरा होइन, नेपालको राजनीतिक परिदृश्यबाट बेपत्ता सरह भइसकेको दलीय सरकार एकबाजी फेरि सामुन्ने आयो । दलको सरकार यसरी अघि आउनु पनि खास कुरा होइन, उही हाम्रो चिरपरिचित प्यारो–प्यारो पुराना दल काँग्रेस र एमालेको सरकार बन्यो । अतिशय खुसी–खुसी भएर सपथ खाएको नेपाली काँग्रेस पार्टी र एकदमसँग क्रुद्ध भई अहिलेसम्म सपथ नखाएको नेकपा एमालेको सरकार बन्नु पनि खास कुरा होइन, दुई दलबीच कुनै रहस्यमयी पर्दा पछाडि तय भएको गोप्य सहमति बमोजिम मुख्य–मुख्य सरकारी मन्त्रालयको समानुपातिक ढाँचाले बाँडफा“ड भयो । यसरी मुख्य–मुख्य सरकारी मन्त्रालयको भागबन्डा हुनु पनि खास कुरा होइन, यिनै मुख्य–मुख्य मन्त्रालय मध्येको एउटा मुख्य मन्त्रालय गृह मन्त्रालयमा आएर सबै कुरा एक्कासी अड्कियो । हो, यो कुरा नै खास कुरा हो । अर्थात गृह मन्त्रालय ।

नेपाल सरकारको संरचनामा परराष्ट्र मन्त्रालयदेखि लिएर बिना विभागीय मन्त्रालयसम्मका भा“त–भा“त तथा जात–जातका मन्त्रालयका हात हुन्छ । कुन्नि यो विभागै नभएको मन्त्रालय कस्तो हुन्छ । त्यहाँ कुनै विभाग नभए पनि केही न केही काम त हुन्छ नै होला । त्यसैले त मन्त्रालय भनिएको हो । नत्र अर्थाेक केही नभनेर किन मन्त्रालय भनेर नै सम्बोधन गर्थे ? मन्त्रालयहरूमा एउटा मन्त्रालय हुन्छ– गृह मन्त्रालय । यो एक महत्त्वपूर्ण मन्त्रालय हो । हामी सबैलाई अवगतै छ, यही गृह मन्त्रालयमा आएर परमप्रिय सत्ताका लागि कसिलो गठबन्धन गरिसकेका दुई प्रमुख दल नेपाली काँग्रेस पार्टी र नेकपा एमालेमा कुरा अड्किएको छ । यसमा मेरो जिज्ञासु ध्यान गएको छ । यानि दुवै सरकारी दलमा कुरा नमिलेको बहुचचिर्त गृह मन्त्रालयमा । यही खास कुरा हो । यो गृह मन्त्रालयमा आएर काँग्रेस र एमालेमा कुरा अड्किनु खास कुरा भए पनि कुनै नयाँ कुरा भने होइन । पहिले–पहिले पनि यस्तो हुँदै गएको हो । तसर्थ अब पनि एकफेर हुनु कुनै खास कुरा नहुनुपर्ने हो । तर होइन, अहिलेलाई यही खास कुरा हो । यसलाई खास कुरा होइन भन्न मिल्दैन । यसो ता भन्नेहरू के–के भनिरहन्छन् । अरुहरूले जे भने तापनि सपथधारी नेपाली काँग्रेस पार्टी र हालसम्म असपथी नै रहेको नेकपा एमालेका निम्ति यही खास कुरा हो । नेपाली काँग्रेस पार्टी र नेकपा एमालेको राजनीतिक इतिहासका अलिखित पानामा धेरथोर अभिरुचि राख्नेहरू जानकार नै छन्, पहिले पनि यस्तै आकार र प्रकारको गृहमन्त्रालीय किचलो सम्पन्न भइसकेको छ । यो कुनै नवीन प्रकृतिको मौलिक कलह होइन । त्यही पुरानो काँग्रेस जोड एमाले कचिंगलको आवृत्ति हो यो । दोहो¥याउने क्रिया भन्नोस् । अथवा अतिरिक्त झैझगडा । यस्तो बाझाबाझको दुवै दलका माननीय शीर्ष नेताहरूलाई बहुतै अभ्यास छ । यही गृह मन्त्रालयमा यिनीहरू पटक–पटक नराम्ररी जुधिसकेका छन् । एकपल्ट पुनः यसरी नै भिडेर के फरक पर्छ ? भन्नुको तात्पर्य के हो भने स्वर्गीय गिरिजाप्रसाद कोइरालाको समयदेखि लिएर वर्तमान प्रधानमन्त्री सुशील कोइरालाको पालासम्मका सम्पूर्ण नयाँ–पुराना सरकारका लागि गृह मन्त्रालय खास मन्त्रालय नै हो । त्यसकारण खास कुरा पनि हो । अन्यथा गृह मन्त्रालयमै आएर यसरी भीषण तानातान किन गर्थे ? मन्त्रालय त अरु पनि नभएका होइनन् नि !

नेपाल सरकार अन्तर्गत लगभग डेढ दर्जनजति मन्त्रालय हुन्छन् । जस्तै– कृषि मन्त्रालय, सञ्चार मन्त्रालय, उद्योग मन्त्रालय, विदेश मन्त्रालय, अर्थ मन्त्रालय, यातायात मन्त्रालय, भौतिक योजना मन्त्रालय, वन मन्त्रालय, श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, संस्कृति मन्त्रालय, वातावरण मन्त्रालय, विज्ञान मन्त्रालय, पर्यटन मन्त्रालय, रक्षा मन्त्रालय, खेलकुद मन्त्रालय, महिला मन्त्रालय, युवा मन्त्रालय, समाज कल्याण मन्त्रालय इत्यादि । मतलव नेपाली काँग्रेस पार्टी र नेकपा एमालेजस्ता दलहरूलाई परस्पर काटमारका निम्ति मन्त्रालयहरूका कुनै अभाव छैन । तर गृह मन्त्रालयको कुरै अर्काे हो । यो मन्त्रालय मध्येका खास मन्त्रालय हो । त्यसउसले खास कुरा भनिएको हो । त्यसै बेमतलव खास कुरा भनिएको होइन । यस्तो खास मन्त्रालयलाई लिएर नेपाली काँग्रेस पार्टी र नेकपा एमालेमा स्वभावतः रडाको मच्चिनु नै पथ्र्याे, अतः मच्चियो । के अन्यथा भयो ? जो पनि पहिले आफ्नो गृहलाई नै हेर्छ, त्यसपछि क्रमशः टोल, गाउँ, सहर, देश र संसारको नम्बर आउँछ । को आफ्नो घरलाई छाडेर समाजको पछि बेतोडले दगुरिरहोस् ? यति सामान्य टाइपको ज्ञान काँग्रेस–एमालेका सुशील कोइराला र कमरेड झलनाथ खनालजस्ता अनुभवी एवं घाघडान नेताहरूलाई नहुने कुरै छैन । स्मरण रहोस्, यही नेपाली काँग्रेस पार्टी र नेकपा एमालेको समाजवाद हो । खासमा कुरा यत्ति नै हो । अर्थात् यही खास कुरा हो ।

अन्त्यमा, यसरी गृह मन्त्रालयमा कुरा अड्किनु पनि खास कुरा होइन रहेछ, म त आज बिहानैदेखि के गाइँगुइँ प्रस्टैसँग सुनिरहेको छु भने कुनै सुदूर अथवा निकटको नेपथ्यमा भारी लेनदेनपश्चात सबथोक मिलिसकेको छ । केवल ”अन्तिम टच” दिनु बाँकी छ । त्यसपछि काले–काले मिलेर…। खासमा यही कुरा नै खास कुरा हो । अझ म त भन्छु– खासमा पनि खास कुरा खासमखास कुरो हो ।
कान्तिपुर, २०७० फाल्गुन ३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
0
Would love your thoughts, please comment.x
()
x